बेलायत हेल्थ केयरको आवेदन आगामी साता खुल्दै

निःशुल्क दरमै जान पाउने, कामदारले वर्षमा ७५ लाखसम्म कमाउने अनुमान

हिमालय टाइम्स
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । सरकारीस्तरमा श्रम सम्झौता भएको एक वर्षपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायत हेल्थ केयर एसिष्टेन्ट (स्वास्थ्य सेवा सहायक)मा कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ । नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट पारित भएको थियो ।

प्रोटोकल पारित भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
बेलालतसँग गत भदौमा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । सरकारले वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिष्टेन्ट (स्वास्थ्य सेवा सहायक) लाई बेलायत लैजाने पूर्वतयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैदेशिक रोजगार विभागले आवश्यक तयारी भइरहेको र केही दिनभित्रमा अनलाइन आवेदन खोल्ने जानकारी दिएको छ ।

सफ्टवेयरको यही महिना लञ्च गर्ने भनेर समय मिलाएका छौँ । सफ्टवेयरको परीक्षण सफल भयो भने ढिलोमा यही महिनामा आवेदन आहृवान गर्ने विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । श्रम मन्त्रालयले पहिलो चरणमा बढीमा दुई सयजना नेपाली नर्सलाई बेलायत लैजाने गरी तयारी गरिरहेको छ । पहिलो चरणमा पठाएका नर्सहरूको कार्यक्षमता राम्रो देखिएको खण्डमा दोस्रो चरणमा थप पठाउने तयारी रहेको छ ।

बेलायतले नेपालबाट पहिलो चरणमा कति नर्स लैजाने भन्ने यकिन भइसकेका कारण भदौ अन्तिमसम्म परीक्षा गराएर पठाउने तय भएको महानिर्देशक दाहालले बताउनुभयो । नेपाली हेल्थ केयर एसिष्टेन्ट (स्वास्थ्य सेवा सहायक)हरूले बेलायतमा रोजगारीको अवसर पाउनु अहिलेका लागि महत्वपूर्ण भएको उहाँको भनाइ छ । बेलायतले श्रम सम्झौताअनुसार दुई हजार नर्स हेल्थ केयर एसिष्टेन्ट (स्वास्थ्य सेवा सहायक) मा लैजाने प्रतिबद्धता गरेको विभागले जनाएको छ । सोहीअनुसार आवेदन खुलाउने तयारी भइरहेको विभागले जनाएको छ ।

सात अंक अनिवार्य
बेलायत स्वास्थ्य क्षेत्रमा जाने कामदारका हकमा प्रोटोकलले विभिन्न मापदण्डहरू तय गरेको छ । उक्त मापदण्ड पूरा गरेका नेपाली नर्सहरू बेलायत जान पाउनेछन् । २० वर्ष पूरा गरेर ४५ वर्ष ननाघेका स्टाफ नर्स, बिएससी नर्सिङ, एमएससी नर्सिङ गरेका व्यक्ति जान पाउनेछन् । त्यस्तै, दुई वर्ष कार्य अनुभव गरेको, नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएको व्यक्ति हुनुपर्नेछ । यस्तै, इन्टरनेसन इंग्लिस ल्याङवेज टेस्टिङ सिस्टम (आइइएलटिएस) मा सात अंक तथा अक्युपेसनल इंग्लिस टेष्ट (ओइटी) मा ‘बी’ स्कोर ल्याउनुपर्ने छ ।

आइइएलटिएसको रिटनमा ६.५ अंक अनिवार्य ल्याउनु पर्नेछ । ओइटीमा रिडिङ, राइटिङ र लिसनिङ हुनेछन्, जसमा राइटिङमा ‘सी प्लस’ ल्याउनुपर्नेछ । कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक नलगाइएको व्यक्ति हुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ ।

लागत खर्च लाग्दैन, वार्षिक कमाइ ७५ लाख
बेलायत जानेले भर्ना प्रक्रियाका लागि कुनै पनि शुल्क तिर्नु पर्दैन । बेलायत जानेले भाषा परीक्षण शुल्क पनि तिर्नु नपर्ने विभागले जनाएको छ । छनोट भएर जाने नर्सले वार्षिक ४८ हजार पाउण्ड स्टर्लिङ (मासिक चार हजार पाउण्ड) अर्थात् करिब ७५ लाख रुपैयाँसम्म तलब पाउने विभागको अनुमान छ । नेपालले सरकारी तवरबाटै नर्सलाई ‘केयर गिभर’का रूपमा इजरायलमा पठाइरहेको छ । यस्तै व्यक्तिगत तवरमा श्रम इजाजत लिएर नर्सिङकै लागि विभिन्न देश जानेको संख्या पनि ठूलो भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा छ ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा ६७ हजारभन्दा बढी नर्स दर्ता छन् । व्यक्तिगत तर्फबाट तथा अध्ययन सिलसिलामा विदेशिएकाहरूको यकिन तथ्यांक नभएको काउन्सिलले जानकारी दियो । विदेशिएका नर्सको तथ्यांक २५ हजारभन्दा बढी छ । यो संख्या औपचारिक रूपमा विदेशिएका नर्सहरूको मात्र भएको काउन्सिलले जनाएको छ । अधिकांश नर्स नेपालमा भनेजस्तो पारिश्रमिक तथा सेवासुविधा नहुँदा पलायन हुने गरेको काउन्सिलको अनुमान छ । पछिल्लो समय नेपाली नर्सले बेलायतमा गएर काम गर्न सक्छन् भन्ने प्रश्नसमेत उठिरहेको छ ।

हाल बेलायतमा दुई हजारभन्दा धेरै नेपालीहरूले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको श्रम मन्त्रालयको अनुमान छ । बेयालतमा नेपाली मौसमी रोजगारी र ब्रिटिस लाहुरमा जाने गरेका छन् । पछिल्लो समय नेपालीहरू बेलायत व्यक्तिगत भिसामा रोजगारीका लागि जाने गरेको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?