काँग्रेस बैठकमा प्रदेश सभापतिहरुको गुनासो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राख्नुभएको छ ।

बुधवार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उहाँले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राख्नुभएको हो । उहाँले यस विषयमा पुनःविचार गर्नुपर्ने बताउनु भयो । त्यस्तै उहाँले प्रदेश समितिलाई जिम्मेवारीबिहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मधेस भनेको नेपाली काँग्रेसको जननी हो । मधेसबाट नेपाली काँग्रेसको जन्म भएको छ । र मधेस बलियो जब जब भएको छ, तब तब नेपाली काँग्रेस सत्तामा गएको छ । यो हामीले बिर्सनुपर्ने कुरा होइन । यो प्रदेश संरचना किन गठन गरियो ? सातवटा प्रदेशमा संरचना किन बनाइयो ? यदि यो प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीबिहिन बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ । जिल्लाकै संगठन गर्छौं । जे कार्यक्रम भएको छ डाइरेक्ट जिल्लालाई । प्रदेशलाई बाइपास गरेको छ । अनलाइनबाट ग¥यो भने काँग्रेसलाई सिध्याउने सब पार्टीको खेल छ । काँग्रेसलाई आघात पर्छ भन्ने मलाई डर लागेको छ । यसमा सचेत भएर हामी प्रक्रिया मिलाएर अगाडी बढ्नुपर्छ ।’

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि काँग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले केन्द्रिय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको बताउनु भयो ।

बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताउनु भयो । उहाँले सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली काँग्रेसले बोकिरहेको एजेण्डाहरुको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज नयाँ पार्टीहरुले संघीयता र भ्रष्टाचारको मुद्दा उठाएर नयाँ पार्टीहरु मुलुकमा स्थापित भएको छन् । त्यतातिर हामीले ध्यान दिनुपर्ने हो कि ? मुलुकको निर्वाचन प्रणालीले अस्थिरता बढायो कि ? निर्वाचन प्रणालीले स्थायित्व र गणतन्त्रको संस्थागत विकास, मुलुकको समृद्धितिर कमजोरी भयो कि ? अबको एजेण्डा कांग्रेसले भोलि त्यो बाटोमा जानुपर्ने हो कि ? सरकार र पार्टीको बीचमा समन्वय नभएर पनि पार्टीका साथीहरुका बीचमा निराशा आएको हो कि ? पार्टी र सरकार तल्लो तहदेखि माथिसम्म संवाद र सम्पर्क एकअर्कामा एकता र सहकार्य हामीभित्र काहीँ कमजोरी भएको हो कि ? त्यसकारणले पार्टी र सरकार बीचको तलदेखि माथिसम्म पार्टीलाई परिचालित गर्दै जनप्रतिनिधिसँग सम्वाद चलाउने कुरा केन्द्रले गर्नुपर्ने हो कि ?’

उहाँले नेपाली काँग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?