प्रभावकारी बन्दै २० किलो अनुदान चामल

फाइल तस्बिर

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । साविक कर्णालीका पाँचवटा हिमाली जिल्लामा सरकारले निःशुल्क दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ ।

गत साउनदेखि असार ३१ गतेसम्ममा ४०६ जनालाई २० किलोका दरले ८१ क्विन्टल २० केजी चालम वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका नायव सुब्बा नविन आर्चायले बताउनुभयो । जन्म २६३ जना र मृत्यु १४१ जना गरी ४०६ जनालाई उक्त चामल वितरण गरिएको ना.सु आचार्यले बताउनुभयो ।

हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको सिमकोट गाउँपालिका-२का हेमन्त बोहराले बताउनुभयो ।

मृत्यु र जन्मका लागी रु एक लाख त्रिहत्तर हजार रुपैयाँ ढुवानी भाडा लागेको खाद्य संस्थान शाखा कार्यालय हुम्लाले जनाएको छ । यस्तै जन्मको लागि एक लाख नौ हजार पाँच सय र मृत्युका लागि ६३ हजार पाँच सय रुपैयाँ ढुवानी लागेको हो ।

यो सुविधा लिनका लागि खाद्य कम्पनी हुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

सिमकोट आसपासका गाउँमा ढुवानी रु ५०० दिएको छ भने अन्य टाढाका गाउँका बासिन्दालाई रु एक हजार ढुवानीका लागि रकम दिने गरेको नेपाल खाद्य संस्थान, हुम्लाले जनाएको छ ।

सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने गरेपछि हुम्लाका बासिन्दालाई सहज भएको नेपाल खाद्य संस्थान कार्यालय हुम्लाले जनाएको हो । २० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको हो ।

खाद्य संस्थान शाखा सिमकोटले नाम्खा, खार्पुनाथ र सिमकोट गाउँपालिकाका जन्म र मृत्यु भएकालाई मात्रै यो सेवा दिँदै आएको छ । जिल्लाको दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका लागि त्यहाँ रहेका खाद्य डिपोहरुमा कर्मचारी नहुँदा वितरण नहुँदै आएको नायव सुब्बा आचार्यले बताउनुभयो ।

जन्म र मृत्य भएका लागि जिरा, बास्मती र सोना मन्सुली चामल वितरण हुँदै आएको उहाँले बताउनुभयो । खाद्य संस्थानले छ प्रकारका चामल सेवाग्राहीलाई वितरण गर्दै आएको छ । जिरा, बास्मती, सोना मन्सुली, मोटो, मध्यम र मकवानपुर गरी छ प्रकारका चामल वितरण गर्दै आएको छ । गोदाममा अहिले १२ सय ४१ क्विन्टल चामल मौजाद रहेको छ ।

२०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्नुभएकाे थियाे । सोही कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?