पार्टीको सदस्य संख्या घटेको छैन, आगामी महाधिवेशनमा १० लाख पुर्‍याउँछौँ : एमाले

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता घटेको हल्ला चलेपछि त्यसको प्रष्टीकरण दिएको छ । बिहीबार एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले विज्ञप्ति नै जारी गरेर सोबारे प्रष्टीकरण दिनुभएको हो । उहाँले जारी गर्नुभएको विज्ञप्तिमा पार्टी सदस्यता नवीकरण नगर्नुको कारणहरू प्रस्तुत गरिएको छ । अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन । सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्ने क्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निष्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकांक्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिदिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्थ्यो । तर, नेकपा एमालेको इतिहासमा यसपटक त्यसमा क्रमभंग गरिएको छ । महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ संख्या लिन खोजिएको छ ।’

यस्तै, एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा दश लाख पार्टी सदस्य पु¥याउने लक्ष्य लिएको पनि दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको मिसन ५१ प्रतिशतका सन्दर्भमा प्रत्येक वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत सदस्य पु¥याउने र पार्टीको ११औँ महाधिवेशनसम्ममा दश लाख गुणस्तरीय सदस्य लक्ष्यप्रति पार्टी संकल्पका साथ लागिरहने छ ।’ एमालेले दशौँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य संख्या रहेको स्पष्ट पारेको छ । एमालेले दशौं महाधिवेशनमा आठ लाख संगठित सदस्य रहेको दाबी गर्दै आएको छ ।

एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ संख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको जनाएको छ । ‘१०औँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यको ठूलो संख्या पनि त्यसमा पर्न गएको थियो । तसर्थ, त्यो एमालेको वास्तविक सदस्य संख्या थिएन’, विज्ञप्तिमा भनिएकोे छ, ‘यो कुरा नवौँ महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ । विसं २०७१ मा सम्पन्न भएको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य थिए ।’

यस्तै, एमालेले नयाँ सदस्यता पनि बढेको जनाएको छ । ‘सच्चा पार्टी सदस्यहरूको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएको पनि विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?