राजकीय सम्मानको यो मान हो कि अपमान ?

Read Time = 17 mins

कसैको मृत्युमा आलोचना गर्नु हुँदैन । मरेपछि पितृ भए तर प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको अन्त्येष्टिमा जुन राजकीय सम्मान दिइयो त्यसको आलोचना आज देशैभर भइरहेको छ । यसले त अरू प्रधानमन्त्री वा भूतपूर्व प्रधानमन्त्रीहरूका पत्नी बित्दा पनि सेनाको सलामीसहितको राजकीय सम्मान दिने प्रचलन बसाल्नेछ । माओवादीहरूको तर्क हुनसक्छ यो व्यवस्था ल्याउन उनको अमूल्य योगदान छ । प्रचण्ड सँगसँगै उनी सपरिवार सशस्त्र युद्धमा हिँडेकी थिइन्, उनी प्रचण्डको प्रेरणा स्रोत थिइन् आदि इत्यादि । यो व्यवस्था कसले ल्याइदिएको हो, उनीहरूका बडामालिकहरूले नै पटक-पटक भनी र लेखिसकेका छन् । तैपनि कुतर्क गर्न छोड्दैनन् ।

व्यक्तिगतरूपमा सीता दाहाल एउटी शीर्ष नेता र प्रधानमन्त्रीकी पत्नीभन्दा एउटी गृहिणी थिइन् । उनकै अन्तर्वार्तालाई आधार मान्ने हो भने उनले आफ्ना गरगहना बेचेर, माइतबाट पैसा ल्याएर पुष्पकमल दाहाललाई पढाएकी थिइन् । चितवन झरेपछि पुष्पकमलको विवाहको कुरा गर्दा उनले धनी घरकी केटीसँग विवाह गर्ने कुरा राखेको उनकै पत्नीको अन्तर्वार्तामा छ । दाहालले सीता पौडेलभन्दा पनि धनी घरकी केटी खोजेका थिए । पौडेल र दाहाल परिवारबीच मित्रताको सम्बन्धले पौडेल परिवारले पुष्पकमललाई छोरी दिएका थिए ।

जबकि पौडेल परिवार धनी थियो र दाहाल परिवार गरिब । पढेलेखेको केटो भनेर आफूहरू धनी हुँदाहुँदै एउटा गरिब परिवारको केटालाई छोरी दिए । यिनको धनप्रति अति तृष्णालाई इण्डोपश्चिमा शक्तिले समातेर यिनी र बाबुरामलाई आफ्नो ट्रजन हर्स बनाई नेपालको मौलिकता र सनातन धर्म समाप्त पार्न लगाए । जसको दुष्परिणाम आज देशले भोगिरहेको छ ।

पुष्पकमल दाहाल परिवार अहिले शोकमा छ । आफ्नो मान्छेको वियोग कति पीडादायक हुन्छ पुत्र, पुत्री र पत्नी वियोगले उनले पीडाको अनुभूति गरेका छन् । के यस शोकको घडीमा उनको आदेशले माओवादीहरूले नृशंस रूपमा हत्या गरेका ती परिवारजनको पीडाको सम्झना भइरहेको छ ?

सीता दाहालले पत्नीधर्मको पालन गर्दै पुष्पकमल दाहाललाई सुखदुःखमा साथ दिइन्, आफ्ना सन्तानहरू हुर्काइन् र प्रायोजित हिंस्रक आक्रमणहरूमा पनि साथ दिइन् । उनले चाहेको भए उनी मन्दोदरी बनेर दाहाललाई बाटो देखाउन सक्थिन् । चाहे दाहाल रावण नै किन नबनून् । उनले न त पुष्पकमल दाहालको हिंस्रक क्रियाकलापलाई रोकिन् न त क्यान्टोनमेन्टदेखि सुरु भएको उनको भ्रष्टाचारको यात्रालाई नै रोकिन्, यसैगरी न त आफ्ना पतिलाई देशद्रोही हुनबाट रोकिन् ।

उनी मन्दोदरी बन्न सकिनन् तर गान्धारी बनेर पतिको सबै अनुचित क्रियाकलापमा साथ दिइरहिन् जीवनपर्यन्त । गान्धारी बनेको फल उनले थोरै भए पनि आफ्नो जीवनकालमा भोगिन् । पुत्रपुत्रीको विरह एउटी आमालाई भन्दा अरू कसलाई थाहा हुन्छ । त्यही पुत्र वियोगको पीडाले उनको देहावसान पनि भयो । महाभारतको युद्धपछि मृत्यु भएकाहरू विष्णुलोक पुग्छन् । त्यहाँ भगवान विष्णुले धृतराष्ट्र, गान्धारी, दुयोधन, कर्ण, भीष्म पितामह, युधिष्ठिर, कुन्ती र द्रोपदीलाई महाभारतबाट के शिक्षा पायौ भनेर सोध्छन् । गान्धारीको उत्तर थियो, म आफू पतिको दुई नयन बनेर पतिको पथ प्रदर्शक बन्नुपथ्र्यो तर म आफैं पुत्रमोहमा आकण्ठ डुबैर अधर्मी भएँ ।

सीता दाहालको दिवंगत आत्मा स्वर्गमा वास होस् वा मुक्ति प्राप्त गरोस् भन्ने कामना गरौं भने, शास्त्रानुसार यो पनि नमिल्ने । पुष्पकमल दाहाल न त आफ्ना मातापिताको क्रिया बसे न त छोराछोरी र पत्नीको । छोराछोरी र पत्नीको क्रिया आफू बस्न नमिले पनि एउटा ब्राहृमण वा सगोत्री आफन्त राखेर क्रिया गर्न सक्थे तर उनले त्यसो गरेनन् र न त नुन नै छोडे । इण्डियाका कुनै कुनै राज्यमा मलामी जाँदा सेतो लुगा लगाउने चलन देखेर होला दाहाल र उनका छोरीहरूले सेतो लुगा लगाए । अन्त्येष्टि पुरुषले गर्ने गर्छन् । अन्त्येष्टिको अर्थ हो अन्तिम यज्ञ । मृतदेहको अग्निसंंस्कार गर्नु मृतकको अन्तिम यज्ञ हो ।

जीवको शरीर पञ्चमहाभूतले बनेकोले मृतकलाई अग्नियज्ञ गरेपछि अग्नि, जल, वायु, आकाश र पृथ्वी शरीरबाट मुक्त भएर यो प्रकृतिमा पवित्रतापूर्वक मिलाउने काम अन्त्येष्टिले गर्छ । अन्त्यष्टि कर्म गरिसकेपछि शरीरमा धारण गरेको आत्मा प्रेत योनीमा प्रवेश गर्छ । सपिण्डीकरण श्राद्ध नगर्दासम्म आत्मा प्रेत योनीमै रहन्छ । जबसम्म आफ्ना पूर्वजहरूको आत्मासँग सम्मिलित हुँदैन तबसम्म ऊ प्रेतयोनीमै रहन्छ । एक वर्षसम्म चोखो बसी, मासिक श्राद्ध गरी वर्षदिनमा गरिने श्राद्धादि कर्म नगरेसम्म मृतकले मुक्ति पाउँदैनन् ।

दिवंगत आत्माहरूको वैदिक तरिकाले श्राद्धादि, दशगात्र कर्महरू नगर्दा, पितृहरूलाई नसम्झिदा, वार्षिक तिथि श्राद्ध नगर्दा तिनीहरूको कुलमा अशान्ति, वंशवृद्धिमा रोकावट, रोगव्याध, आकस्मिक रोग, संकट आदि आइरहन्छ भन्ने मान्यता छ ।

वैदिक विधिलाई नमान्ने सनातनी यदि देशको प्रधानमन्त्री भए देश संकटमा फस्नु, देशको अवस्था विकराल बन्नु, जनताले दुःख पाउनु, देशमाथि विघ्नवाधाहरू आइरहनु आदि अप्रिय घटनाहरू भइराख्छ । यदि उनी दलको मुखिया हुन् भने उनको दलको सर्वनाश हुन्छ । यदि कांग्रेस र एमालेले पटकपटक माओवादीलाई वैसाखी नदिएको भए आज माओवादीलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था आउने थियो । यो सबै पितृदोष हो । माधव नेपाललाई हेरौं । जुन दिन उनी आमाको क्रिया नबसी प्रधानमन्त्री पदको दरखास्त हाल्न दरबारको गेटमा पुगेका थिए त्यस दिनदेखि उनलाई दशा लागेको छ । पार्टी फुटाउनुपर्‍यो । अर्काको वैसाखी टेकेर केही सिट ल्याउने अवस्था आयो । एक पटक प्रधानमन्त्री त बने तर छ महिनामै पद खुस्कियो ।

जिल्लामा एकजना माओवादी नेताको देहान्त भयो । उनको एकमात्र पुत्र क्रान्तिकारी बन्दै प्रचण्ड शैलीमा पिताको काजक्रिया गरेन, मुठ्ठी उचालेर सलामी दिँदै श्रद्धाञ्जलि मात्र दियो । उसको व्यापार राम्रै चलिरहेको थियो । त्यसपछि उसको व्यापार सुक्दै गयो । एकदिन ऊ ज्योतिषी कहाँ देखाउन गयो । ज्योतिषीले चिना हेर्दै पितृदोष भएको बताए । यसका लागि तेह्र दिनसम्म एकान्तमा बसेर काजक्रिया गर्नुपर्छ भनेर सल्लाह दिए । अनि ऊ सुटुक्क देवघाट गएर पिताको काजक्रिया गरेर आयो । त्यसपछि बल्ल उसको व्यापारले गति लियो ।

मृतकको वर्षदिनको श्राद्ध नगर्दासम्म पूजापाठ, तीर्थाटन आदि पवित्र कर्महरू गर्न हुँदैन भन्ने वैदिक मान्यता छ तर दाहालले भैंसीपूजादेखि सुरु गरेर महाकालेश्वर र पशुपतिको यात्रा र पूजा गरे । यसमा उनीमात्र होइन उनको पद हेरेर पूजा गराउने ब्राहृमण पनि दोषी छन् । धर्मरहित कर्मलाई उनीहरूले निषेध गर्नुपर्ने तर गरेनन् । तसर्थ उनीहरू पनि पापको भागी हुन् । क्रिया नगर्नेको छोएको पानीसमेत खानुहुँदैन, दोष लाग्छ भनिन्छ । धर्म, संस्कार मान्दिन भनेर नास्तिक पनि बन्न सकिन्छ । चार्वाकको सिद्धान्तको पछि लाग्न पनि सकिन्छ तर परिणति चार्वाक जस्तै हुन्छ ।

आफूलाई नास्तिक पनि भन्ने, मन्दिर र तीर्थ पनि धाउने, करले भए पनि पूजापाठ पनि गर्ने तर दशैंमा टीका नलगाउने, आफ्नो परिवारको मृतकको काजक्रिया पनि नगर्ने दाहालको यो दोहोरो चरित्र हो । राजनीतिमा दोहोरो चरित्र भए झैँ धार्मिक तथा सामाजिक काममा पनि उनको दोहोरो चरित्र छ । यसको फल दुःखदायी नै हुन्छ । प्रेत बनेका पितृहरूले उनलाई सताइरहने छन् ।

संविधानको कुन धारामा प्रधानमन्त्रीकी पत्नीलाई राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्नु भनेर लेखेको छ ? कानुनमा नभए पनि अबदेखि त कुनै वर्तमान वा भूतपूर्व प्रधानमन्त्रीकी पत्नीको निधनमा राजकीय सम्मान दिनुपर्ने प्रचलन नै बस्यो ।

पुष्पकमल दाहाल परिवार अहिले शोकमा छ । आफ्नो मान्छेको वियोग कति पीडादायक हुन्छ पुत्र, पुत्री र पत्नी वियोगले उनले पीडाको अनुभूति गरेका छन् । के यस शोकको घडीमा उनको आदेशले माओवादीहरूले नृशंसरूपमा हत्या गरेका ती परिवारजनको पीडाको सम्झना भइरहेको छ ? निर्दोष व्यक्तिहरूको हात खुट्टा काटेको पीडालाई उनले अनुभूत गर्न सकेका छन् ? पुत्रका लागि मुक्ति अधिकारी न्याय खोज्दै देहान्त भए र उनको शव अझै अस्पतालमा रहेको वर्षौं भयो । उनकी पत्नी अझै वीर अस्पतालमा अनशनमै छिन् । के यस घडीमा दाहाललाई तिनीहरूको पीडा अनुभूत भइरहेको छ ? आइजिपी कृष्णगोपाल श्रेष्ठ र उनकी पत्नी प्रातः भ्रमणमा निस्केका बेलामा बाटैमा गोली हानेर हत्या गरियो, के यसबेला दाहालले उनको परिवारको पीडालाई महसुस गर्न सकेका छन् ?

पत्रकार डेकेन्द्र थापालाई झुण्ड्याएर यातना दिई हत्या गर्दा उनलाई कति पीडा भएको थियो, उनको परिवारले कति पीडा भोगे के यसबेला दाहाल सम्झिन्छन् ? के यसबेला दाहाल नेपाली सेनाका पूर्वमेजर मोहनबहादुर खत्रीलाई सम्झिन्छन् ? जसलाई उनका लडाकुले २०५९ साल असौज ३१ गते सिन्धुपाल्चोकको जेलमा गोली हानी हातखुट्टा टेकाएर खाँबोमा बाँधे, पानी छर्के, उनलाई टाउको हल्लाउनभन्दा नहल्लाएपछि एकजना माओवादीले उनको टाउको जबरदस्ती हल्लाई दियो र लगत्तै खुकुरीले काटेर पाशविक हत्या गर्दा उनले कति पीडा भोगे, उनको परिवारले भोगेका पीडाहरूको अनुभूति के दाहाललाई हुन्छ ?

यस्ता हजारौं उदाहरण छन् उनको आदेशमा माओवादीले गरेको नृशंस हत्याकाण्डको । अहिले जति पीडा दाहाललाई भइरहेको छ त्यसभन्दा बढी पीडा त्यसरी नृशंस रूपमा मारिने व्यक्तिहरू र तिनका परिवारलाई भएको होला ? पीडा त सबैको उस्तै त हो नि । धर्मगुरु, पण्डित र क्रियापुत्रीहरूको हत्याको पीडा उनीहरूको परिवारलाई जसरी भएको थियो के त्यो अलग थियो र ?

वैदिक धर्मअनुसार मृतकको काजक्रिया गर्नुपर्छ तर उनले गर्दा नै क्रियापुत्रीहरूले क्रिया गर्न पाएनन् । उनीहरूको पीडालाई कसले बुझ्ने माओवादीवाट नृशंस हत्या गरिएकाहरूको दाहसंस्कार पनि डराई डराई गर्नुपर्ने अवस्था थियो । तर, अहिले देशका लागि कुनै योगदान नभएकी, पतिका लागि गान्धारी बनेकी सीता दाहाललाई कुन हैसियतमा सेनाको सलामीसहित राजकीय सम्मान दिइयो ? संविधानको कुन धारामा प्रधानमन्त्रीकी पत्नीलाई राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्नु भनेर लेखेको छ ? कानुनमा नभए पनि अबदेखि त कुनै वर्तमान वा भूतपूर्व प्रधानमन्त्रीकी पत्नीको निधनमा राजकीय सम्मान दिनुपर्ने प्रचलन नै बस्यो ।

देशभक्त प्रधानमन्त्री मरिचमान सिंह जो इण्डियाको १३ महिने नाकाबन्दीको मुकाबिला गर्दै नेपाली जनतालाई कुनै अभाव हुन दिएनन न त इण्डियासँगै झुके । त्यस्ता प्रधानमन्त्रीको निधनमा राजकीय सम्मान दिइएन । नेपालको उत्तरी सीमामा भएको सत्रवटा चेकपोष्ट हटाउने, कुनै विदेशी शक्तिसँग नझुकेर देशको हितमा काम गरेका प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई पनि राजकीय सम्मान दिइएन । हुन त उहाँले आफ्नो मृत्युको खबर कसैलाई नदिनु भनेका थिए । देशघातीहरूका हातबाट राजकीय सम्मान लिनु आफ्नो अपमान ठाने उनले ।

सीता दाहाल कुनै त्यस्तो महान् व्यक्ति होइनन् कि उनलाई राजकीय सम्मान दिनुपर्ने थियो । नेपाली सेनाको पनि यसमा कमजोरी देखियो । के नेपालमा सेनाको काम मलामी, सलामी र ठेक्कापट्टा मात्र हो ? नेपाली सेनाले आफ्नो मानलाई घटाउँदै लगेको छ । राजकीय सलामी दिने निर्णय गर्नेहरू पनि यसमा उत्तिकै दोषी छन् । कि उनीहरूले दाहाललाई एकछत्र सम्राट मानिसकेका हुन् ? राजकीय सम्मानको यो मान हो कि अपमान ?

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Palas Basnet
Palas Basnet
2023-07-17 3:47 pm

 सबै माओबादीहरु त नेपाली सेनामा समायोजन भए अनि के नेपाली सेनाको आशा गर्नु र, आफै प्रधानमन्त्रि जे गरेपनि हुन्छ । आत्माले शान्ति पाओस । भावपुर्ण श्राद्धान्जली छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?