मायमीमा मेस्सीको भव्य स्वागत

Read Time = 3 mins

मायमी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अमेरिकामा भव्य स्वागत गरिएको छ । मेजर सकर लिग टोली इन्टर मायमीबाट खेल्ने औपचारिकता पूरा गरेसँगै टोलीले मेस्सीलाई हजारौं दर्शकका अघि भव्य स्वागत गरेको हो ।

मेस्सीको आबद्धता मेजर सकर लिगको इतिहासमा सबैभन्दा ठूलो सरुवाका रूपमा लिइएको छ । डिआरभी पिएनके रंगशालामा समर्थकहरूलाई सम्बोधन गर्दै मेस्सीले आफू निकै खुसी रहेको प्रतिक्रिया दिनुभएको थियो ।

‘यो स्वागतका लागि यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु । यहाँ आएदेखि नै मैले स्नेह पाएको छु । म तपार्इंहरूसँग हुँदा उत्साहित छु,’ उहाँले भन्नुभयो, ‘म जोसे मास, जार्ज मास र डेभिड बेकहृयामलाई धन्यवाद दिन चाहन्छु । जसका कारण यो प्रक्रिया सहज भयो र मलाई घर आएको अनुभूति भएको छ । म अभ्यास सुरु गर्न चाहन्छु । खेल्न, जित्न र टोलीलाई अघि बढाउन चाहन्छु ।’

मायमीले मेस्सीका बार्सिलोनाका सहकर्मी सर्जियो बुस्केट्सलाई पनि सोही समारोहमा सार्वजनिक गरेको थियो । मेस्सी अमेरिकन एमएलएस क्लबमा सन् २०२५ सम्म रहनुहुनेछ । सातपटकका बालेन डिओर विजेता मेस्सीले सिजन सकिएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने निर्णय गर्नुभएको थियो ।

मियामीका मालिक डेभिड बेकहृयामले मेस्सीको अनुबन्धनपछि सपना पूरा भएको प्रतिक्रिया दिनुभएको छ । मेस्सी पहिलोपटक युरोपबाहिर गएर खेल्न लाग्नुभएको हो । मेस्सी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलबाट मियामीको जर्सीमा प्रस्तुत हुनुहुनेछ । मेस्सीले पछिल्लोपटक सन् २०२१ मा विश्वको सर्वोत्कृष्ट फुटबलरको अवार्डसमेत जित्नुभएको थियो ।

उहाँले पिएसजीमा ७५ खेलमा ३२ गोल गर्नुभएको छ । पछिल्लो सिजन लिग वानमा १६ गोल गर्नुभएको थियो । स्पेनिस क्लब बार्सिलोनामा २१ वर्ष बिताउनुभएका मेस्सीले फ्रान्सलाई नयाँ गन्तव्य बनाउनुभएको हो । बार्सिलोनामा मेस्सीले कीर्तिमानी ६ सय ७२ गोलसहित १० लिग उपाधि, चार च्याम्पियन्स लिग र सात स्पेनिस कप जित्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?