अधिकार नदिएको भन्दै प्रदेश सभापतिहरू आक्रोशित, महामन्त्रीद्वयमाथि उठ्यो प्रश्न

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले आफूहरूलाई बाइपास गरेको भन्दै आपत्ति जनाएका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा प्रस्तुत विभिन्न १० एजेण्डामाथि धारणा राख्ने क्रममा प्रदेश सभापतिहरूले आफूहरूलाई बाइपास गरेर अघि बढ्ने भए प्रदेश संरचना नै खारेज गर्न चेतावनी दिएका हुन् । संघीयताको वकालत गर्ने पार्टीले आफ्नै संगठनमा भने संघीयताको असल अभ्यास गर्न नसकेको उनीहरूको गुनासो छ । प्रदेश सभापतिहरूले पार्टीमा केन्द्रीय कार्यसमितिले सिधै जिल्ला र पालिका तहसँग काम गर्ने र शासन गर्ने काम गरेको टिप्पणी गरेका छन् । केन्द्रीय समितिको बैठकमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुलुकको संघीय व्यवस्थामै प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुन नसकेको टिप्पणी गर्दै भन्नुभयो, ‘प्रदेशलाई अधिकार दिन, भूमिका दिन नचाहेको हो कि विश्वास नभएको हो ? केन्द्रले सिधै जिल्ला कार्यसमितिसँग काम गरिरहेको छ । त्यस्तो कामको संयोजनमा प्रदेशलाई भूमिका दिइएको भए पनि हुने थियो तर त्यो भएन । ७७ जिल्ला सभापतिलाई काठमाडौं बोलाइयो तर प्रदेश सभापतिहरूलाई थाहै दिइएन ।’ सभापति पुनले महामन्त्री गगन थापाको एक वर्षीय कार्यक्रममाथि प्रश्न उठाउँदै भन्नुभयो, ‘महामन्त्रीले हिजो प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रदेश कार्यसमितिलाई जोड्ने काम खै ? अरू काम गर्दा पनि प्रदेशलाई खबर छैन ।’

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सभापतिलाई आमन्त्रित सदस्य बनाइएकोमा आपत्ति जनाउनुभयो । विधानतः प्रदेश सभापतिहरूलाई केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी गराउने विषयमा समेत विधानमा संशोधन गर्न माग गर्दै शर्माले भन्नुभयो, ‘हामी प्रदेश सभापतिहरू केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी छौँ तर हामीलाई सधैँ आमन्त्रित सदस्यको भूमिका मात्रै दिइएको छ । विधानतः हामीलाई यहाँ उपस्थित हुने वातावरण बनाइयोस् । प्रदेशलाई कमजोर बनाउँदा पार्टी पनि कमजोर हुन्छ । संगठनलाई कमजोर बनाएर कोही पनि नेता ठूलो बन्न सक्दैन ।’ महामन्त्रीद्वयले बोलाएको पार्टी सभापति भेलाबारे पनि जिल्ला तहमा परिपत्र हुँदा आफूहरूलाई जानकारीसमेत नभएको उहाँको गुनासो थियो ।

बैठकमा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले प्रदेशलाई भूमिका दिन नसक्ने भए प्रदेश संरचनाको औचित्य नहुने जिकिर गर्दै भन्नुभयो, ‘सात प्रदेशको संरचना किन बनाइएको हो ? यदि प्रदेशलाई जिम्मेवारी दिन नमिल्ने हो भने हामीलाई जिल्लामै बसेर काम गर्ने, संगठन गर्ने भूमिका नदिएको हो ? केन्द्रले जिल्लासँग काम गर्छ, जिल्लाले केन्द्रसँग सिधै काम गर्छ । हामी बीचमा छौँ, हामी न तल, न माथि भएका छौँ ।’ उहाँले अनलाइन सिष्टमबाट सदस्यता लिने व्यवस्थामा गए मधेशमा कांग्रेस सकिने भन्दै चिन्ता व्यक्त गर्नुभयो । सभापति यादवले गठबन्धनमा सिट बाँडफाँट र बजेट विनियोजनमा मधेशलाई उपेक्षा गरेको समेत आरोप लगाउनुभयो ।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि पार्टीले प्रदेशलाई भूमिका नदिएको गुनासो गर्नुभयो । प्रदेशलाई अधिकार दिन नसकिने र चाहिँदैन भन्ने निष्कर्ष हो भने संघीयता खारेजीको नेतृत्वसमेत पार्टीले नै गर्न सक्नुपर्ने जिकिर गर्दै सभापति बानियाँले भन्नुभयो, ‘यदि प्रदेश आवश्यक छैन भने प्रदेश खारेजी गर्ने कामको नेतृत्व गरोस् । होइन भने कांग्रेसको विधानले गरेको व्यवस्थाबमोजिम प्रदेशलाई पनि भूमिका दिइयोस् । प्रदेश संरचनामाथि सबैतिर प्रश्न उठिरहेको छ । हाम्रो पार्टीभित्र पनि उही अवस्था छ । यसको समाधानको बाटो खोजियोस् ।’ उहाँले वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेसमेत धारणा राख्नुभयो ।

महामन्त्रीद्वय थापा र शर्माको आलोचना
जारी केन्द्रीय समिति बैठकमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न उठेको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागू हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नुभएको छ । महामन्त्रीद्वयलाई लक्षित गर्दै सभापति बलायरले भन्नुभयो, ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दै गर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन । तथानाम छ जे पायो त्यही गरिएको छ ।’ महामन्त्री थापामाथि बढी आक्रामक देखिनुभएका सभापति बलायरले महामन्त्री थापाले प्रस्तुत गरेको कार्यक्रम कार्यान्वयनमा अवरोध आउन सक्ने चेतावनी दिँदै भन्नुभयो, ‘कार्यतालिका एकदमै हौसिएर आएको छ । कार्यान्वयनको दिशामा ठूलो अवरोध आउन सक्ने सम्भावना म देख्दै छु । आर्थिक पाटोको पनि जिम्मेवारी बोध गरिनुपर्ने देखिन्छ । प्रदेश कार्यसमितिको भूमिकाबारे मौन छ । प्रदेशका कमिटीले काम गरेन भने बडो गाह्रो छ ।’

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको विकल्प खोज्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढे महामन्त्रीद्वयलाई साथ दिन तयार रहेको बताउँदै खतिवडाले भन्नुभयो, ‘तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने तपाईंहरू अरू कसैको विकल्प खोज्छौँ भन्दै हिँड्नुभएको छ । तपाईंहरूको विकल्प पनि हामीले खोज्नुपर्ने अवस्था नआओस् । गठबन्धन गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । परिणाम आएपछि सभापतिलाई मात्रै दोष लगाउनु हास्यास्पद छ ।’ उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आपत्तिसमेत जनाउनुभयो ।

अर्का केन्द्रीय सदस्य जीवनबहादुर शाहीले महामन्त्री गगन थापालाई लक्षित गर्दै बैठकको लाइभ गरेपछि बैठकमा एउटा कुरा राख्ने बाहिर अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य भएको टिप्पणी गर्दै भन्नुभयो, ‘यो लाइभले हामीले सद्बुद्धि देओस् । भित्र एउटा बोल्ने बाहिर अर्को बोल्ने ? अनि ठूला नेताहरूले जथाभावी गर्‍यो भने त्यसपछिको नेताहरूले पनि गर्नुभएन ।’ अर्का केन्द्रीय सदस्य सुशीला थिङले संसदीय दलको नेता फेर्ने कसरत गैरसंसदीय भएको टिप्पणी गर्नुभयो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग गरेको छलफलको प्रक्रिया नपुगेको भन्दै बैठकमा प्रश्न उठेको छ । केन्द्रीय सदस्य नैनसिंह महरले जिल्ला सभापतिको भेलामा सभापति सहभागी नभएको विगतको उदाहरण नभएको स्मरण गर्दै भन्नुभयो, ‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन । केन्द्रीय सदस्यहरूलाई समेत भेलामा डाकिएको भए सबैले अपनत्व लिने अवस्था आउँथ्यो । केन्द्रीय कार्यालय हामीभन्दा बाहिर होइन । हो भने जानकारी पाऊँ ।’ उहाँले सरकार, संसद् र पार्टीबीचको समन्वय हुन नसकेको प्रति ध्यानाकर्षणसमेत गराउनुभयो ।

व्यक्ति बलियो हुन रूपान्तरण अभियान चलाएको आरोप
केन्द्रीय सदस्य राधा घलेले व्यक्ति-व्यक्ति बलियो हुन कांग्रेस रूपान्तरण अभियान गरिएको आरोप लगाउनुभएको छ । रूपान्तरण अभियान पार्टीलाई बलियो बनाउनभन्दा पनि व्यक्ति बलियो बनाउन केन्द्रित रहेको आरोप लगाउँदै घलेले भन्नुभयो, ‘धेरै साथीहरू रूपान्तरण अभियानमा लाग्नुभएको छ । गाउँ-गाउँमा पुग्नुभएको छ । रूपान्तरणको पक्षमा हामी पनि छौँ । रूपान्तरणको नाममा कांग्रेस बलियो बनाउनभन्दा पनि साथीहरू व्यक्ति-व्यक्ति बलियो बनाउन लाग्नुभएको हो कि भन्ने लागेको छ ।’

अनुशासन समितिका संयोजक ढुंगानामाथि उठ्यो प्रश्न
कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानामाथि विधानविपरीत कार्य गरेको आरोप लागेको छ । केन्द्रीय सदस्य जीवनबहादुर शाही र कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले अनुशासन समितिका संयोजकलाई एकल निर्णय गर्ने अधिकार कसले दियो ? भनी प्रश्न गर्नुभएको हो । निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठ र अनुशासन समितिका संयोजक ढुंगानाको प्रतिवेदन विरोधाभासपूर्ण रहेको आरोप लगाउँदै प्रदेश सभापति शाहीले भन्नुभयो, ‘विधानको धाराले स्वतः निष्कासित हुने व्यवस्थाविपरीत संयोजकले एकल निर्णय गर्नुभयो । अनुशासन समितिका संयोजकलाई विधानको काम, कर्तव्य र अधिकार हेर्न आग्रह गर्छु ।’ सभापति शाहीले प्रदेशलाई पार्टीले बेवास्ता गरेको र प्रदेशलाई जानकारी नदिई पार्टीको विधानले स्वतः निष्कासित भएकाको कारबाही फुकुवा गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

कोशी प्रदेश नामकरण विवाद बैठकमा प्रवेश
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको नामकरण विवादको विषय उठेको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कोशी प्रदेश नामकरण विवादको विषय उठाउँदै भन्नुभयो, ‘प्रदेश १ को नामकरण विवाद छ । यहाँ पार्टी बोलेन । एक नम्बर प्रदेशको हाम्रो उपस्थिति छैन । हाम्रो उपस्थिति भए यो विषयमा पार्टी बोल्थ्यो आज ? हामीले लहलहैमा कोशी प्रदेश राख्यौँ। कार्यकर्ताले त्यो कुरालाई स्वीकार गरेका छैनन् । कोही नेता गाउँ जान सकेको छैन । नामकरण सवालमा कांग्रेस केपी ओलीको लहैलहैमा लाग्यो । हामी यस विषयमा के गर्छौं ?’ बैठकमा बुढाथोकीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीको पनि आलोचना गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?