म्यानपावर व्यवसायीद्वारा अध्यागमन विभाग घेराउ

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै अध्यागमन विभाग घेराउ गरेका छन् । आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदार रोक्न नपाउने भन्दै यसअघि रोकिएका कामदारको हवाई टिकटलगायतमा भएको क्षति विभागले बेहोर्नुपर्ने माग गर्दै विभाग घेराउ गरेको हो । उनीहरूले ‘अध्यागमनमा हुने अनियमितता छानबिन गर, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर, भिजिट भिसामा हुने सेटिङ बन्द गर, अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर’ लगायतका नारा लगाएका थिए ।

उनीहरूले बदनियतले काम गर्ने अध्यागमन कर्मचारीलाई कारबाहीको मागसमेत गरेका छन् । महानिर्देशकले भिजिट भिसालाई बढवा दिएर श्रम स्वीकृति लिएर जान लगेका विपन्न महिलालाई रोकेको भन्दै नाराबाजी गरेका थिए । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागतरूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगायतमा जान लागेका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदार फर्काइरहेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले आरोप लगाउनुभयो ।

विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै कागजात नमिलेको र पेश गरिएका कतिपय कागजातहरू शंकास्पद देखिएकाले कामदार फर्काएको जिकिर गरेको छ ।

श्रम स्वीकृति लिएका कामदार पुनः फर्काउन अध्यागमन विभागका महानिर्देशक अधिकारीले निर्देशन दिएको भन्दै उहाँले महानिर्देशक अधिकारीको निर्देशनमा बदनियत देखिएको आरोप लगाउनुभयो । अध्यागमन कार्यालयले भटाभट कामदार फर्काउँदा एयरलाइन्स कम्पनीले कामदारको टिकट काट्न छोडेको र विदेशस्थित रोजगारदाताले नेपाली कामदार लैजाँदा झन्झट बेहोर्नुपरेको तथा लगानी खेर गएकाले अन्य मुलुकबाट कामदार लैजाने विकल्प खोज्न थालेको संघले जनाएको छ । अध्यागमन कार्यालयले वैदेशिक रोजगारका लागि कुवेत जान लागेका ३७ कामदारलाई शुक्रबार राती पनि फर्काएको थियो । असार १७ र २८ गते कुवेत जानेक्रममा विमानस्थल अध्यागमनबाट फर्काइएकालाई व्यवसायीले टिकट काटेर पुनः वैदेशिक रोजगारमा पठाएकोमा अध्यागमनले फर्काएको हो ।

उनीहरू सलाम एयर, जजिरा एयर र कुवेत एयरलाइन्सबाट जाने तयारीमा थिए । वैदेशिक रोजगारमा कुवेत पठाउन नीलकमल हृयुमन रिसोर्सले श्रम स्वीकृति लिएको थियो । अध्यागमनले बिनाकारण श्रम स्वीकृति लिएका कामदार फर्काउँदा व्यवसाय गर्न समस्या भएको संघको भनाइ छ । अध्यागमनले रोकेका कारण एक सय १७ श्रमिकको टिकटमार्फत् ७० लाख हाराहारी रकम गुमेको बताइएको छ  ।

अध्यागमन अधिकारीहरूले ‘शंकास्पद कागजात’ भन्ने नीतिगत प्वालभित्र छिरेर श्रमिक रोकेको संघकोे दाबी छ । जुन प्वाल व्यवसायीले सेटिङ गर्न बाध्य बनाउने प्वालका रूपमा हेरेका छन् । उनीहरूलाई विभिन्न म्यानपावर कम्पनीले वैधानिकरूपमै वैदेशिक रोजगारमा पठाएको पाइएको छ भने अध्यागमनले फिर्ता गरेका कामदारको भिसालाई अध्यागमनले शंकास्पद भने पनि उनीहरूको भिसा क्युआरबाट सहजै स्क्यान गर्न सकिने र त्यसमा प्राइभेट सेक्टरमा वर्क भिसा स्पष्ट देखिन्छ । कार्यालय प्रविधिको प्रयोग नगर्दा कामदार समस्यामा परेको व्यवसायीको बुझाइ छ ।

बुधबार फर्काइएकामा नीलकमल हृयुमनबाट गएका २४, इण्डेक्स म्यानपावरबाट गएका ४७, युथ म्यानपावरबाट गएका ३२ र सुलभ म्यानपावरबाट गएका चारजना रहेका छन्् । पीडितबाट प्राप्त भएको भिसा जोकोहीले भेरिफाई गर्न सक्ने साथै पासपोर्ट नम्बरका आधारमा संस्थागतरूपमै श्रम स्वीकृति लिएको पाइएको छ । संघले शुक्रबारमात्रै पत्रकार सम्मेलन गरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदार बदनियतले रोक्ने अध्यागमन कर्मचारीमाथि छानबिन र कारबाही गर्न गृह मन्त्रालयसँग माग गरेको थियो । तथापि अध्यागमन विभागले भने आफ्नो कदमको बचाउ गरेको छ । विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै कागजात नमिलेको र पेश गरिएका कतिपय कागजात शंकास्पद देखिएकाले कामदार फर्काएको जिकिर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?