फोरलेन सडक मर्मतका लागि नयाँ कम्पनीसंग संझौता

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । घोराही–तुलसीपुर फोरलेन सडक मर्मतको लागि नयाँ निर्माण कम्पनीसंग सम्झौता भएको छ । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय दाङ संग रोल्पा निर्माण सेवा र रोल्पा स्वच्छता निर्माण सेवासँग सम्झौता भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको करिब २८.१९ किलोमिटर सडकअन्तर्गत दुईलेन सडक मर्मतका अव यी दुइ कम्पनीले मर्मतको काम गर्ने छन् ।

कार्यालय प्रमुख एवम् इन्जिनियर गुरूप्रसाद अधिकारीका अनुसार घोराहीको बबई नदीदेखि हापुरखोलासम्मको करिब १३ किलोमिटर करिब १ करोड ४२ लाख ५५ हजार रोल्पा निर्माण सेवा र हापुर खोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको करिब १५ किलोमिटर सडक १ करोड १६ लाख ९६ हजार रूपैयाँमा रोल्पा स्वच्छता निर्माण सेवासँग सम्झौता भएको छ । अधिकारीले यातायातका साधनहरू चल्नै नसक्ने गरी सडक बिग्रिएको ठाउँमा तत्काल मर्मत हुने र कालोपत्र नै गर्नुपर्ने ठाउँहरूमा बर्सात कम भएपछि काम हुने बताउनुभयो।

करिब दुई वर्षमा फोरलेन सडक निर्माण सक्ने गरी सम्झौता भए पनि फोरलेन सडक निर्माणको काम चार वर्षसम्म पनि पूरा हुन नसकेपछि सरकारले गत जेठ महिनामा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो । २०७६ पुस महिनादेखि सुरु भएको फोरलेन सडकको भौतिक प्रगति करिब १० प्रतिशत मात्रै रहेको छ ।

सडक निर्माणको जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले काम नगर्ने र पेटी ठेकेदारलाई सडक निर्माणको जिम्मा दिँदा फोरलेन सडकले गति लिन सकेको थिएनन् । सडक अलपत्र हुँदा घोराही–तुलसीपुर सडकखण्डमा सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ । निर्माणका लागि सडकका दुवैतिर खनेको र बचेको सडकमा पनि खाडल परेपछि सडकको अवस्था झनपछि झन बिग्रँदै गएपछि भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेर सडक मर्मत गर्न थालिको हो । चार वर्षको अवधिमा फोरलेन सडक निर्माणका लागि आठ पेटी ठेकेदारहरू परिवर्तन भए पनि काम हुन सकेको थिएन ।

यो विचमा बनेका खाडलका कारण दर्जनौं सवारी दुर्घटना भएको रेकर्ड छ। यही सडकका कारण दुर्घटना हुँदा अंगभंग भएर अपाङ्ग जीवन बिताउनेहरू पनि छन्। कतिले ज्यान पनि यही सडकका कारण गुमाएको तथ्याङक छ । सम्झौताअनुसार सडक मर्मतको काम आउने असोजको ३० गतेभित्र सक्नुपर्ने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?