जनताले महशुस हुने गरि काम गर्छु : उपाध्यक्ष बुढा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 11 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा १५ वर्षको कलिलो उमेरमा दश वर्षे जनयुद्धमा होमिनु भयो । २०४३ सालमा तिला–८ स्थित ग्रामीण गाउँ ढिपुमा जन्मनु भएकी बुढा २०५७ सालमा पार्टीमा भुमिगत हुनुभयो । उहाँले जनमुक्ति सेनाको छापामार हुँदै कम्पनी कमान्डरको नेतृत्व समेत गरिसक्नु भएको छ ।

दश वर्षे जनयुद्धको लडाईबाट राजनीतिकमा प्रवेश गर्नुभएको उपाध्यक्ष बुढा अहिले जुम्लाको तिला गााउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको करिब डेढ वर्ष पुरा भइसकेको छ ।

तिलाको विकास सम्भावना योजना र चुनौतीबारे गाउँपालिका उपाध्यक्ष गोरीकला बुढासंग जुम्ला हिमालय टाइम्सका संवाददाता विजय रावतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएको करिब डेढ वर्ष पुरा भयो, नागरिकले महशुस हुने गरि गरेका कामहरु बुँदागत रुपमा बताईदिनुहोस् न ?

स्थानीय तहको निर्वाचन भई निर्वाचित भएको करिब डेढ वर्ष पार भएको छ । तिला गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएदेखि आज १७ महिनाको विचमा केही नमुना काम पनि भएका छन् । जो तिलाका नागरिकले महशुस गरेका छन् ।

पालिकाबाट संचालन भएका योजना कार्यान्वयमा अरु स्थानयि तह भन्दा तिला अगाडि देखिएको छ । पछिल्लो समयमा तिलाले संरचनागत विकासमा फड्को मारेको छ । गाउँपालिकाले नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गाउँपालिकाले वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने नीति लिएको छ ।

सङ्घीय विशेष अनुदान र समपूरक अनुदानबाट गाउँपालिकाद्वारा कार्यान्वयनमा आएका गौरवका योजनामध्ये पालिकाको प्रशासकीय भवन, तलिचौरदेखि लासीसम्म तटबन्धन निर्माण, लाटिका थानदेखि लर्मी गाउँसम्म सडक निर्माण, कुडारी बजारदेखि डुङ्गीसम्म सडक स्तरोन्नति, राँसादेखि नदैगुफा सडक निर्माण, घोडेसिम खानेपानी आयोजना निर्माण, घोडा ज्युलादेखि गाडापारि सिँचाइ कुलो निर्माण, दश शैया अस्पताल निर्माणाधीन अवस्था, मानेचौर मावि पक्की भवन निर्माण, सरस्वती मावि, सेतिबाडा मावि, ज्योति मावि, देउराली मावि र देविदेउराली आविको पक्की भवन निर्माण भएका छन् ।

विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

गाउँपालिकाले योजनाबद्ध ढंगले विकास निर्माण र सेवा प्रवाहको कार्य गर्दै आएको छ । गाउँसभाले स्वीकृत गरेको वार्षिक विकास योजनाका कार्यहरु गरिँदै आएका छौ । नयाँ योजनाहरुको तर्जुमा र विकासका लागि केन्द्रीय निकायले लागू गरेका ऐन नियम, कार्यविधि तथा स्थानीय विधि र पद्धतिलाई पालना गर्दै तोकिएका सर्त समेतको अभ्यासबाट गाउँपालिकालाई सभ्य र समृद्ध बनाउने गन्तव्यतर्फ तिला अगाडि बढिरहेको छ । सेवा प्रवाहलाई सहज गर्नेका लागी म आफै गाउँ केन्द्रित हुनु गरेकाी छु । जनातका समस्या र माग अनुसार गाउँ केन्द्रित सेवालाई विशेष प्रथामिकता राखेर यो वर्षको नीति तथा कार्यक्रम मार्फत गाउँ–गाउँमा सेवा प्रवाह गरिने भएको छ ।

यहाँका मुख्य चुनौती के के पाउनु भयो ?

तिला गाउँपालिकामा सबैभन्दा ठूलो चुनौती त यातायातकै छ । अहिले पनि गाउँपालिकाका चार पाँचवटा वडा सडक सञ्जालको पहुँचमा पुगेकै छैनन् । अहिले पनि दिनभरि चामलको भारी बोकेर घर पु¥याइ खानुपर्ने अवस्था छ । विजुलीको राष्ट्रिय प्रसारण प्रत्येक वडामा पुग्न सकेको छैन । गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि दरबन्दी अनुसार शिक्षक पदपूर्ति हुन सकेको छैन । खानेपानी, स्वास्थ्य, सिँचाइकोे अवस्था दयनीय नै छ । मूलभूतरुपमा भौगोलिक विकटताले नै हामीलाई सताइरहेको छ ।

बजेट व्यवस्थापन गरिदिन भनी प्रदेश र संघीय सरकार मन्त्रालयमा पुग्नु भएको छ ?

तिला गाँउपालिकाको उपाध्यक्ष भईसके पछि समग्र पालिकाको विकास गर्नेका लागि म लगायत पालिका अध्यक्ष र वडाध्यक्षको नेतृत्वमा प्रदेशका मुख्यमन्त्री र संघीय सरकार मन्त्रीसंग अपुग बजेको माग पनि गरेका छौँ । तर भने अनुसारको खासै बजेट आउने गरेको छैन । पालिकामा प्राप्त भएको सीमित बजेटले हाम्रा जनताका आवश्यकता पूरा नहुने भएकोले संघ प्रदेश धाउनु पर्ने अवस्था छ ।

जनप्रतिनिधिको हैसियतले कर्मचारीसँग कसरी सहकार्य गरिरहनुभएको छ ?

गाउँपालिकाको भौतिक स्रोत, मानवीय साधन र प्रविधिलाई समेत संयोजन गर्दै काम गरिरहेका छौं । नागरिक सन्तुष्टिलाई केन्द्रमा राखेर संयुक्तरूपमा काम गरिरहेका छौं । तिलाको कार्यसम्पादनलाई अझ प्रभावकारी तुल्याउन कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरी सम्पादित कार्यहरुको मासिक प्रतिवेदन लिने, सम्पादित कार्यहरुको निरन्तर मूल्यांकन गरी देखिएका कमी–कमजोरी सुधार गर्न कार्यापालिकाको बैठक मार्फत निर्णय गरि अगाडि बढ्ने सोच बनाएको छु ।

महिलालाई आत्मनिर्भर बनाउन कस्तो रणनीति लिनु भएको छ ?

नीति कार्यक्रम र बजेटमा नै विशेषगरि महिलालाई आत्मनिर्भरमा जोड्नका लागि विभिन्न कार्यक्रम समावेश गरिएका छन् । महिलासंग उपाध्यक्ष कार्यक्रममार्फत ३० लाख बजेट विनियोजित भएको छ । उक्त कार्यक्रमबाट सीममुलक तालिम,गर्भवती महिलाको स्वस्थ्य चाँज,पालिकाका सबै वडामा प्रजनन् स्वास्थ्य सम्बन्धी शिविर संचालन,महिलालाई रैथाने बाली उत्पादन र संरक्षण सम्बन्धी तालिम गरिने भएको छ । समाजिक सेवा क्षेत्र अन्तर्गत सोही बजेटवाट ,बालविवाह अन्त्य गर्नेका लागि सडक नाटक,छाउपडि प्रथालाई हटाउनका लागि अन्तरक्रिया,विद्यालयगत रुपमा जनचेतना, वक्तृत्वकला प्रतियोगिता जस्ता अन्य परिमाणमुखी गतिविधि गरिने भएको छ । लक्षितवर्ग अन्तरर्गत पर्ने जेष्ठ नागरिक र एकल महिलालाई राहत बोकेर गत वर्ष गाउँ–गाउँ पुगेको थियो । पालिका भित्रका दुई सय आठ जना लक्षित वर्गलाई कम्बल वितरण गरिएको थियो ।

तपाईँ न्यायिक समितिको संयोजक समेत हुनु हो । कसरी मेलमिलापको काम गर्नु भएको छ ?

तपाईले सोही प्रश्न सोध्नु भएकोमा धन्यवाद । स्थानीय तहका न्यायिक सम्पादनको काम धैरे जटिल छ । सरकारले स्थानीय तहमा न्यायिक समिति मात्र संयोजकको जिम्मेवारी तोकेमात्र हुदैन, कानुनी परामर्शको मेलमिलाप कर्ताको व्यवस्थापन गरिदिनु पर्छ । गाउँघरमा हुने साना तिना झगडालाई न्यायिक समितिमार्फत मिलाउने काम गरेका छौ । अन्य जटिल र ठुला घटना आएको खण्डमा सम्बन्धी निकायमा पठाउने काम गरेका छौ ।

अन्त्यमा केही भन्नु छ कि ?

तिला गाउँपालिकालाई नमुना बनाउनका लागि सबै पक्षको सहयोगको खाँचो छ । विशेषगरी कर्मचारी जनप्रतिधि विच सहकार्य र समन्वयको भुमिका अति आवश्यक रहेको छ । तिलाका राजनीतिक दलको महत्वपुर्ण भुमिका रहने भएकोले सबै निकायसंग सहकार्य र समन्वयबाट काम गर्न तिला गाउँपालिका तयार छ । विकासे योजना र सेवा प्रवाहमा बारे केही सुझाव वा र गुनासो भए आफुलाई सम्पर्क गर्ने सबैलाई अनुरोध छ । सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा तिला गाउँपालिकाले राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?