केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व-पदाधिकारीहरूको बैठक बोलाउनुभएको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएको हो । बैठक सभापति देउवाको निवास धुम्बाराहीमा आज (सोमबार) २ बजे बस्नेछ । बैठकमा केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डाबारे छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज पदाधिकारीसित छलफल गरेपछि मंगलबार बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि मंगलबार (साउन २ गते) बस्दै छ । यसअघि गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएपछि साउन २ सम्मका लागि स्थगित भएको थियो । माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकारसमेत रहनुभएकी दाहालको ६९ वर्षको उमेरमा गत बुधबार काठमाडौं नर्भिक अस्पतालमा निधन भएको थियो ।

झण्डै एक वर्षदेखि बस्न लागेको केन्द्रीय समिति बैठकमा गत मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन र वैशाखमा भएको उपनिर्वाचनको समीक्षा गर्ने तयारी छ । नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा अहिलेसम्म गर्न सकेको छैन । चुनावका बेला गठबन्धन गर्ने या नगर्ने भन्ने तीव्र विवादकै बीच सभापति देउवाको अडानका कारण पाँच दलीय गठबन्धन बनेको थियो ।

त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका नेता बालकृष्ण खाँणलाई कारबाही गर्नेबारे पनि बैठकमा छलफल हुने सम्भावना छ । कांग्रेसका संस्थापनइतर समूहले खाँणलाई कारबाही गर्नुपर्ने आवाज उठाइरहेको छ । उनीहरूले सभापति देउवाको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाइरहेका छन् ।

बैठकले नीति अधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै नीति अधिवेशन गर्ने भनेको थियो । तर, अझै यसको मिति घोषणा भएको छैन । बैठकमा सरकारका काम कारबाहीबारे पनि छलफल हुनेछ । भ्रातृ तथा शुभेच्छुक संस्था र विभागले पनि पूर्णता पाएका छैनन् । बैठकमा यसबारे पनि छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् ।

गगन थापाद्वारा एजेण्डाका लागि सुझाव माग
नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नको लागि सुझाव माग्नुभएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार एक वर्षपछि बस्दै छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने महामन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु । नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहनुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल अथवा यसै पोष्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ नगर, टोलमा रही नेपाली कांग्रेस र चारतारे झण्डालाई माया गर्नुहुने कांग्रेसजन र शुभेच्छुकहरूमा आग्रह गर्न चाहन्छु ।’ बैठकको एजेण्डा मंगलबार बिहान बस्ने शीर्ष नेताहरूको बैठकले तय गर्ने तयारी छ । महामन्त्री थापा कांग्रेस रूपान्तरणको अभियानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?