प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूलाई बार्षिक ५० हजार

छनौट गर्दा १० जना विद्यार्थी दलितमात्रै हुनेछन् । बाँकी रहेका १२ जना आर्थिक अवस्था कमजोर भएका र लक्षित समुहका हुने छन् ।

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाका नगर उपप्रमुख कौशिला चन्दले प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

पत्रकार सम्मेलन गर्दै नगरउपप्रमुख चन्दले पालिका भित्रका २२ जना छात्र छात्राहरुलाई प्राविधिक शिक्षा पढ्न आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

नगर उपप्रमुख चन्दले आफुले पाउने पारिश्रमिकबाट हुन आउने रकमलाई ‘उपमेयर अक्षयकोष’मा जम्मा गर्ने र त्यसबाट १२ छात्रा र १० छात्र गरी २२ जना विद्यार्थीहरुलाई पचास हजारका दरले वार्षिक रुपमा सहयोग गर्ने बताउनुभयो । दलित, लक्षित वर्ग र आर्थिक अवस्था कमजोर भएका प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई छनौट गरी २२ जनालाई वार्षिक पचास हजारका दरले सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।

‘आजको आवश्यकता भनेको प्राविधिक शिक्षाको हो, धेरै विद्यार्थीहरु प्राबिधिक धारकै शिक्षा हाशिल गर्न चाहेका छन्,’ उपप्रमुख चन्दले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएका र दलित तथा लक्षित वर्गका विद्यार्थीहरुलाई यो छात्रवृति कार्यक्रममा समेट्छु ।’

एसईई उतिर्ण गरि प्राबिधिक शिक्षा हासिल गर्न चाहाने विद्यार्थीहरुलाई यस कार्यक्रममा समेटिन लागिएको हो ।

नगरपालिकामा छनौट समिति गठन गरिने र उक्त समितिबाट छनौट भएका विद्यार्थीहरुलाई वार्षिक रुपमा पचास हजारका दरले सहयोग प्रदान गरिने बताइएको छ । छनौट गर्दा १० जना विद्यार्थी दलितमात्रै हुनेछन् । बाकी रहेका १२ जना आर्थिक अवस्था कमजोर भएका र लक्षित समुहका हुने छन् ।

एसईई पास गरी १८ महिने वा ३ वर्षे जुनसुकै तहको प्राबिधिक शिक्षा हासिल गर्ने विद्यार्थिलाई यस छात्रवृति कार्यक्रममा समेटिने छन् ।

आफुले उपप्रमुखको जिम्मेवारीमा बसेको एक वर्ष भएको र यस अवधिमा पाएको सबै रकम उपमेयर कोषमा जम्मा गरिसेकेको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा पाउने सबै पारीश्रमिक तथा सेवा सुबिधाको रकम कोषमा जम्मा गर्ने र परोपकारीका क्षेत्रमा सहयोग गर्ने चन्दको भनाइ छ ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ५० हजार पुरस्कार
बैतडीको मेलौली नगरपालिका-८ ले उत्कृष्ट अंक ल्याउन विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।

वडाअन्तर्गतको कमलपुर मावि र गंगेश्वर आविमा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको नतिजा अनुरुप नगदसहित सम्मान वडाअध्यक्ष तपेन्द्र बिष्टले जानकारी दिनुभयो ।

खस्किदो शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रम ल्याएको वडाकार्यालयले जनाएको छ ।

अध्यक्ष बिष्टका अनुसार सर्वोत्तम अंक (ए प्लस ग्रेड ) ल्याउनेलाई ५० हजार, अतिउत्तम (ए ग्रेड ) लाई २५ हजार, उत्तम (बी प्लस ग्रेड ) लाई १० हजार र राम्रो (बीं) ग्रेड ल्याउनेलाई ५ हजार नगद तथा सम्मान गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?