किन हराउँदै गयो खिरमा मौलिक स्वाद ?

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । हिजो आज गाउँ घरमा गाई, भैंसी पाल्न छोडेका छन् । कुनै बेला पाल्पा र गुल्मीका गाउँघरमा गाई भैँसीपालन गर्ने किसानले अहिले पाल्न छाडेका हुुन् । केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन वटा भैँसी/गाई हुन्थे तर अहिले आएर तिनै गाउँमा गाई/भैँसी पाइन छोडेको छ । भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले गाई/भैँसी पाल्न छाडेका छन् । काम गर्न सक्ने छोरा, बुहारी विदेश र सहर पसेपछि घरमा रहेका बूढाबुढीले काम गर्न नसक्दा गाउँमा गाई, भैंसी पालन हराउँदै गएको हो ।

गाई- भैंसी पाल्नै छोडेपछि बजारमा पाइने दूधबाट बनाइने खिरको मौलिक स्वाद भने नहुने बूूढापाका बताउँछन् । हरेक वर्ष साउन १५ मा खिर खाने चलन छ तर पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद हराउँदै गएको हो । वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर खाने चलन अहिले बढेको छ । डेरीको दूधबाट बनाइएको खिरको मौलिक स्वाद अहिले हराउदै गएको तानसेन भगवती टोलका ७५ वर्षीय देवेन्द्र बहादुर रायमाझीले बताउनुभयो । ‘गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर कुकरमा सिठ्ठी लगाएर बनाइएको खिरमा पहिलाको जस्तो स्वाद कहाँ पाउँनु रायमाझीले भन्नुभयो ‘दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खिर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहै छैन ।’

साउन १५ मा खिर खाने चलन पुरानै रहेको गुल्मी इस्माका ९५ वर्षीय देबबहादुर पाण्डे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘साउनमा हरियो, परियो धेरै पाइने हुनाले गाई, भैसीले दुध बढी दिने हुँदा यो समयमा खिर खाने गरिएको हो ।’ असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरूले खिर खाएर दिवस मनाउने गर्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो र पोषिलो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ । आज घरपरिवारका सदस्य भेला भई खिर खाने योजना बनाएकाछौं तानसेन कैलाशनगरमा बस्दै आउनुभएका रमेश रानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘मलाई यो चलन मन पर्छ, विगतमा म एक्लै थिए, यसपटक आमा, बुवा बहिनी सबै एकै ठाउँमा जम्मा भएर खिर खाँदैछौँ ।’

साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । असारे चटारो पछिको फुर्सदका साथै वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिन्छ । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । दूधमा प्रोटिन र फ्याटको मात्रा हुने र चामलबाट कार्बोहाइड्रेड र अन्य ड्राइ फ्रुट्सले भिटामिन, मिनरल्स प्रदान गर्ने भएकाले पनि खिरलाई पोषिलो परिकारका रुपमा लिने गरिन्छ । धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप साउन १५ मा खिर खाने चलन रहेको पाल्पा पूर्वखोलाकी लक्ष्मीदेवी देवकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘साउन महिनामा गाउँ–घरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा र धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।’ साउनलाई भगवान् शिवको महिना पनि भनिन्छ । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाई विधिपूर्वक चढाउने पनि गर्ने गरिएको देवकोटाको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?