चीनद्वारा तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेट प्रक्षेपण

अन्तरिक्षयान प्रक्षेपणमा नयाँ पुस्ताको रकेट विकास

Read Time = 3 mins

वेजिङ । चीनले पहिलोपटक अक्सिजन मिश्रित तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेटको सफलतापूर्वक परीक्षण गरेको छ । चीनको एक निजी कम्पनीले विश्वकै पहिलो मिथेन-लिक्विड अक्सिजन रकेट लञ्च गरेको हो । योसँगै चीन मिथेन र तरल अक्सिजनबाट चल्ने रकेट तयार गर्ने पहिलो देश बनेको छ । यस्तो खालको रकेट बनाउने प्रयास अमेरिकाले पनि गरिरहेको थियो तर चीनले सुरुमा बाजी मार्न सफल भएको छ ।

उत्तर पश्चिम चीनको जियुकुआन स्याटेलाइट सेन्टरबाट यो रकेट प्रक्षेपण गरिएको थियो । सो रकेटको नाम जुक्यु टू क्यारिअर रकेट रहेको छ । रकेटले निर्धारित मापदण्ड अनुरूप आफ्ना सबै टार्गेट पूरा गर्न सफल भएको छ ।

बेइजिङस्थित निजी अन्तरीक्ष कम्पनी ल्याण्डस्पेसले दोस्रो प्रयासमा यो रकेट तयार पारेको हो । उसले गतवर्ष डिसेम्बरमा गरेको पहिलो प्रयास भने विफल भएको थियो । यो सफलतासँगै अब अन्तरिक्षयान प्रक्षेपणमा नयाँ पुस्ताको रकेटको विकास भएको छ ।

एलन मस्कको स्पेस एक्स र जेफ बेजोसको ब्लु ओरिजिनलाई पनि चिनियाँ कम्पनीले पछि पारेको छ । रकेट इन्धनमा मिथेनको प्रयोगलाई कम प्रदूषकका साथै सुरक्षित, सस्तो र पुनःप्रयोग गरिने रकेटमा उपयुक्त प्रोपेलेन्ट मानिन्छ ।

स्मरण रहोस् चिनियाँ अन्तरिक्ष कम्पनी ल्याण्डस्पेस तरल प्रोपेलेन्ट रकेट प्रक्षेपण गर्ने दोस्रो चिनियाँ कम्पनी पनि बनेको छ । यसअघि गत अप्रिल महिनामा अर्को चिनियाँ निजी कम्पनी बेइजिङ तियानबिङ टेक्नोलोजीले मट्टितेल-अक्सिजन रकेट प्रक्षेपण गरेको थियो । यसले इन्धनको पुनःभरण तथा पुनः प्रयोग गर्ने रकेटको विकासमा नयाँ फड्को मारेको थियो ।

चीन सरकारले सन् २०१४ मा अन्तरिक्ष विज्ञानको उद्योगमा निजी क्षेत्रलाई पनि लगानी खुला गरेसँगै व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले यो क्षेत्रमा ठूलो लगानी र प्रतिफल हासिल गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?