कुकुर, बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

Read Time = 4 mins

जकार्ता । इण्डोनेसियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर-बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविक रूपमा ती पशु मारिएका भन्दै पशु अधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर-बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर शुक्रबारदेखि कुकुर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएपछि त्यो रोकिएको छ ।

विगतमा निर्दयी बनेका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालोको मासु नबेच्न सहमत भएका पशु अधिकारकर्मी संस्था हृयुमेन सोसाइटी इन्टरनेशनलले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

कुकुर-बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौँ पशुले चरम यातना खपेर अब मर्नुनपर्ने भएको उल्लेख गर्दै सोसाइटीले सरकारी निर्णयलाई ऐतिहासिक कदम भनेको छ । साथै उसले उक्त निर्णयको स्वागत गरेको छ ।

स्थानीय संस्कृतिका कारण कुकुर-बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेसिया रहेको छ । शुक्रबार पशुबजारका छजना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । व्यापारीले अब उप्रान्त कुकुर-बिरालाको मासु नबेच्न प्रतिबद्धतासमेत जनाएका सोसाइटीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कुकुर–बिरालाको मासु बिक्रीमा रोक लगाउनुपर्ने अभियानको अगुवाइ गरेका सोसाइटीका निर्देशक लोला बेब्बर व्यापारी र नगरप्रमुखबीच भएको सम्झौताले हजारौँ छाउराको ज्यान जोगिने तथा कुकुर-बिरालाको चोरी तस्करी पनि नियन्त्रण हुने बताइएको छ । उक्त टापुमा बर्सेनि एक लाख ३० हजार कुकुर मासुका लागि मारिने गरेका थिए ।

पशुलाई नमरुञ्जेल कुट्ने, झुण्ड्याउने, जिउँदै आगो लगाउने जस्ता क्रुर एवं अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ । सन् २०२० मा चिनियाँ शहर वुहानबाट कोरोना भाइरस यस्तै मासुबजारबाट मानवमा सरेको भन्ने जानकारी बारम्बार गराएपछि मासु व्यापारी सहमत भएको बताइएको छ । यसबाट रेबिजको संक्रमण रोक्न पनि मद्दत पुग्ने वास्तविकताबारे उनीहरूलाई अवगत गराइएको थियो ।

तोमोहनमा २५ वर्षदेखि कुकुर-बिरालाको मासु बेच्दै आएका एल्भिनस पोनोग उचित समयमा व्यापार बन्दको निर्णय भएको बताउँछन् । हजारौँ कुकुर मारेका उनी तिनलाई मार्न जाँदा तिनका आँखामा आफूले त्रास देखेको र त्यसबाट आफूलाई पनि नमज्जा लाग्ने गरेको बताएका छन् । बिक्रीमाथिको प्रतिबन्ध पशु र जनसाधारणको रक्षाका निम्ति अति उत्तम भएको बताएका छन् । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?