डिपिआर अनुसारको जग्गा नपाउँदा अस्पताल अलपत्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बनाउने भनेको अस्पताल डिपिआरअनुसार जग्गा नपाउँदा अलपत्र परेको छ । सुस्तामा अस्पताल निर्माण गर्ने योजना वर्षौंदेखि अलपत्र परेको हो । आयोजनाको विवरण लेखिएको बोर्डबाहेक त्यहाँ कुनै संरचना देखिँदैन । घर आँगनबाटै सहज रूपमा उपचार पाउने आशामा बसेका सुस्तावासीलाई अस्पताल हात्ती आयो फुस्सा भनेझैँ भएको छ ।

दुई मेडिकल अफिसरसहित १७ जना स्वास्थ्यकर्मी रहने भनिएको १० शैय्याको अस्पतालको काम अलपत्र परेको हो । २०७८ असार ७ गते चार करोड नौ लाख २७ हजार ८१ मा प्राकृतिक, कास्यव, समिर जेभीसँग २४ महिनाभित्र अस्पताल निर्माण गर्ने भनी सम्झौता गरिएको थियो । सम्झौताबमोजिम भएको डिपिआर गलत हुँदा काम अलपत्र परेको सुस्ता गाउँपालिकाको दाबी छ । असार ६ गते अन्तिम समय तोकिएको अस्पतालको अन्तिम मितिसम्म ठेकेदारलाई गाउँपालिकाले सम्झौताबमोजिम जग्गा उपलब्ध गराउन सकेको छैन । डिपिआरअनुसार फिल्डमा जग्गा नभएको भन्दै ठेकेदार कम्पनी पन्छिँदै आएको छ ।

सामान्य उपचार पनि सुस्तावासीले पाउँदैनन् । ठूलो रोग लागेर ज्यानै जाने अवस्थामा पुगे पनि यहाँका नागरिकले उपचार पाउने अवस्था छैन । सुस्ता गाउँपालिका ३ का रविन्द्र यादव भन्नुहुन्छ, ‘अस्पताल बन्ला र बुटवल, भैरहवा, भरतपुर जानुपर्ने बाध्यता अन्त्य होला भन्ने सोचेको थिएँ, सपना अधुरै रहृयो ।’

सुस्ता नवलपरासी पश्चिमको विकट क्षेत्र मानिन्छ । यहाँका नागरिकले सामान्य आधारभूत स्वास्थ्य सेवासमेत पाएका छैनन् । हालसम्म पनि कुनै अस्पताल छैन । सामान्य स्वास्थ्य चौकीले सबै किसिमका बिरामी हेर्नुपर्ने अवस्था छ । अपर्झट कुनै दुर्घटना परे ज्यान नै जोखिममा राखेर अन्यत्र पठाउनुपर्छ । सुस्ताको गौरवको आयोजना मानिएको अस्पतालको यो अवस्था हुनु समग्र सुस्तावासीको स्वास्थ्यमा गरिएको खेलबाड भएको स्थानीयको भनाइ छ ।

यता डिपिआर मिलेमतोमा कोठामा बसेर बनाइदिँदा र अस्पताललाई आवश्यक पर्ने जग्गा डिपिआरबमोजिम फिल्डमा नहुँदा काम अलपत्र परेको गाउँपालिका प्रमुख टेकनारायण उपाध्यायको आरोप छ । उहाँ भन्नुहुन्छ, ‘अघिल्लो सरकारका पालामा डिपिआर तयार भएको रहेछ, त्यतिखेरै स्पष्ट डिपिआर नहुँदा अहिले सबैले दुःख पायौँ ।’ गाउँपालिकाका प्राविधिक भने डिपिआर नै जग्गाअनुसार स्पष्ट नभएको र अस्पताल मापदण्डअनुसार बनाउन जग्गा पुग्दैन भन्ने जानकारी नहुँदा भुक्तानी गर्न सिफारिस गरिएको सुस्ता गाउँपालिकाका सबइञ्जिनियर विष्णु ज्ञवाली बताउनुहुन्छ । डिपिआर निर्माणका लागि १० लाख र अस्पताल निर्माण हुने स्थलसम्म पुग्न निर्माण भएको सडकका लागि ३२ लाख गरी कुल ४२ लाख खर्च भएको पालिकाले जनाएको छ । ठेकेदार कम्पनीले मुद्दा हालेपछि गाउँपालिकाले धरौटी जफत गरेको थियो । करिब पाँच करोड लागतमा बन्ने भनिएको अस्पतालको डिपिआर निर्माणकर्ता डिआरएस डेभलपर्स एण्ड डिजाइनर्स प्रालिका अध्यक्ष राजेन्द्र भट्टराईले भने डिपिआर बिग्रनु सामान्य भएको जिकिर गर्नुभएको छ ।

यता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डेले डिपिआर गलत भए सच्याएर निर्माण अघि बढाउन सकिने भए पनि ठेकेदार कम्पनीले टेण्डर हालिएको रकममा अस्पताल निर्माणमा घाटा लाग्ने डरले पन्छिन खोजेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पालामा अस्पताल निर्माण गर्ने भनेर सहमतिअनुसार गुठीको चार कठ्ठा जगा लिएर डिपिआर बनाएका हौँ, इस्यु डिपिआरको होइन, ठेकेदार पछि हट्ने बहानामात्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?