सुन काण्डमा सरकार आफैँ संलग्न छ, प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्नुपर्छ : एमाले सचिव महासेठ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा(एमाले)का सचिव तथा सांसद रघुवीर महासेठले सुन काण्डमा प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव महासेठले सुन काण्डमा प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सुन तस्करीमा सरकारको अनुसन्धान मालिकसम्मै पुग्नुपर्ने भन्दै मुख्य मालिक सरकार प्रमुख पनि हुनसक्ने बताउनु भयो । उहाँले सरकार प्रमुखको संलग्नता छ कि सम्बन्धित मन्त्रीका मान्छेहरु छन् भन्नेमा छानविनले नै देखाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कि त उच्चस्तरीय छानविन समिति गठन होस् र उसले जे निर्देशन दिन्छ, पहिलो चरणमा राजीनामा बाहेक अर्को विकल्प छैन । प्रधानमन्त्री पनि संलग्न छ कि छैन त्यो बुझ्नको लागि, त्यो छानविन गर्नको लागि र त्यसमा को–को सहभागिता छ, जुन स्रोतबाट आयो कि फलानो दिनमा यसरी सुन बाहिर निस्किँदैछ, त्यो स्रोतलाई त त्योपनि थाहा होला नि त्यो सुन कहाँ जाँदैछ । त्यसैले यसलाई छानबिन गरेर त्यसको मुख्य नाइकेसम्म पुग्नुप¥यो । एउटा मजदुरको नाममा कम्पनी खोलेर बैशाख यता ३३ पल्ट सुन भित्राइसकेको छ । ३३ पल्ट सुन त्यसै भित्रिएको छैन होला । दुईवटा मोबाइल ल्याउँदा त थाहा पाउँछ, एक तोलाभन्दा बढी सुन ल्याउँदा त थाहा पाउँछ भने एक क्विन्टल ल्याउँदा थाहा थिएन होइन । त्यसकारण त्यसको मुख्य मालिकसम्म सरकार पुग्नुपर्छ । तर मुख्य मालिक भनेको सरकार प्रमुख पनि हुनसक्छ, अर्थात सम्बन्धित मन्त्रीका मान्छेपनि हुनसक्छ । छानबिनले के भन्छ त्यस अनुसार अगाडी बढ्नुपर्छ ।’

उहाँले सरकारले चाहेको भएमा तस्करी गरिएको सुन भन्सारबाट पास नै नहुने बताउनु भयो । उहाँले सरकारकै संलग्नता र निर्देशनमा सुन बाहिर आएको दाबी गर्नुभयो । उहाँले सुन काण्डमा सरकार नियतवश आफैँ संलग्न रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?