पवित्र रेडक्रसमा अपवित्र गतिविधि

दुई कार्यसमितिका समानान्तर बैठक र निर्णय, दुवैका आ–आफ्नै दाबी

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । पवित्र संस्था रेडक्रसमा अपवित्र गतिविधि भइरहेको छ । राजनीतिक हस्तक्षेप, आन्तरिक विवाद, वैमनष्यता र बेथितिले बद्नाम बनाइएको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीमा भइरहेका अपवित्र गतिविधिले त्यसको गरिमा घट्दै गएको छ । राजनीतिकरणको चरम मारमा परेको पवित्र संस्था दल र व्यक्ति-व्यक्तिबीचको टकराव र इगोले संकटमा फस्दै गएको हो ।

केही वर्षयता आन्तरिक खिचातानी, भ्रष्टाचार र दलगत राजनीतिक हस्तक्षेपले विधानसम्मत चल्न नसकेको नेपाल रेडक्रसमा पछिल्लो समय समानान्तर गतिविधि भइरहेको छ । राजनीतिक दलको दलदलमा फसेको रेडक्रसमा समानान्तर दुई कार्यसमितिले आफूलाई वैधानिक दाबी गर्दै समानान्तर गतिविधि गरिरहेका छन् । दुवै समूहले आफूलाई वैधानिक दाबी गर्दै विभिन्न निर्णयहरू गरेका छन् । उनीहरूले एकले अर्कोलाई अवैधानिक दाबी गरिरहेका छन् । दुवै समितिले आफूलाई वैधानिक दाबी गर्दै नेपाल रेडक्रस सोसाइटीको नाम, चिह्न, लेटरहेड र छाप प्रयोग गरी विज्ञप्ति जारी गरिरहेका छन् ।

सत्ता गठबन्धन दलनिकट समूहले एउटा कार्यसमिति बनाएको छ भने इतर समूह निकटले अर्को समानान्तर कार्यसमिति बनाएको छ । सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटले प्रा.सुदर्शन नेपालको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको छ । यसअघि सत्ता गठबन्धनइतर समूहले डा.नेत्र तिम्सिनाको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । असार २७ र २८ का लागि संस्थाले गर्न लागेको निर्वाचन उच्च अदालतले रोकिदिएपछि तिम्सिना पक्षले असार २६ मा सर्वसम्मत रूपमा ३३ सदस्यीय तदर्थ समिति बनाएको थियो ।

त्यस्तै, साउन २ मा सुदर्शन नेपाल पक्षले ३३ सदस्यीय कार्यसमिति बनाएको हो । नेपाल रेडक्रस सोसाइटीले २०७५ सालदेखि आफ्नो वैधानिक निर्वाचन र अधिवेशन गर्न सकेको छैन । विसं २०७६ सालदेखि यसको नवीकरण पनि रोकिएको छ ।

सत्ताइतर समितिको दाबी- स्वार्थ समूहको अवैधानिक कार्यले भ्रम सृजना भयो
सत्तारूढ दलइतर नेत्र तिम्सिना नेतृत्वको समानान्तर कार्यसमितिले लामो समयदेखि दोहन गर्दै आएको स्वार्थ समूहले संस्थालाई कब्जा गर्ने उद्देश्य राखी नेपाल रेडक्रस सोसाइटीको विधानविपरीत र प्रचलित कानुन तथा अदालतका आदेशलाई अवज्ञा कार्यसमिति बनाएको दाबी गरेको छ । समितिको साउन ५ गते बसेको बैठकले सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूको कोटा निर्धारण गर्दै प्रहरीको सुरक्षा घेराभित्र केन्द्रीय कार्यसमितिको कथित (अवैधानिक) निर्वाचनप्रति ध्यानाकर्षण भएको जनाएको छ । स्वार्थ समूहको अवैधानिक कार्यले आम रेडक्रसकर्मी, जनसमुदाय र सरोकारवालाहरूमा भ्रम सृजना भएको समितिको दाबी छ ।

समितिले तिम्सिना नेतृत्वको आधिकारिकबाहेक अरू कुनै समिति नरहेको दाबी गरेको छ । समितिले असार २५ र २६ मा सम्पन्न निर्वाचनमार्फत निर्वाचित कार्यसमितिले सबै नियामक निकाय र अन्तर्राष्ट्रिय महासंघ तथा साझेदार संस्थाहरूलाई औपचारिक पत्राचार गरिसकेको जानकारी दिएको छ । समितिले नेपाल रेडक्रसमा भएको भ्रष्टाचार र अनियमितताको सन्दर्भमा संस्थागत निर्णय गरी गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, समाज कल्याण परिषद्, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभागमा पेश गरिएका विभिन्न छानविन समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

नाम, चिह्न, लेटरहेड दुरुपयोग गरी गैरकानुनी गतिविधि नगर्न सत्तापक्षीय समितिको चेतावनी
यता सत्तारूढ दलहरूनिकट कार्यसमितिले भने तिम्सिना नेतृत्वको समितिले नियोजित ढंगबाट संस्थाको गरिमा र छविमा गम्भीर आँच पु¥याउने गरी पूर्व-तदर्थ समितिका केही व्यक्तिहरूबाट संस्थाको हितविपरीत संस्थाको नाम, चिह्न, लेटरहेड र छाप दुरुपयोग गरी सूचना प्रवाह र अवैधानिक गतिविधि गरिरहेको दाबी गरेको छ । साउन ३ गते बसेको समितिको बैठकले संस्थाको लेटरहेड र छापको निरन्तर रूपमा दुरुपयोग गरिरहेकोमा घोर भत्र्सना गर्दै यस्तो गतिविधिहरूमा संलग्नलाई हदैसम्मको कानुनी कारबाहीको लागि अगाडि बढ्ने निर्णय गरेको छ । उक्त समितिले यस्तो प्रकारको गैरकानुनी कार्य नगर्न चेतावनीसमेत दिएको छ । नेपाल नेतृत्वको समिति नै आधिकारिक भन्दै समितिले यस सम्बन्धमा संस्थाले नियमनकारी निकायमा जानकारी गराइसकेको जानकारी दिएको छ ।

आइएफआरसीसम्म पुग्यो विवाद, तिम्सिना नेतृत्वको समितिसँग निर्वाचनसम्बन्धी विवरण माग
नेपाल रेडक्रस सोसाइटीको विवाद रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)सम्म पुगेको छ । आइएफआरसीले नेत्र तिम्सिना नेतृत्वको समितिले आफूलाई वैधानिक दाबी गर्दै पठाएको पत्रको जवाफ माग गरेको छ । आइएपआरसीले तिम्सिना नेतृत्वको समितिलाई पत्रचार गर्दै निर्वाचन प्रक्रियाबारे आधिकारिक जानकारी माग गरेको हो । आइएपआरसीले निर्वाचन कसरी गरियो ? त्यसको सबै विवरण पठाउन भनेको हो । केही दिनअघि अन्तर्राष्ट्रिय रेडक्रसले निश्चित समयभित्र आफ्ना समस्या समाधान गरी नसुध्रिए नेपाल रेडक्रस सोसाइटीलाई निलम्बन गर्ने चेतावनी दिएको थियो । राजनीतिक हस्तक्षेपका कारण लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटी विधानसम्मत रूपमा नचलेको स्मरण गराउँदै अन्तर्राष्ट्रिय रेडक्रसले नसुध्रिए निलम्बन गर्ने चेतावनी दिएको थियो ।

मेरो संघर्ष जारी छ, रेडक्रस बिगार्नेहरूलाई नमरुन्जेल छोड्दिनँ : अजितकुमार शर्मा
नेपाल रेडक्रस सोसाइटीमा दुई समूहले समानान्तर गतिविधि गरिरहँदा अध्यक्षका प्रत्यासी अजितकुमार शर्माले भने आश्चर्य प्रकट गर्नुभएको छ । एक सन्देश जारी गर्दै उहाँले पूर्व–प्रमाणित व्यक्तिहरूको कुचक्रमा परी आफूलाई तथाकथित निर्वाचनमा पराजय हुनु परेकोमा आश्चर्य व्यक्त गर्नुभएको हो । महाभारतको लडाइँमा अति शक्तिशाली अभिमन्यु पराजित भएको स्मरण गर्दै उहाँले आफू युद्धमै रहेको बताउनुभएको छ । यी सबै विषयमा सरकार र संसद् मौन रहेकोमा आश्चर्य प्रकट गर्नुभएको छ । आफ्नो संघर्ष जारी रहेको भन्दै जीवनप्रयत्न जारी रहेको उहाँको भनाइ छ । उहाँले रेडक्रस बिगार्नेहरूलाई नमरुन्जेल नछोड्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?