भारत ‘ए’ सँग पराजित हुँदै बाहिरियो नेपाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित ८७ रनको पारी खेल्नुभयो । कप्तान रोहित पौडेलको बलमा उहाँ अभिषेक लङअनमा कुशल मल्लबाट क्याच हुनुभएको थियो ।

पहिलो विकेटका लागि ओपनर साई सुदर्शन र अभिषेक शर्माले १९ ओभरमा १३९ रनको शतकीय साझेदारी गर्दै भारतलाई जित नजिक पु¥याउनुभएको थियो । साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहनुभयो । त्यस्तै ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहनुभयो ।

त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा सोमबार टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३७.२ ओभरमा सबै विकेट गुमाएर १६७ रनमात्रै बनाउन सक्यो । नेपालका कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित ६५ रनबाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा आउट हुनुभयो । नेपालले ९० रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो । सातौं विकेटका लागि रोहित र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई उक्त स्कोरमा पुर्‍याउनुभएको हो ।

हर्षित रानाले इनिङको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू आउट गर्नुभएको थियो । यस्तै राजवर्धन हंगेगाकरले अर्का ओपनर आसिफ शेखलाई ७ रनमा आउट पार्नुभयो । देव खनाल १५ रनमा समातिनुभयो । भीम सार्की ४, कुशल मल्ल शून्य रनमा आउट भएपछि निराश बनेको नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गर्दै उकास्ने प्रयास गर्नुभएको थियो । सोमपाल १४ रनमा एलबीडब्लू आउट हुनुभयो । लगत्तै पवन सर्राफ पनि ६ रनमा आउट हुनुभयो ।

भारतका स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिनुभयो । तीव्र गतिका बलर राजवर्धन हंगागेकारले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिनुभयो भने हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिनुभयो । नेपालले अन्तिम खेल बुधबार युएई ‘ए’ सँग खेल्नेछ । भारत दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ । पाकिस्तान दुई खेलमा चार अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छन् । समूह ‘बी’ बाट भारत र पाकिस्तान दुबै सेमिफाइनलमा पुगेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?