आकाश छुने मन

Read Time = 13 mins

✍️ भूपप्रसाद धमला

सधैं झैं आज पनि बिहान सबेरै ब्युँझन्छु । ओछ्यानमै कोल्टे फेरेर आखा चिम्लिँदै पुनः निदाउन खोज्छु तर पटक्कै निदाउन सक्दिन । मानसपटलमा असंख्य सोचहरू एकपछि अर्को गर्दै मडारिएर आउँछन् अनि गुण्ठुनिएर जान्छन् । ती सोचहरूको कुनै शृंखला पनि छैन । विशेष गरी बाल्यकालका सम्झना तरेली परेर आउँछन् । कतिपय सम्झनाहरू अलिबार थिग्रिएर पनि बस्छन् ।

झोला बोकेर स्कुलतिर गएको, दिनभर कक्षाकोठामा बसेर शिक्षकका कुरा सुनेको, सोधेका कुराको जवाफ दिएको, खाजा खाने छुट्टीको समयमा साथीहरूसँग एकछिन खेलेको, बेलुकीपख फेरि झोला बोकेर घरतिर फर्केको, एकछिन थकाइ मारेर घरको काममा अरूलाई सघाएको, बेलुकी खाना खाएर स्कुलको गृहकार्य गरेको, राति मस्तसँग निदाएको, बिहानै उठेर खेतीपातीतिर गएको, घर फर्केर बिहानको खाना खाएपछि स्कुलतर्फ लागेको, यिनै यिनै कुरा म आज सम्झिँदैछु ।

कसैगरी निद्रा नपरेपछि म ओछ्यानबाट उठेर झ्यालतिर लम्किन्छु । पर्दा उघारेर हेर्दा अझै झिसमिसे अँध्यारो छ । अलि परको जंगलबाट चराचुरुँगीको तिखो आवाज प्रष्टै सुनिन्छ । तिनले पनि आफ्नै प्रजातिका चरासँग सामान्य वार्तालाप गरेका होलान् । मान्छेको भाषाले पो अथाह जगतलाई समेट्न सक्छ । जीवन र जगतलाई समग्रतामा बुझ्न सक्छ तर के गर्नु र जति प्रयास गरे पनि मान्छे चराजस्तो उड्न कसै गरे सक्दैन । चराको शक्ति र मान्छेको शक्तिमा कत्रो भिन्नता ? प्रकृतिको नियम पनि विचित्र छ । यस्तै सोचाइमा डुब्छु ।

सम्झम्दा सम्झँदै भारतवर्षको रामराज्यको चित्र पनि मेरो मानसपटलमा उपस्थित हुन्छ । मर्यादापुरुष रामको तस्वीर कल्पना गर्छु । कति आदर्श थिए नि मर्यादापुरुष राम । अरूको खुशीको निम्ति पनि आफ्नो राज्य त्याग्न सक्ने । कष्टकर वनवासको जीवन पनि अँगाल्न सक्ने ।

सम्झनाको तरेलीमा किशोरावस्था, युवावस्था र प्रौढावास्था सबै ढुन्मुनिएर एकैपटक आउँछन् । यसो सम्झन्छु मेरो बाल्यावस्था निकै रमाइलो थियो । कलम कपी नहुनेले पाटीमा खरीले लेख्ने चलन थियो त्यस बेला तर पनि रमाई रमाई स्कुल जाने गर्थें । सानै संख्या भए पनि स्कुलको वातावरण एकदम राम्रो थियो । पढाउने शिक्षकहरूले धेरै माया गर्नु हुन्थ्यो । परीक्षामा कहिल्यै असफल हुनु परेन । त्यत्तिमात्र होइन आफ्नो कक्षा र पूरै स्कुलभरि नै कहिल्यै दोस्रा हुनु परेन । यसरी आफ्नो गाउँबाट आधारभूत शिक्षा पूरा गरियो ।

सम्झनाको तरेलीमा बाल्यकाल सम्झन्छु । आमाको काख सम्झन्छु । बाबाको मेलो सम्झन्छु । गुरुको वचन सम्झन्छु । घरबाहिर निस्केर परसम्म हेर्ने गरेको सम्झन्छु । पूर्वी डाँडामाथिको क्षितिजबाट बिहानै घाम झुल्केको देखेर त्यो डाँडामा उडेर जान मन लागेको सम्झन्छु । क्षितिजपारि के होला भनेर सोचेको सम्झन्छु । चरी झैं उडेर पर-पर जान मन लागेको सम्झन्छु । कति रमाइला दिन तर कति छोटा त्यसै त्यसै उडुँ उडुँ लाग्ने मन । उडेर आकाश छुने मन तर त्यो अवसर मेरो बाल्यावस्थामा कहिल्यै आएन । उहिलेको कुरा नस्टाल्जिया बन्छ ।

किशोरावस्था सुरु नहुँदै पल्लो गाउँको हाइस्कुलमा पढ्न गएको, स्कुलका साथीहरूसँग घुलमिल हुन पाउँदा झन् खुशी बढेको, त्यहाँ पनि स्कुलस्तरको अब्बल शिक्षा पाएको महसुस गरेको, विद्यालय शिक्षा समाप्त गरेको बखत असाध्य धेरै खुशी भएको कुरा सम्झेर ल्याउँदा मनै फुरुङ्ग हुन्छ । त्यसै त्यसै आल्हादित हुन्छु । यो बेला अनायास किशोरावास्थामा पुगेको अनुभूति हुन्छ । हाइस्कुल शिक्षा सकेर शहरतिर लाग्दा मन झनै रोमाञ्चित भएथ्यो । त्यत्ति बेलासम्म किशोरावस्था पूरा गरेर युवावस्थामा प्रवेश गरिएथ्यो ।

युवावस्थाको रमाइलो त झनै स्मरणीय हुने भइहाल्यो । शायद युवावस्था नै जीवनको स्वर्णिम अवस्था हो कि झैँ लाग्छ । बाल्यावस्थाको कडा अनुशासन पनि भोग्नु नपर्ने । किशोरावस्थाको बरालिने बानी पनि नहुने । आफ्नो निर्णय आफैं गर्न सक्छु लाग्ने । म सम्झन्छु त्यस बेला मलाई कलेजको पढाइमा अब्बल हुने, उत्कृष्ट नतिजा ल्याएर सफल हुने, विदेशका विश्वविद्यालय गएर थप उच्च शिक्षा हासिल गरेर घर फर्कने, बिहे गरेर घरजम बसाल्ने, आफ्नै देशको विकास अभियानमा सरिक हुने, विकास अभियानमा लागेर देशलाई स्वर्गको फूलबारी बनाउने, नजाने यस्ता कति कति रुमानी सपना बुनेको सम्झन्छु । युववावास्थाको सपना सम्झेर आज पनि मन पुलकित हुन्छ ।

अहिले भने प्रौढावस्थामा पुगियो । युवावस्थाका रुमानी सपना एक चौथाई पनि पूरा भएनन् । सोचेजस्तो अलि अलि भयो तर सपना बुने जस्तो एउटा पनि काम भएन । विशेषगरी देश विकासमा लागेर सुन्दर संसार बनाउने रुमानी कल्पना उडेर बेपता भयो । एक दुई पटक हावा हुरी आएर बेपत्ता भयो । हुरी बतासले फोहोर मैला बढाएर लानुपर्नेमा उल्टै फोहोरको डंगुर थुपारेर गयो । देश उस्ताको उस्तै रहृयो । अझ भन्ने हो भने देश पहिलेको भन्दा पनि प्रदूषित हुन पुग्यो ।

सोच्दा सोच्दै प्रसिद्ध प्राचीन ग्रीक दार्शनिक प्लेटोको भनाइ सम्झन्छु । आहा ! प्लेटोले कस्तो सुन्दर आदर्श गणराज्यको कल्पना गरेथे । यस्तो गणराज्य जहाँ शासक वर्ग नै शासन गर्न अरुचि राख्छन् । यस्तो गणराज्य जहाँ सबै नागरिक परम ज्ञानले सुसज्जित हुन्छन् । यस्तो गणराज्य जहाँ सबै मानिसहरू आत्मानुशासित हुन्छन् । यस्तो गणराज्य जहाँ हरेक मानिस आदर्श हुन्छन् । यस्तो गणराज्य जहाँ सबै मानिस समान हुन्छन् ।

झ्यालबाट बाहिर हेर्दा हेर्दै घाम झुल्किसकेछ । क्षितिजबाट उदाएको सुनौलो घामको झुल्का मेरो घरको झ्यालमा ठोकिएर परावर्तित हुन्छ । प्रकाशको परावर्तनसँगै मेरा सोचको पनि परावर्तन भएको अनुभूति हुन्छ । परावर्तित सोचहरू एकपछि अर्को गरी थुप्रिँदै जान्छन् ।

सम्झम्दा सम्झंदै भारतवर्षको रामराज्यको चित्र पनि मेरो मानसपटलमा उपस्थित हुन्छ । मर्यादापुरुष रामको तस्वीर कल्पना गर्छु । कति आदर्श थिए नि मर्यादापुरुष राम । अरूको खुशीको निम्ति पनि आफ्नो राज्य त्याग्न सक्ने । कष्टकर वनवासको जीवन पनि अँगाल्न सक्ने । कस्तो थियो होला त्यो रामराज्य जहाँ सबै सुखी हुन्छन् कोही पनि दुःखी हुँदैनन् भनिन्थ्यो । त्यस्तो रामराज्य जहाँ हरेक मानिस आदर्श हुन्छन् । त्यस्तो रामराज्य जहाँ असत्यमाथि सत्यको जित हुन्छ । अब त त्यस्तो राम राज्य कहाँ पाउने होला र ? अहिलेको राज्य त यस्तो छ जहाँ सत्यमाथि असत्यको राजेन चल्छ । यस्तो राज्य जहाँ राज्यशक्ति आफ्नो हातमा पार्न खोसाखोस हुन्छ ।

यस्तो राज्य जहाँ सत्ताको लागि होडबाजी पनि उत्तिक्कै हुन्छ । यस्तो राज्य जहाँ हरेक मान्छे सुखी होइन बरू उल्टै दुःखी हुन्छ । सम्झेर ल्याउँदा मेरो मन खिन्न हुन्छ । एकैछिनमा सामाजिक क्रान्ति गर्न मन लाग्छ । असत्यको पहाड खनेर सत्यको मैदान बनाउन मन लाग्छ । सबै खाले विषवृक्ष उखेलेर कल्पवृक्ष रोप्न मन लाग्छ जसले सबैलाई चिताएको फल दिन सकोस् । किन्तु म केही गर्न सक्दिन । मेरा हात दाम्लाले बाँधिएका छन् जस्तो लाग्छ । मेरा खुट्टा साङ्लाले बेरिएका छन् झैं लाग्छ ।

झ्यालबाट बाहिर हेर्दा हेर्दै घाम झुल्किसकेछ । क्षितिजबाट उदाएको सुनौलो घामको झुल्का मेरो घरको झ्यालमा ठोकिएर परावर्तित हुन्छ । प्रकाशको परावर्तनसँगै मेरा सोचको पनि परावर्तन भएको अनुभूति हुन्छ । परावर्तित सोचहरू एकपछि अर्को गरी थुप्रिँदै जान्छन् । धेरै सोचहरू थुप्रिँदै गएर पहाड बन्छ । त्यही पहाड चढेर माथि-माथि जाउँ झैँ लाग्छ । उकालीको चौतारामा एक छिन थरक मार्दै फेरी उकाली चढ्न मन लाग्छ । पहाडको टुप्पोमा पुगेर आकाश छुन मन लाग्छ । चराबाहेक धरतीका अन्य प्राणी आफ्नै ठाउँको वरिपरि डुलफिर गर्छन् ।

टाढा टाढा जानु छैन । उडी चन्द्र छुनु छैन । मात्र आहाराको चिन्ता छ । त्यो पाए खान्छन् नपाए पनि ठीकै छ । आफ्नो अनुकूल ऋतु पर्खेर पनि बस्छन् । मान्छे भने किन यति विघ्न महत्वाकांक्षी भएका होलान् ? किन आकाश छुन खोज्ने होलान् ? मान्छेको विचित्रको मन सम्झेर म खिस्स हाँससिदिन्छु । मेरो हाँसो आफैंबाट बिलाएर जान्छ । मान्छेको मन किन यत्रो अचाक्ली आकाश छुन खोज्छ कुन्नि ? आफैंसँग अलि लाज लागेर आउँछ । त्यो लज्जा आफैं लज्जित हुन्छ ।

सोच्दा सोच्दै प्रौढावस्था मेरो मानसपटलमा सवार हुन्छ । अनायास शरीरभरि प्रौढावस्थाको भार अनुभूत हुन्छ । बलजफ्ती कोठाबाट बाहिर निस्केर टहलिन्छु । क्षितिजको सुनौलो घाम देखेर रमाउँछु । मनमाथि जान खोज्छ । शरीरले तानेर तल झार्छ । गुरुत्वाकर्षणको नियमले थिचेर म निस्सासिन्छु । आकाश छुन नसकेर यसै उदासिन्छु तर मनले आकाश छुनै खोज्छ । आकाश छुने मन मानसपटलमा खिल्कट बनेर बस्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?