तिलकप्रसाद लुइँटेल
गणानां त्वा गणपतिं स्हवामहे प्रियाणां त्वा प्रियपतिं हवामहे
निधीनां त्वा निधिपतिं हवामहे । वसो मम आहमजानि
गर्भधमा त्वमजासि गर्भधम् ।१.१।
भावार्थ-गणहरूका गणपति तपाईंलाई आवाहृन गर्छौं, प्रियहरूका अधिपति तपाईंलाई आवाहृन गर्छौं, निधिहरूका अधिपति तपाईंलाई आवाहृन गर्छौं । हे मेरा निवासदाता तपाईं सबैलाई गर्भमा राख्नुहुन्छ र उत्पन्न गर्नुहुन्छ भनेर म जान्दछु ।
अष्टाध्यायी रुद्रीको पहिलो अध्यायको पहिलो मन्त्र यही हो । यजुर्वेद संहिताको ३२औं अध्यायको १९ मन्त्र पनि यही हो । वेदमा यस मन्त्रका ऋषि मधुच्छन्दा हुन् भन्ने छ । विश्वामित्र ऋषिका वंशज भनेर मधुच्छदा वैश्वामित्र भन्ने परिचय यी ऋषिको पाइन्छ । उनै ऋषिबाट यस मन्त्रको साक्षात्कार र उच्चारण भएको मानिएको छ । यस मन्त्रका देवता लिंगोक्त भनिएको छ । लिंगोक्त शब्दको अर्थ संकेत वा लक्षणका आधारमा चिनिने भन्ने पनि हुन्छ । त्यसो हुँदा मन्त्रमा संकेत भएका नाम नै यस मन्त्रका देवता हुन् ।
यस मन्त्रका ऋषिले तिनै संकेतमा देखिएका देवतालाई उद्देश्य गरी यस मन्त्रको उच्चारण गरेका हुन् भन्ने स्पष्ट हुन्छ । वेदको एउटा नाम नै छन्द हो । त्यसैले वेदका सबै मन्त्रहरू कुनै न कुनै छन्दमा हुन्छन् । यस मन्त्रको छन्द शक्वरी हो । यस छन्दमा ५६ वटा अक्षर हुन्छन् ।
मन्त्रमा गणहरूका गणपति तपाईंलाई आवाहृन गर्छौं भनेको छ । गणको अर्थ समूह भन्ने सबैले बुझेकै कुरा हो । गणका अधिपतिमात्रै भनेको थियो भने एउटा गण भन्ने बुझिन्थ्यो तर गणहरू भनिएको छ र एक जना गणपतिलाई आवाहृन गरेको देखिन्छ । त्यसो हुँदा धेरैवटा गण भएपछि आआफ्ना नायक भइकन तिनीहरूका पनि एक अधिपति रहेको हुनुपर्छ । यहाँ गणनायकहरूका तिनै एक अधिपतिलाई आवाहृन गरिएको हो भन्ने देखियो । धेरैवटा संघको नेतृत्व एउटा महासंघले गर्ने र सबै संघका अध्यक्षको नेतृत्व महासंघका अध्यक्षले गर्ने चलन अहिले पनि छँदै छ ।
निधि भन्ने शब्दले धन, धनको खानी वा समृद्धिलाई जनाउँछ । समृद्धिभित्र धेरै कुराहरू पर्छन् । शक्ति, ज्ञान, संस्कृति, धन आदि जुनसुकै पक्षबाट मानिस समृद्ध र निर्धो हुन सक्छ । निधि शब्द पनि बहुवचनमा रहेको छ ।
गणेशको पूजा गरेका ठाउँमा फूल चढाउँदै गर्दा पण्डित पुरोहितले ‘श्रीमन्महागणधिपतये नमः’ भनेको पनि सुनिन्छ । यस मन्त्रले संकेत गरेका वा यस मन्त्रलाई संकेत गर्ने देवता हामीले पूजा गर्ने उनै गणेश हुन् भन्न सकिन्छ, किनभने गणपति र गणेश शब्दको अर्थ एउटै लाग्छ । गणपति वा गणेश व्यक्तिको नाम पनि हुन्छ तर यहाँ पदका रूपमा देखिएको छ । लोकमा उनको पद अनुसारको बिम्ब पूजित छ । यसको चर्चा अन्य सन्दर्भमा गर्न सकिन्छ ।
मन्त्रका देवताको चर्चा गर्दामाथि नै लिंगोक्त वा संकेतले चिनिने भनिएको छ । मन्त्रमा प्रियहरूका प्रियपति तपाईंलाई आवाहृन गर्छौं भनेको छ । प्रिय जो कोही हुन सक्छ । त्यसैले उनै गणपतिका लागि भनिएको हो वा होइन भन्ने स्पष्ट हुँदैन । विशेषतः प्रिय भनेर मानिस वा सचेतन प्राणीको चर्चा पक्कै भएको हो । जड पदार्थले प्रिय वा अप्रिय भाव व्यक्त गर्दैन । प्रसंगमा गणपातिको चर्चा आइसकेको हुनाले उनै गणपतिलाई नै लिंगोक्त वा संकेत भएका देवताका सम्मानमा यसो भनेको हुनुपर्छ ।
किनभने प्रियजनको उल्लेख पनि यहाँ बहुवचनमै आएको छ । सबै गणका आ-आफ्ना नायक प्रिय हुन् र सबै प्रिय नायकका अधिपति उनै गणपति हुन् भन्ने अनुमान गर्न सकिन्छ । गणपति पनि पद हुनाले उसै समानको अर्को पदलाई यहाँ आवाहृन गरेको पनि हुन सक्छ । तर, स्पष्टसँग भन्नुपर्दा राज्यमा अप्रिय व्यक्तिको नेतृत्व भएको कसैलाई पनि स्वीकार हुँदैन । आवाहृन प्रियलाई गरिन्छ र अप्रियबाट टाढै रहन मन लाग्छ । जोसँग विशिष्ट सामथ्र्य छ, प्रायः ऊ सबैको प्रियजन हुन्छ ।
निधिहरूका तपाईं निधिपतिलाई आवाहृन गर्छौं भन्ने मन्त्रमा देखिएको छ । निधि भन्ने शब्दले धन, धनको खानी वा समृद्धिलाई जनाउँछ । समृद्धिभित्र धेरै कुरा पर्छन् । शक्ति, ज्ञान, संस्कृति, धन आदि जुनसुकै पक्षबाट मानिस समृद्ध र निर्धो हुन सक्छ । निधि शब्द पनि बहुवचनमा रहेको छ । शास्त्रीय दृष्टिले अष्ट सिद्धि र नवनिधिको चर्चा पाइन्छ । लिंगोक्त देवता भनेर माथि नै संकेत गरिएको छ । त्यसो हुँदा निधिहरूका अधिपति उनै गणपति हुन् वा होइनन् भन्ने अनुमान गर्ने पक्ष भिन्नै छ ।
तर पनि राज्यको सुव्यवस्थाका लागि सबै प्रकारको समृद्धि अपेक्षित हुन्छ । एउटै व्यक्तित्वभित्र बहुआयामिक समृद्धिको स्रोत छ भने उसका नजिक रहन मन लाग्छ वा बोलाइन्छ । देवतालाई बोलाउने काम नै आवाहृन हो । गणपति, प्रियपति र निधिपति एउटै व्यक्ति भए पनि विविध व्यक्तित्वको आवाहृन यस मन्त्रमा गरियो । यी विविध व्यक्तित्व भएका एकै व्यक्तिले नेतृत्व गरेको राज्य नै वास्तवमा सुखद् हुन्छ ।
मन्त्रमा निवासदातालाई सम्बोधन गरिएको छ । उनलाई सिर्जनशक्ति भएका र सिर्जनशीलता प्रदान गर्ने हुनुहुन्छ पनि भनिएको छ । उनीबाट आफूलाई सिर्जनशीलताको सम्भावना प्राप्त होस् भन्ने अपेक्षा देखिएको छ । यसरी हेर्दा प्रथमतः निवासदाताको सम्बोधनले माथि चर्चा भएको कुरासँग कुरो गाँस्तै आउने हो भने राज्यको सक्षम र लोकप्रिय शासक नै निवासदाता हो । आफूबाट संरक्षितले सम्मान, स्नेह, सम्भावना र सुविधा पाएको छ भने नै उनलाई यस प्रकारले सम्झना गर्ने, आवाहृन गर्ने, पूजा अर्चना वा सम्मान गर्ने हुन्छ ।
वेदलाई सामान्यता धर्मकर्मको शास्त्र मानिन्छ । धर्मकर्मको पालो जीवनभन्दा पछि आउँछ । जीवन छ भनेमात्रै धर्मकर्म गर्न सकिने हो । शास्त्रका विषयमा भन्नुपर्दा पनि निष्कर्ष उही आउँछ । मानिस बाँच्न पायो भने नै मन लाग्नेले धर्म पनि गर्छ र शास्त्र पनि पढ्छ । यसरी हेर्दा मन्त्रमा मेरा निवासदाता भनेर निजी एक जीवनको कुरो गरेको छ । निवासको व्यवस्था गरेर बस्ने मानिस पारिवारिक नै हुन्छ । त्यसैले यहाँ पारिवारिक जीवनका व्यवस्थाको पनि चर्चा भएको देखिन्छ ।
रुद्री लगाउँदा पनि त्यसको पाठ आवृत्तिका आधारमा लघुरुद्री, रुद्री, महारुद्री, अतिरुद्री भन्ने गरेको पाइन्छ र यिनको विधान र पाठ आवृत्ति गर्ने संख्या अलग-अलग हुन्छन् । रुद्रीमा भगवान् शिवको विशेष पूजा गरिने हुनाले पूजाका नियम र विधान पनि विशिष्ट छन् ।
गणका विषयमा चर्चा गरेर गणपतिको आवाहृन गर्नाले सामूहिक वा सामाजिक जीवनको चर्चा पनि पाइयो । निधि र सिर्जनशीलताका कुराले राष्ट्रिय जीवन र समेत देखिन्छ । त्यसैले पुर्खाले संग्रह गरेका वैदिक शास्त्रमा परलोकको सिद्धि खोज्ने परम्परा विद्वत् वर्ग र सिद्धजनलाई जति महत्वपूर्ण छ उसरी नै सामान्य र कामकाज गरिखाने, राज्यको सेवा गर्नेलाई पनि रहेको देखिन्छ ।
यी सबै कुराको व्यवस्थापन गर्ने सर्वोच्च संस्था भनेको राज्य नै हो । राज्यको व्यवस्था नहुँदो हो त गणको कुरा आउन सम्भव थिएन । कसैलाई सम्मानसँग बोलाउनु वा आवाहृन गर्नु सामाजिक जीवनको द्योतक पनि हो । मलाई सिर्जनशील बन्न प्रेरित गर्नु भन्ने भनाइले व्यक्तिगत जीवन पनि देखिन्छ । यसरी वेदमा ब्रहृमको उपासना छ, तर त्यसमा मात्रै सीमित छैन । वेदको एउटा नाम ब्रहृम पनि हो । त्यसैले वेदको अध्ययनमा ब्रह्मचिन्तन त हुने नै भयो त्यस सँगसँगै लौकिक जीवनको मार्गदर्शन पनि छ ।
वेदको स्रोतबाट लौकिक संस्कृतमा प्रतिपादित ग्रन्थहरूले पनि भुक्ति र मुक्ति दिन्छन् भन्ने लेखेको पाइन्छ । त्यसैले वेदमा ब्रहृमको तत्व चिन्तनसँगै विगतको जीवन पद्धति र राज्यव्यवस्थाको झलक पनि यसरी वेदमा देख्न सकिन्छ । त्यससँग आजको जीवनलाई हेर्ने हो भने पनि मिल्दो कुराहरू मनग्गे छन् ।
रुद्र भनेको महादेव शिवको नाम हो । भगवान् शिवका विविध स्वरूप छन् । ती रूपहरू विविध गणमा रहेका छन् भन्ने मानिन्छ । तिनै गणहरूमा रुद्र गण एउटा विशेष उल्लेख्य छ । रुँदै जन्मेका हुनाले रुद्र भनिएको हो भन्ने कतै भेटिन्छ भने दुष्टलाई रुवाउने भनेर रुद्र नाम रहेको भन्ने अर्को चर्चा छ । रुद्रगणको संख्या एघार भएको मानिन्छ । रुद्र शब्दमा नै ई प्रत्यय लागेर रुद्री शब्द बनेको छ । रुद्री लगाउने भनेर पूजाआजा गर्ने चलन समाजमा रहेकै छ । रुद्री लगाउँदा पनि त्यसको पाठ आवृत्तिका आधारमा लघुरुद्री, रुद्री, महारुद्री, अतिरुद्री भन्ने गरेको पाइन्छ र यिनको विधान र पाठ आवृत्ति गर्ने संख्या अलग अलग हुन्छन् । रुद्रीमा भगवान् शिवको विशेष पूजा गरिने हुनाले पूजाका नियम र विधानहरू पनि विशिष्ट छन् ।
यस लेखमा भगवान्को पूजा गर्दा पाइने सन्तोष, सुख, फल आदिका विषयमा चर्चा गर्नेतर्फ नलागेर त्यहाँ आएका कुरालाई मनन गर्दा आफ्नै मनमा बनेको धारणामात्रै व्यक्त गर्ने प्रयास गरिएको हो । त्यसो त विधिपूर्वक शास्त्रको अध्ययन र अनुष्ठान गर्दा लौकिक दुःख, मानसिक पिरचिन्ता पनि हराउँछन् र परलोक सुखद हुन्छ भन्ने मानिन्छ । वेदमन्त्रको वाचन सुन्दा पनि मनमा आनन्द आउँछ । त्यसो हुँदाहुँदै मन्त्रका वचनभित्र रहेको अर्थ के रहेछ भन्ने जिज्ञासा पनि हुन्छ । शास्त्रको आध्यात्मिक अर्थ परमात्मासँग साक्षात्कार गर्ने क्षमता हामी सर्वसाधारणमा नहुन सक्छ तर पनि कथनभित्र देखापरेको कुरा हाम्रो लौकिक जीवनसँग मेल खाने जति केही हदसम्म बुझ्न सकिएला भन्ने आशयले यहाँ केही लेखियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच