स्पोर्ट्स अवार्डलाई सिराज इन्टरनेसनलको साथ

हिमालय टाइम्स
Read Time = 5 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई धनगढीको सिराज इन्टरनेसनलले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा सिराज इन्टरनेसनलले साथ दिएको हो । सिराज इन्टरनेसनलका प्रबन्ध निर्देशक सुरज चन्द र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सिराज इन्टरनेसनल सिजी ग्रुपको आधिकारिक बिक्रेताका रूपमा नेपाल आइस, सेतो बाघ भोड्का र डाबरको रियल जुसको सुदूरपश्चिम प्रदेशका लागि आधिकारिक बिक्रेता हो । सिराज इन्टरनेसनलले विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ ।

सिराज इन्टरनेसनलका प्रबन्ध निर्देशक चन्दले सामाजिक उत्तरदायित्व वहन गर्दै खेलकुद क्षेत्रलाई सहयोग गरेर साथ दिएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि खेलकुद क्षेत्र र खेलाडीहरूका लागि आफ्नातर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरूको मनोनयन सार्वजनिक गरेको छ । वर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी, कबड्डीका प्रकाश गिरी, वर्षको उत्कृष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी वर्षा ओली मनोनयनमा पर्नुभएको छ ।

वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतम मनोनयनमा पर्नुभएको छ । वर्ष युवा खेलाडीमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा पर्नुभएको छ । सुदूरपश्चिम आइकन पुरुष विधामा फेस्निंगका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदूरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा पर्नुभएको छ ।

६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रममै सम्मान गर्ने जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्डमा मनोनयन नहुने भएकाले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो ।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?