नेपालमा ११ लाखभन्दा बढी विदेशी कामदार !

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपालमा रोजगारीका लागि विदेशी कामदार आउने क्रम वार्षिक रूपमा बढ्दो छ । गत आर्थिक वर्षमा रोजगारीका लागि दुई हजार नौ सय ९४ जना विदेशी कामदार श्रम स्वीकृति लिएर नेपाल भित्रिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा ३७ प्रतिशत धेरै विदेशी श्रमिक आएका हुन् । अघिल्लो आर्थिक वर्षमा दुई हजार एक सय ८१ जना विदेशी कामदार रोजगारीका नेपाल आएका थिए । गत आर्थिक वर्षमा चिनियाँ दुई हजार २१, बेलायती एक सय १७, अमेरिकी एक सय दुई, जापानी ९७, कोरियन ८२ र बाँकी अन्य देशका तीन सय ११ जना कामदारले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ ।

त्यसैगरी विभागले गत आर्थिक वर्षमा एक हजार छ सय २५ जनाको श्रम स्वीकृति नवीकरण गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदारबाट सञ्चालित ठूला विकास आयोजना, निर्माणाधीन जलविद्युत्, उद्योग र सडक निर्माणमा विदेशी कामदार आउने गरेको विभागले जनाएको छ । बेलायत, चीन, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसिया, उत्तर कोरिया र भुटानबाट पनि रोजगारीका लागि विदेशी श्रमिक श्रम स्वीकृति लिएर आएको विभागका निर्देशक मणिनाथ गोपले बताउनुहुन्छ । नेपाली श्रमिकलाई प्राथमिकता दिई यहाँ उपलब्ध हुन नसकेका दक्ष विदेशी जनशक्तिले मात्र श्रम स्वीकृति पाउने गरेको उहाँले बताउनुभयो । विभागका अनुसार गत आवको तुलनामा चालु आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या केही बढेको छ । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने श्रम ऐनको व्यवस्थाअनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति दिइएको हो । सरकारले रोजगारदाता देशका नेपालमा सञ्चालित कम्पनीसँग गरेको सम्झौता बमोजिमकै आधारमा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्था छ । सोहीअनुसार नेपालको श्रम ऐनअनुसार उनीहरूले भिसा र रोजगारी अनुमति पाउँछन् ।

नेपालमा रोजगारीका लागि चीन, भुटान, बंगलादेश, नर्वे, क्यानडा, जापान, दक्षिण कोरिया, भारतलगायत ६० भन्दा बढी देशबाट श्रमिक आउने गरेको विभागको तथ्यांक छ । भारतीय श्रमिकबाहेक तेस्रो मुलुकबाट रोजगारी खोज्दै नेपाल आउने विदेशी कामदारमा सबैभन्दा बढी प्राविधिक क्षेत्रका इञ्जिनियर, चिकित्सक, पाइलट, व्यवस्थापक र आयोजनाका काममा आउने गरेका छन् ।

हाल नेपालमा ११ लाखभन्दा धेरै विदेशी कामदार कार्यरत रहेको सरकारी अनुमान छ । जसमा ९० प्रतिशत भारतीय श्रमिक कार्यरत रहेको विभिन्न अध्ययनले देखाएको छ ।

कहाँ कार्यरत छन् विदेशी कामदार ?
कञ्चनपुर-कमला रोड प्रोजेक्टमा एक सय १६, चाइना ओभरसिज इञ्जिनियरिङमा ९४ र सञ्जिन खोला हाइड्रोपावरमा ८९ जना विदेशी कामदार कार्यरत रहेको विभागको तथ्यांकमा छ । काठमाडौं तराई मधेश दु्रतमार्गका दुईवटा परियोजनाको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनमा एक सय तीन र अर्को पोली चाङ्डा इञ्जिनियरिङ कम्पनीमा दुई सय २४ विदेशी कार्यरत रहेको विभागले जनाएको छ । उद्योगतर्फ हुवासिन नारायणी सिमेन्टमा एक सय दुई, होङ्सी शिवम् सिमेन्टमा ६९, हिमालयन एयरलाइन्समा २८, ब्रिटिस स्कुलमा ५९, लिंकन स्कुलमा ४९ र हुवावे टेक्नोलोजीमा १८ जना विदेशी श्रमिक कार्यरत रहेको विभागको तथ्यांक छ ।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ मा श्रम ऐनमा विदेशी कामदार पाँच प्रतिशतमात्र राख्न पाउने व्यवस्था छ । तर, पछिल्लो समय विदेशी आयोजनाले श्रम ऐनभन्दा धेरै रोजगारीका लागि ल्याउने गरेको स्वदेशी रोजगारदाता कम्पनीहरूको दाबी छ ।

भारतसहित अन्य छिमेकी देशबाट लाखौं श्रमिक रोजगारीका लागि नेपाल भित्रिए पनि सरकारसँग तथ्यांक छैन । नेपालमा भारत, बंगलादेश, भुटान, पाकिस्तान र चीनका धेरै कामदार भिसाबिनै रोजगारीमा कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वार्षिक प्रतिवेदनमा छ । रोजगारीका लागि विदेशी कामदार नेपाल भित्रिएसँगै दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने गरेको गुनासो पनि बढ्दो छ ।

विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा प्रवेश गरी काम गरिरहेको भए पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीर नभएको स्वदेशी रोजगारदाताको आरोप छ । नेपालमा निर्माणाधीन अवस्थामा रहेको विदेशी परियोजनाले नेपाली श्रमिकलाई कटौती गरी विदेशी कामदार ल्याउने गरेको बताइन्छ ।

वार्षिक भिसा शुल्क २० हजार
विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ मा नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था छ । यो निर्देशिकाको व्यवस्थाअनुसार नेपाल आउने विदेशी श्रमिकका हकमा श्रम स्वीकृतिबापत २० हजार रुपैयाँ शुल्क लाग्ने गरेको विभागले जनाएको छ । देश र कामका आधारमा रकम तय नगरी समान रूपमा सरकारले भिसा शुल्क लिँदै आएको छ । छ महिनाभन्दा कम अवधिका लागि भने श्रम स्वीकृति लिँदा १५ हजार रुपैयाँ शुल्क लाग्ने छ । रोजगारीका लागि आएका विदेशी कामदारले वार्षिक रूपमा आफ्नो भिसा नवीकरण गर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?