लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिनेछः प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ ।

आइतवार बिहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आब २०७९/८० मा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरुवातमा बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेश गर्ने र बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था बमोजिम प्रतिवेदन प्रस्तुत गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकासका लागि आवश्यक पर्ने नीतिगत, कानूनी तथा संस्थागत सुधारको खाँका प्रस्तुत गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले यो संस्थालाई तुलानात्मक रूपले थोरै तर रणनीति पूर्वाधारमा परियोजना निर्माणमा कि इन्ष्टिच्यूडका रूपमा विकास गर्ने सोंच वर्तमान सरकारको रहेको बताउँदै यस संस्थाले गरेको कार्यप्रगतिले यस दिशामा संरचना तयार भइसकेकोे विश्वास व्यक्त गर्नुभएको छ ।

समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा लगानी बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महशसु गरेको बताउँदै प्रधानमन्त्रीले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको सम्वृद्धी र विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको थियो । आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिनुहुँदै प्रधानमन्त्रीज्यूले आफ्नोतर्फबाट आवश्यक सहयोग रहनेसमेत बताउनुभएको छ ।

प्रधानमन्त्रीले गत आवमा लगानी बोर्डको कार्यालयबाट भएका कार्यले आफूलाई देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानीसहित निजी क्षेत्रको लगानी भित्र्याउन सकिन्छ भन्दै पूर्वाधार विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिवद्ध रहेकोसमेत बताउनुभएको छ । बोर्डको कार्यालयबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाको रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत लगानी बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको उहाँको भनाइ थियो ।

उहाँले परियोजना विकासमा बोर्डले अपनाएको स्क्रीनिङ प्रक्रिया वैज्ञानिक तथा समयसापेक्ष भएको र अब परियोजनाको पहिचान र स्ट्रक्चरिङमा सम्बन्धित मन्त्रालयबाट सहयोग लिई सार्वजनिक निजी साझेदारी सानिसा परियोजना बैंकलाई अझै घनीभूत तथा उपयोगी बनाई दिगो, निश्चित समयसारिणीसहित क्षेत्र विशेषका परियोजना सूची तयार गरी लगानी बोर्डको समन्वयमा सम्बन्धित मन्त्रालय तथा प्रदेश सरकारबाट समेत सहयोग लिन सकिने सुझाउनुभएको छ ।

सो अवसरमा कार्यसम्पादन प्रतिवेदन पेश गर्दै लगानी बोर्डका अध्यक्ष सुशील भट्टले गत आवमा बोर्डको म्यान्डेट, बोर्डको व्यावसायिक योजना सहितको रणनीतिक योजना तथा नेपाल सरकारको बजेट तथा कार्यक्रमको अधीनमा रही विभिन्न समयमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशनहरू समेतका आधारमा सम्पन्न भएका कार्यप्रगतिबारे विस्तृत प्रतिवेदनमा प्रस्तुत गरिएको बताउनुभयो ।

उक्त प्रतिवेदनमा सम्झौता बमोजिमका विषयमा चार खम्बे रणनीति बमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारी अन्तर्गतका कार्य प्रस्तुत गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?