भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फुड सिष्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नु पनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको हो । दिगो भविष्यका लागि मार्गप्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर सावित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उहाँले बताउनुभयो । खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयोे, ‘खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढावा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले त्यस्तो रूपान्तरणले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणालीको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ मार्फत कानुनी दायरा तयार पारी दिगो खाद्य प्रणालीमा जोड दिएको जानकारी गराउनुभयो । स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र पोषणमा खाद्य सुशासन र नीतिमा तादम्यता ल्याउनका लागि सो व्यवस्था एक महत्वपूर्ण साधन भएको प्रधानमन्त्रीको भनाइ छ । सन् २०२१ मा सम्पन्न ‘युएन फुड सिष्टम समिट’ले तय गरेको मार्गनिर्देशअनुसार विद्यमान खाद्य प्रणालीमा रहेको कमजोरी पत्ता लगाई त्यसलाई सुधार गर्न र रूपान्तरणको मार्ग तय गर्न सरोकारवालासँग राष्ट्रिय र प्रादेशिक रूपमा सघन छलफल गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र उहाँका बंगलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरूबीच राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

उहाँहरूबीच कृषि, जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्वपूर्ण छलफल भएको थियो । सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । बंगलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो । बंगलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ ।

केही महत्वपूर्ण जलविद्युत् आयोजनामा समेत बंगलादेशले लगानी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरणसमेत बनेको छ । नेपाल र बंगलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलवा, अनुभवको आदानप्रदानसमेत भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?