जयनगर–कुर्था खण्ड महोत्तरीको बिजलपुरासम्म रेल सञ्चालनमा

Read Time = 5 mins

काठमाडौं । भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ ।

गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आईतवारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो ।

उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्नुभएको छ । कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आईतवारदेखि रेल सञ्चालनमा आएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरुवात गर्नुभएको हो । रेल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताउनु भयो ।

उहाँले जयनगर विजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताउनु भयो । उहाँले रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुघार हुने विश्वास लिएको बताउनु भयो । मन्त्री ज्वालाले बर्दिवासदेखि निजगढसम्म यात्रुवाहक रेल पु¥याउने सरकारको प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले निजगढदेखि काठमाडौंसम्मको डिपिआर तयारी भएको भन्दै निर्माणको लागि सरकार छलफलमा रहेको बताउनु भयो । उहाँले सरकारले रेल यातायातलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने सरकारको तयारी रहेको बताउनु भयो । उहाँले ठेक्का लागेका आयोजनाहरुको निर्माण कार्य विभिन्न कारणले निमार्ण कार्य रोक्ने कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने बताउनु भयो । उहाँले सरकारले मधेस प्रदेशलाई प्रमुख प्राथमिकता दिएको बताउनु भयो । मधेसमा मिटरव्याजी,लघुवत्त समस्या समाधान सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन शुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एक पटक रेल सञ्चालन गरिने बताउनु भयो । उहाँले दैनिक सेवा प्रवाह गरिने भन्दै त्यसबाट विजलपुरा जनकपुर क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा ठूलो परिवर्तन गर्ने बताउनु भयो । उहाँले अब रेल्वे कम्पनी सधँ घाटा नाफाको समाचार भन्दा पनि दीर्घकालीन सेवा विस्तार गरि कम्पनी आफ्नो क्षमतामा चल्नसक्ने बनाउने बताउनु भयो । उहाँले कम्पनीले यो क्षेत्रमा आवश्यकतालाई हेरेर आगामी दिनमा रेल थप गर्ने प्रतिवद्धता जनाउनु भयो ।उहाँले त्यसका लागि कम्पनीले योजना बनाएर अघि बढेको बताउनु भयो ।
कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएपनि १ किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ । रेल सञ्जाललाई नेपालमा बिस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो। जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट रहेका छन्। जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?