जापानको लगातार दोस्रो जित

Read Time = 5 mins

पर्थ । एसियाली राष्ट्र जापानले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । जापानले कोस्टारिकालाई २-० ले पराजित गर्दै समूह ‘सी’मा लगातार दोस्रो जित दर्ता गरेको हो । जापानले पहिलो खेलमा जाम्बियामाथि ५-० को फराकिलो जित निकालेको थियो । डुनेडिन स्टेडियम न्युजिल्याण्डमा बुधबार भएको खेलमा जापानको जितमा हिकारु नाओमोटो र एओवा फुजिनोले गोल गर्नुभयो ।

खेलको २५औँ मिनेटमा हिकारु नाओमोटोले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाउनुभयो । उहाँले मिना तानाकाको पासमा गोल गर्न सफल हुनुभयो । त्यसको दुई मिनेटपछि एओवा फुजिनोले गोल गर्दै जापानको अग्रता दोब्बर पार्नुभयो ।

यस जितसँगै जापानको दुई खेलबाट ६ अंक पुगेको छ । लगातार दोस्रो जितसँगै जापान नकआउट चरण नजिक पुगेको छ । पराजित कोस्टारिका अंकविहीन छ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो ।

यस्तै, स्वीट्जरल्याण्ड र नर्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

स्वीट्जरल्याण्ड र नर्वेको बराबरीले यो समूह ‘ए’बाट नकआउट चरणमा पुग्न सबै चारै टोलीको सम्भावना खुल्ला बनेको छ । यस बराबरीसँगै समूह ‘ए’मा शीर्षस्थानमा रहेको स्वीट्जरल्याण्डको दुई खेलबाट चार अंक पुगेको छ ।

स्वीट्जरल्याण्डले पहिलो खेलमा फिलिपिन्सलाई २-० ले पराजित गरेको थियो । समूहमा पहिलो अंक जोडेको नर्वे दुई खेलबाट एक अंक जोडेर पुछारमा छ । नर्वे पहिलो खेलमा न्युजिल्याण्डसँग १-० ले पराजित भएको थियो ।

यस्तै, समूह ‘ए’को खेलमा पहिलोपटक विश्वकप खेलिरहेको फिलिपिन्सले सहआयोजक तथा घरेलु टोली न्युजिल्याण्डलाई १-० ले स्तब्ध पारेको छ । सरिना बोल्डेनले गरेको गोल नै निर्णायक बन्यो । फिलिपिन्सका लागि सरिना बोल्डेनले खेलको २४औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो ।

विश्वकपमा फिलिपिन्सको यो पहिलो गोल हो । एक गोलले पछि परेको न्युजिल्याण्डले त्यसपछि बल पोसेसन राख्दै फिलिपिन्समाथि लगातार दबाब बढाएर आक्रमण गरे पनि गोल गर्न नसक्दा स्तब्ध बन्न पुग्यो । ६८औँ मिनेटमा ज्याकलिन हान्डले गोल गरे पनि भिएआरबाट मान्यता नपाउँदा न्युजिल्याण्ड बराबरीबाट चुक्यो । यसअघि न्युजिल्याण्डले पहिलो खेलमा नर्वेलाई १-० ले पराजित गरेको थियो ।

पहिलोपल्ट विश्वकप खेलिरहेको फिलिपिन्सको यो विश्वकपमा पहिलो र ऐतिहासिक जित हो । न्युजिल्याण्डमाथिको ऐतिहासिक जितसँगै फिलिपिन्सले नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ । फिलिपिन्स पहिलो खेलमा स्वीट्जरल्याण्डसँग २-० ले पराजित भएको थियो ।

यस जितसँगै फिलिपिन्सले समूह ‘ए’मा दुई खेलबाट ३ अंक जोडेको छ । समान तीन अंक नै रहे पनि फिलिपिन्स स्वीट्जरल्याण्ड र न्युजिल्याण्डसँग गोल अन्तरमा पछि छ । नर्वे अंकविहीन छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?