बिच भलिबल टोलीलाई संघको सम्मान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली भलिबल टोली सम्मानित भएको छ । नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदक विजेता महिला र पुरुष टोलीलाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पदक विजेता महिला टोलीका कोपिला उप्रेती र कमला पुन तथा पुरुष टोलीका दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो ।

उहाँहरूलाई नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सोही अवसरमा टोलीका प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुन मगरलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सन् २०२२ को डिसेम्बर २८ देखि ३० तारिखसम्म बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले रजत पदक जिते । च्याम्पियनसिपमा महिलामा पाँच र पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

संघका महासचिव रोशनबहादुर श्रेष्ठले विभिन्न प्राविधिक कारणले पदक विजेता खेलाडीलाई पुरस्कार दिन ढिलाइ भएको उल्लेख गर्दै आगामी दिनमा समयमा नै खेलाडी प्रोत्साहनका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । टोलीकी व्यवस्थापक जुनु पुन मगरले आफूले पाएको पुरस्कार रकम १९औँ एसियाडको तयारीमा रहेका खेलाडीका लागि खर्च गर्ने घोषणा गर्नुभयो । उक्त कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलाडीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सम्मान र पुरस्कार आवश्यक रहेको उल्लेख गर्दै राज्यका तर्फबाट पनि यस्ता कार्यक्रम उचित समयमा हुनुपर्ने बताउनुभयो । साथै कोइरालाले नेपालको राष्ट्रिय खेल भलिबलबाट आममानिस र राज्यले नै ठूलो आशा र भरोसा गरेको उल्लेख गर्दै अन्य खेलको तुलनामा नेपालको भलिबलले धेरै पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘राज्य र आमसमर्थकले नै राष्ट्रिय खेल भलिबलबाट धेरै आशा राखेको छ । सोहीअनुरूप संघले काम गरिरहेको छ भन्ने मैले बुझेको छु,’ कोइरालाले भन्नुभयो, ‘राखेपका तर्पmबाट पनि जिम्मेवार हुनुपर्ने काम गर्न हामी प्रतिबद्ध छौँ ।’ संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले आगामी १९औँ एसियाडका लागि नेपालको महिला र पुरुष दुवै टोलीलाई राखेपले समावेश गरेकोमा आभार व्यक्त गर्नुभयो । साथै उहाँले भलिबलका लागि पाँच हजार दर्शक क्षमता भएको कभर्डहल निर्माण गर्ने उद्देश्यअनुरूप आफ्नो कार्यसमिति लागिपरेको र त्यसमा राखेपको पनि सहयोग भइरहेको बताउनुभयो । आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा हुने १९औँ एसियाडमा नेपालका २९ खेलमध्ये नेपाली महिला तथा पुरुष भलिबल टोली पनि सहभागी हुनेछन् । सोही एसियाडका लागि नेपाली टोलीले हाल तयारी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?