एमाले प्रदेश अधिवेशन

अध्यक्ष ओलीको चाहानाविपरीत निर्वाचनबाट नेतृत्व चयन

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । नेकपा एमालेका जारी प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा आलीको चाहना र निर्देशनविपरीत निर्वाचनबाट नेतृत्व चयन हुन थालेका छन् । लुम्बिनी प्रदेश अधिवेशनबाट सुरु भएको निर्वाचनबाट नेतृत्व चुनिने क्रम क्रमशः अरू प्रदेशमा पनि सरेको छ । अध्यक्ष ओलीको चाहना र निर्देशनविपरीत बागमती प्रदेशले निर्वाचनबाट नेतृत्व छानेको छ । एमाले कोशी र कर्णालीले पनि नेतृत्व चयनका लागि सहमतिभन्दा निर्वाचनको बाटो रोजेका छन् । यसअघि लुम्बिनी प्रदेशमा पनि सहमति गर्ने ओलीको प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको थियो । एकताको सन्देशसँगै अध्यक्ष ओलीको भित्री चाहना आफूले चाहेको व्यक्तिलाई नेतृत्वमा ल्याउने थियो । तर, एमालेको प्रदेश अधिवेशनको सुरुवात नै ओली निर्देशन र चाहना विपरीतबाट भयो । लुम्बिनी प्रदेशमा सर्वसम्मतिको भगीरथ प्रयत्न र नेतृत्वले बलमिच्याइँ गर्दा पनि प्रतिनिधिले अस्वीकार गरेपछि अन्ततः नेतृत्व चयन निर्वाचनबाट भयो । लुम्बिनी र बागमतीपछि अधिवेशन हुने सबै प्रदेशमा चुनावबाटै नेतृत्व चयन हुने देखिएको छ । कोशीमा पनि दुई समूहबीच प्यानलसहित चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । अधिवेशन हुन बाँकी गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशमा पनि अध्यक्ष ओलीको चाहनाअनुसार सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना देखिँदैन ।

बागमती अध्यक्षमा ढुंगेल निर्वाचित
नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै रामेछापका ढुंगेल एमाले बागमतीको अध्यक्षमा निर्वाचित हुनुभएको हो । शनिबार राति सम्पन्न मतगणको परिणामअनुसार अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी दाहालले ४३९ मत पाउनुभयो ।

प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित हुनुभएको छ । उहाँले ६१५ मत पाउनुभयो । सचिवमा नवराज सिलवाल विजयी हुनुभयो । उहाँ एक मतान्तरमा विजयी हुनुभएको हो । सिलवालले ५६८ मत पाएर विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाउनुभयो । मतदानमा एक हजार १३५ मत खसेको थियो ।

उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामा विजयी हुनुभयो । महर्जनले ३६७ प्राप्त गर्नुभयो भने लामाले ५९९ मत पाउनुभयो । मतदानमा एक हजार १३५ मत खसेको थियो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विद्युतीय मतदान भएको थियो । दुई दिनमा सकिने भनिएको अधिवेशन एक साता चलेको थियो ।

अध्यक्ष ओलीको चाहनाअनुसार सर्वसम्मत गराउने प्रयास विफल भएपछि शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मतदान भएको थियो । अध्यक्षमा निर्वाचित ढुंगेल अध्यक्ष केपी शर्मा ओलीनिकट मानिनुहुन्छ । उसो त पराजित दाहाल पनि ओली निकटकै मानिनुहुन्थ्यो । मतदानमा ढुंगेल र दाहाल दुवैजना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिनुभएको थियो । अध्यक्षमा उम्मेदवारी दिएका पाँचमध्ये तीनजना पछि हटेपछि दुईजनाबीच चुनावी प्रतिस्पर्धा भएको थियो । ११७२ जना मतदातामध्ये ११३१ जनाले मत हालेका थिए । ४१ जना अनुपस्थित थिए ।

कोशीमा आज मतदान, अध्यक्षमा खतिवडा र ढकालको उम्मेदवारी
एमाले कोशी प्रदेशको अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ । एमालेले शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो । तर, निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरिएको हो । एमाले प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार हुनुहुन्छ । दुवैजनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ । अधिवेशनमा ९९७ जना प्रतिनिधि सहभागी छन् ।

एमाले कोशीको ठहर- रास्वपातिर जनमत आकर्षित, कांग्रेस मुख्य प्रतिस्पर्धी
एमाले कोशीले आर्थिक-सामाजिक रूपान्तरण र समृद्धिको प्रस्तावमा आफूलाई १५ वटा चुनौती रहेको उल्लेख गरेको छ । प्रदेश अधिवेशनमा प्रस्तुत आर्थिक सामाजिक रूपान्तरण र प्रस्ताव मस्यौदा कार्यदलले तयार पारेको प्रतिवेदनमा १५ वटा चुनौती रहेको उल्लेख छ । केन्द्रीय राजनीतिको प्रभाव प्रत्यक्ष रूपमा प्रदेश र स्थानीय तहमा देखा परिरहेको एमालेको ठहर छ । यस्तै, राजनीतिक अस्थिरताका कारण जनतामा निराशाको अवस्था भएकोले जनमत स्विङ हुने अवस्था रहेको ठहर गरेको छ । निराश र असन्तुष्टहरू राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षित भएको प्रतिवेदनमा उल्लेख छ । युवा पंक्तिलाई समेत रास्वपाले आकर्षित गरिरहेको एमालेको ठहर छ । संघीयता कार्यान्वयनको पक्ष कमजोर रहेको, प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने अधिकारहरू अहिलेसम्म हस्तान्तरण नभएकोलगायत चुनौती उल्लेख छ । एमालेले आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी भइरहेको पनि जनाएको छ ।

४८ पृष्ठ लामो प्रतिवेदनमा हाल राजनीतिक रूपमा क्रियाशील कुनै दलसँगको अन्तर्विरोध प्रधान नरहेको उल्लेख छ । तर, प्रतिवेदनमा नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धी पार्टी मानिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?