फूलबारीमा नयाँ कार्यसमितिको पदभार ग्रहण, उद्यानलाई थप सौन्दर्यकरण र आकर्षक बनाइने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) बुटवलको निर्वाचित नयाँ कार्यसमितिले शुक्रबार पदभार ग्रहण तथा सपथ लिएका छन् । समितिमा हालै सम्पन्न भएको १५ औं साधारणसभा तथा ५ औं अधिवेशनले माधव प्रसाद नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले ऐतिहासिक र पुरातात्विक क्षेत्रसँग जोडिएको फुलबारीलाई चिनाउन धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

पाण्डेयले जीतगढी र फूलबारीलाई जोडेर विकास गर्न विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने बताउनु भयो । बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले फूलबारीसँग धेरै वर्ष पुरानो इतिहास जोडिएकाले यसको थप प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकिने बताउनु भयो । बुटवललाई पर्यटकीय नगर बनाएर बुटवलमै पर्यटक भुलाउन यसले महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष माधवप्रसाद नेपालले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षको केन्द्र बनाउन उद्यानलाई थप व्यवस्थीत गर्दै सौन्दर्यकरणका कामहरु अगाडि बढाइने बताउनु भयो । फूलबारी अंकित हुलाक टिकट बनाउन र ऐतिहासिक महत्व रहेको मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला र नुवाकोटगढीलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न बिशेष पहलगर्ने बताउनु भयो ।

कार्यक्रममा उद्यानका निवर्तमान अध्यक्ष खेमप्रसाद लुईटेलले नवनिर्वाचित कार्यासमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशकै नमुना पार्कका रुपमा रहेको फूलबारीलाई अझै व्यवस्थीत र संरक्षण गरी अन्तराष्ट्रिय स्तरमा समेत यसको प्रचार प्रसार गर्नुपर्ने बताउनु भयो । आफू उद्यानको नेतृत्वमा रहँदा सुरु भएका राम्रा कामलाई निरन्तरता दिँदै बाँकी रहेका कामलाई प्राथमीकताका साथ अगाडी बढाउन उहाँले आग्रह गर्नु भयोे ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष सुनील शाक्य, सामुदायिक वन उपभोक्ता समूह बुटवल १ र २ का अध्यक्ष बाबुराम पौडेल, निर्वाचन समितिका संयोजक यमलाल खनाल, सदस्य महेन्द्र थापा, उद्यानका महासचिव युवराज घिमिरे, उपाध्यक्ष रमेशप्रसाद नेपाल, निर्वतमान उपाध्यक्ष बाबुराम पोखरेलगायतले बोल्दै राष्ट्रको गहनाका रूपमा रहेको उद्यानलाई अझै सुन्दर बनाउन मिलेर कामगर्दै अघि बढ्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?