विमानस्थलको अनुगमनमा गृहमन्त्री श्रेष्ठलाई पत्रकारले सोधे : तपाईंलाई नै सुन तस्करीको ‘नाइके’ भनिरहेका छन् नि ?

Read Time = 4 mins

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिनुभएको छ ।

उहाँले विमान अवतरणदेखि यात्रु, कर्मचारीको प्रवेश, तिनीहरूको हातेब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गर्नुभएको थियो । सो क्रममा गृहमन्त्रालयका सचिवसहित उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत कार्यालयका प्रमुखको सहभागिता थियो ।

विमानस्थलको बाटो भएर छिरेको सुन दुई दिनअघि भन्सार पाससमेत भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटि उजागर गरेको छ ।

अनुगमनपछि सङ्क्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थलमा सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउनेभन्दा पनि समन्वय र एकीकृत भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यहीक्रममा एकजना पत्रकारले गृहमन्त्रीलाई प्रश्न गरे, ‘गृहमन्त्री नै सुन तस्करीमा संलग्न भएको कुरा आइरहेको छ। तपाईंलाई नै सुन तस्करीको नाइके भनेर समाचार आइरहेका छन् नि?’

त्यसपछि केही असहज रुपमा श्रेष्ठले प्रश्न गर्ने पत्रकारलाई प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘तपाईंले प्रश्न गर्नुपर्ने स्तरको विषय हो यो ? यो प्रश्नको उत्तर खोज्ने विषय नै होइन। म चुनौती दिन्छु, भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई आमजनताको समर्थन छ। संगठित ढंगबाट यसलाई असफल बनाउने काम भयो भने त्यसबाट हामी विचलित हुने छैनौँ।’

“राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै कठोररूपले जिम्मेवार हुनुपर्छ, तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्न र त्यही स्पिरिटमा काममा गति दिन निर्देशन दिनुभएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीबारे छानविन समितिले यसको जराजरामा पुगेर कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?