म्याग्दीका तीन वस्ती पहिरोको उच्च जोखिममा, पहिरो खस्ने क्रम रोकिएन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । वर्षौ पहिलेदेखिका पहिरो नियन्त्रणमा नआउँदा म्याग्दीका तीन वस्ती उच्च जोखिममा परेका छन् ।

जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका हुन् ।
रघुगंगा गाउँपालिकाको वडा नं ६ को रायखोर,रघुगंगा गाउँपालिका वडा नं २ वैसंरी र बेनी नगरपालिका वडा नं ३ तोराखेतको पहिरो नियन्त्रण गर्न नसकिदा वर्षेन जोखिम बढ्दै गएको हो । यस वर्ष पनि साउन सुरु भए पछि यी तीनवटै पहिरो पुनः खस्न सुरु गरेपछि स्थानीय त्रसित बनेका छन् ।

जिल्लाको बेनी नगरपालिका– ३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर गाउँको अवस्था पनि यस्तै छ । गाउँको पुछारमा भीषण पहिरो छ । शिरान र गाउँको छेउछाउबाटसमेत पहिरो खस्न थालेपछि यो गाउँका कतिपय मानिस विस्थापित भएका छन् भने गाउँमा रहेका पनि पानी पर्दा अनिदा आँखा बनाउँदै बस्न बाध्य भएका छन् ।

रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २ सय १६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डिपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभएको छ ।

गाउँपालिकाका कुइनेमङ्ले,चौरखानी, चिमखोला, मालाङ, पाखापानी, रायखोर र दग्नामको पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धूपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बूडिचौरलगायतका बस्ती बाढीपहिराको उच्च जोखिममा छन् । ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वरपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीयवासी धर्म रोकाले बताउनुभयो ।

उता बेनी नगरपालिका वडा नं ३ तोराखेतको पहिरोका कारण बेनपा २ को बगरफाँट गाउँ जोखिममा छ । “पानी पर्न थालेपछि यहाँका बासिन्दा राति सुत्न सक्दैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छौँ”, बेनी नगरपालिका २ बगरफाँटका टेकबहादुर कार्कीले भन्नुभयो “कमजोर भू–भागमा सडक बनाउन डोजर प्रयोग गरिँदा झन जोखिम बनेको छ । जथाभावी भत्काउँदा त्यसपछि संरक्षणका लागि पर्खाल र नाली समयमै नबनाउँदा पूरै पाखो खस्ने अवस्थामा छ ।”
को तोराखेत गाउँ पनि पहिरोका कारणले रित्तिएको छ । एक दशक अघिसम्म ७० घरपरिवारको बसोबास रहेको तोराखेतमा अहिले १० घर परिवारको मात्र बसोबास रहेको छ । ०६० देखि तोराखेतमा पहिरो चल्न सुरु भएको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताउनुभयो ।
पहिरोकै कारण तोराखेतबाट विस्थापित भई बगरफाँटमा बस्दै आउनुभएका सापकोटाका अनुसार त्यसपछि लगातार रुपमा पहिरो चल्दै आएकोले तोराखेतका बासिन्दा भकुण्डे, फाँपरखेत र बगरफाँटमा बसाइँ सरेका छन् । पहिरोले त्रासकाबीच पनि आफू गाउँमै बस्न बाध्य रहेको स्थानीयवासी कुन्दा परियारले बताउनुभयो ।

“पहिले गाउँमा धेरै घर थिए, मान्छेहरु पनि धेरै नै बस्ने गर्थे, पहिरोका कारण धेरैको धन सम्पत्ति नोक्सान भयो, अहिले पनि गाउँ जोखिममै छ”, परियारले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?