अवैध कारोबार र तस्करी नियन्त्रणमा सबैको समन्वयात्मक भुमिका आवश्यक : अर्थमन्त्री महत

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भुमिका आवश्यक रहेको बताउनुभएको छ ।

विहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले सरकारी निकायहरुले समन्वयकारी रुपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले एउटा मात्रैको भुमिकाले राम्रो परिणाम आउन नसक्ने बताउनु भयो । उहाँले करिव एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताउनु भयो । उहाँले सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानूनी गतिविधिलाई न्युनिकरण गर्न सकिने बताउनु भयो ।

उहाँले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भुमिका भए मात्रै गैरकानूनी गतिविधि कम गर्न सकिने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्नुपर्ने बताउनु भयो । उहाँले प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने प्रविधि,जनशक्ति अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने प्रविद्धता जनाउनु भयो। अर्थमन्त्री महतले विमानस्थल भन्सारमा गैरकानूनी रुपमा भइरहेका गतिविधिलाई अनुसन्धानमा जोडिएका निकायहरुले निगरानी गर्नुपर्ने बताउनु भयो ।

उहाँले अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत् व्यापारको नाममा दुरुपयोग गर्ने प्रयास गर्ने गरेको भन्दै उनीहरुको प्रयास विफल बनाउन सबै निकायहरु शतर्कताका साथ काम गर्नुपर्ने बताउनु भयो । अर्थमन्त्री महतले कुनै बहानामा सरकारी निकायहरुले उदासिनता देखाउने वा आ-आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने कुरा मान्य हुन नसक्ने बताउनु भयो । उहाँले अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरुले समन्वयात्मक ढंगले काम गर्ने प्रतिवद्धता जनाएको पनि बताउनु भयो।

उहाँले भन्नुभयो,‘विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वयकारी भुमिका हुनुपर्‍यो र एक अर्कालाई सहयोग पुर्‍याउनु पर्‍यो । त्यो भयो भने मात्रै गैरकानूनी गतिविधि कम भएर जान्छ । अपराध गर्ने मनसाय भएका, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन् । सरकारले भन्सारमा भएको प्रविधिलाई त्यही अनुसार अपग्रेड गर्नुपर्छ । भन्सार छलेर पतालगाउन नसक्ने गरी फुत्कन नपाउनु । कुन गैरकानूनी रुपमा गतिविधि भइरहेको छ । त्यो कुरालाई अनुसन्धानमा जोडिएकाहरुले निगरानी गरिराख्नुपर्छ । निगरानीको आधारमा सूचना आदानप्रदान गर्नुपर्छ । त्यो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत व्यापारको नाममा दुरुपयोग गर्ने प्रयास गर्छ उनीहरुको प्रयास विफल हुन्छ । अस्तिको घटनामा पनि विमानस्थलको भन्सारबाट निस्कन पाएपनि सूचनाको आधारमा उनीहरु पक्राउ परेर सुन बरामत भयो । राम्रो कुरा हो । राज्यको एउटा निकायले सूचनाको आधारमा पक्रियो । सरकारी निकायको विभिन्न जिम्मेवारीमा रहेका निकायहरुले एक अर्कालाई सहयोग गरेर एउटा प्वाइन्टबाट छलेर निस्कियो भने अर्को प्वाइन्टले त्यसलाई क्याप्चर गर्‍यो । त्यस कारण सबैको भुमिका हुनुपर्छ । एउटा मात्रैको भुमिकाले राम्रो परिणाम आउँदैन । नाकालाई दुरुपयोग गर्ने,तस्करी गर्ने,अवैध कारोबार गर्ने प्रवृतिलाई पूर्ण रुपमा रोक्नको लागि सबै निकायको समन्वयकारी भुमिका आवश्यक छ । यी नै विषयमा छलफल पनि गर्‍यौं । कुनैपनि हालत र बाहानामा उदासिनता देखाउने वा आफ्नो जिम्मेवारीमा क्रियाशिल नहुने अवस्था मान्य हुन सक्दैन । भन्सारसँग जोडिएका सरकारी निकायका जिम्मेवारी प्राप्त व्यक्तिहरु उच्च शतर्कताका साथ समन्वयकारी भुमिका निर्वाह गरेर काम गर्ने प्रतिवद्धता देखाउनुभएको छ । मलाई विश्वास छ । आउने दिनमा कुनैपनि चुक कुनै पनि तहबाट हुन नदिनेतर्फ सम्पूर्ण प्रयास गर्नुहुन्छ । भन्सारमा आवश्यक गर्ने प्रविधिको अपग्रेड गर्नेको लागि अर्थमन्त्रालय पूरा सहयोग गर्छ । विमानस्थलको भन्सारमा आधिकारीक व्यक्ति बाहेक जोसुकै व्यक्ति भएपनि भन्सारको नियम लागू हुनुपर्छ । भन्सारको निश्चित प्रक्रिया पूरा गरेर मात्रै प्रवेश पाउनुपर्छ ।

उहाँले आउँदा दिनमा कुनैपनि छुट, कुनैपनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास गर्ने निर्देशन दिएको बताउनु भयो । उहाँले त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताउनु भयो ।

उहाँले विमानस्थलको भन्सारमा आधिकारीक व्यक्ति बाहेक जोसुकै व्यक्ति भएपनि भन्सारको निश्चित प्रक्रिया पूरा गरेर मात्रै प्रवेश दिन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?