संसदबाहिर नेताहरुको प्रतिक्रिया : राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले लिनुपर्छ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व नेकपा (एमाले) ले लिनुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सचिव पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले गर्दा राम्रो हुने धारणा राख्नुभएको हो । उहाँले एमालेको लागि झनै राष्ट्रिय सहमति आवश्यक भएको तर्क गर्नुभयो । उहाँले गठबन्धनलाई जोगाउँदै अन्य दललाई पनि गठबन्धनमा सामेल गर्नु आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन जोगाउनका लागि सबैसँग छलफल गरिरहनुभएको बताउनु भयो ।

उहाँले भन्नुभय, ‘सरकार गठनका बेलामा भएको गठबन्धनलाई कन्टीन्यु गर्नको निम्ति प्रधानमन्त्रीको तर्फबाट र हामी सबैको तर्फबाट सबैसँग छलफल भएको छ । यो गठबन्धनलाई जोगाउने मात्रै होइन, गठबन्धनको अतिरिक्त गठबन्धनमा सहभागि नभएका दललाई पनि ल्याएर देशका सामु उपस्थित राष्ट्रिय चुनौतिहरुलाई सामुहिक रुपमा नै फेस गर्नको निम्ति राष्ट्रिय सहमति गरौँ भनेका छौँ । कसैलाई हटाउने, कसैलाई निकाल्ने हाम्रो केही उद्देश्यपनि छैन । लक्ष्य पनि छैन । सबैलाई मिलाएर लाने प्रयत्न रहन्छ । एमाले पार्टी देशको प्रमुख पार्टी भएको हुनाले राष्ट्रिय सहमति झन चाहिनुपर्ने हो नि । उहाँहरुकै नेतृत्वमा त्यो भुमिका खेल्दा त झन सुनमा सुगन्ध हुनुपर्ने हो नि । त्यसकारणले राष्ट्र सामु उपस्थित समस्याहरुलाई मिलाएर जाऔँ भन्ने कुरामा एमाले रुष्ट हुनुपर्ने के कारण छ ?’

त्यस्तै माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर शाहीले वर्तमान व्यवस्थाको रक्षाका लागि संसदमा सामेल सबै राजनीतिक पार्टीहरुका बीचमा सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय एकताको आवश्यकता हो । संसदमा सामेल भएका सबै राजनीतिक पार्टीहरु बीचको सहकार्य अहिलेको आवश्यकता हो । व्यवस्थाको रक्षाका लागि राष्ट्रिय सहमति आवश्यकता हो ।’

जनमत पार्टीका नेता तथा खानेपानीमन्त्री अब्दुल खानले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा जनमत पार्टीलाई बोलाउन छाडिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी लगायत अन्य साना दलहरुलाई बाइपास गर्ने नीति लिएर उहाँहरुले राजनीतिक संयन्त्रमा बोलाउन छोड्नुभएको छ ।’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशको अघिल्लो सरकारले आफूहरुको माग सम्बोधन नगरेकाले विश्वासको मत नदिइएको बताउनु भयो । उहाँले काँग्रेस नेतृत्वको वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ने, नगर्ने विश्वासको मत दिने बेलासम्म प्रतिक्षा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री बनिसकेपश्चात विश्वासको मत लिनेदिन सम्म हामीले हाम्रा मागहरु सम्बोधन गरिदिनुस् भनेर भनिरहेका थियौँ । सरकारलाई । त्यो सरकार ढलेर काँग्रेसको मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई पनि त्यही भनिरहेको छौँ । उहाँले विश्वासको मत पाउने नपाउने कुरामा त्यो दिनसम्म हाम्रा मागहरु सम्बोधन हुन्छ हुँदैन त्यो दिनसम्म हेर्छौं ।’

नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले जनयुद्ध दिवसको सन्दर्भमा सरकारले बिदा दिनु आवश्यक नभएको बताउनु भयो । उहाँले देशमा धेरै आन्दोलनहरु भएका र यसरी बिदा दिँदा सबैले बिदाको माग गर्ने चलन बस्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनयुद्ध दिवसको दिन बिदा दिनु आवश्यक छैन । त्यस्ता आन्दोलन कति भए होला । सबैले माग गर्दै जाने कुरा हुन्छ । बिदा दिँदै जाने ? सम्मान गर्ने चिज गरिसकिएको छ त । सरकारमा बसिरहनुभएको छ जनयुद्धका साथीहरु भने त्यो बिदाको नाममा बिदा दिँदै जाने परम्परा राम्रो होइन ।’

उहाँले सरकारले बिदा थप्दै जानु राम्रो परम्परा नभएको टिप्पणी गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?