खडेरीका कारण अरुण गाउँपालिकाका कृषककाे मकैबाली नष्ट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । खडेरीका कारण बारीमा लगाईएको बाली नष्ट भए पछि भोजपुरको पूर्वी अरुण गाउँपालिकाका कृषकहरु मारमा परेका छन । बालीनाली नष्ट भएको गुनासो आएपछि गाउँपालिकाका अध्यक्ष सहितको टोलीले खडेरीका कारण नष्ट भएको बालीनालीको अनुगमन समेत गरेको छ ।

अरुण गाउँपालिका वडा नम्वर छ, जरायोटार र वडा नम्वर सात, सिक्रेटारमा प्राकृतिक प्रकोप सुख्खा खडेरीका कारण मकै डडेर नष्ट भएको छ । जरायोटारका स्थानीय एक सय २० कृषकले एक सय ७० हेक्टर क्षेत्रफलमा लगाएको मकैबाली पछिल्लो समयको सुख्खा खडेरीको प्रभावले नष्ट भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अगुवाईमा वडाध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, कृषि शाखा प्रमुख, कृषि ज्ञान केन्द्र भोजपुरका प्रविधिक टोलीले वडा नम्वर छ र सातको अनुगमन तथा निरिक्षण गरेको छ ।
अनुगमनमा जरायोटारको तल्लो भेगहरु रानीटार, बतासे र वडा नम्वर सात सिक्रेटारमा खडेरीका कारण मकैबाली पूर्णरुपमा क्षति भएको पाइएको छ । खडेरीको प्रकोपबाट प्रभावितहरुलाई राहतका लागि स्थानीय सरकारले रणनीति तयार गर्ने गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । कृषकलाई राहत उपलब्ध गराउने बिषयमा सरोकारवाला निकाय सहित प्रदेश सरकार र संघीय सरकारको पनि ध्यानाकर्षण गराईने गाउँपालिकाका अध्यक्ष खत्रीको भनाई रहेको छ ।

अरुण गाउँपालिका कृषि शाखाका प्रमुख रविन्द्र सापकोटाले सुख्खा खडेरीबाट प्रभावितहरुको लगत संकलन गरी राहतका लागी स्थानीय तहसँगै सम्बन्धित निकायहरु, कृषिज्ञान केन्द्र, प्रदेश तथा संघमा सहयोगको प्रस्ताव गरिने बताउनुभयो । “कृषकहरुमा पर्न गएको क्षतिको मुल्याङ्कन गरि प्रदेश तथा संघीय सरकारसँग उचित राहतको लागि पहल कदमीको लागि अनुरोध गरिने छ भने तत्काल गर्नु पर्ने अति आवश्यक कार्यमा गाउँपालिकाले अगुवाई गर्ने छ ।” शाखा प्रमुख सापकोटाले भन्नुभयो ।

यस अघि पनि बाढी पहिरोले अरुण गाउँपालिकाको वडा नम्वर एक र दुईका वस्ती प्रभावित भएको थियो भने लम्पी स्किनको रोगको महामारीका कारण पशुचौपायमा समेत क्षति भएको थियो । बिभिन्न समस्यामा परेका कृषकहरु फेरी सुख्खा खडेरी र धानबालीमा देखिएको रोगका कारण पिडित बनेको गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले बताउनुभयो ।

जिविको पार्जनको सहारा धान र मकैबाली भए पनि त्यो नष्ट हुन थालेपछि आफुहरु चिन्तित बनेको कृषकहरुको गुनासो रहेको छ । मकै कृषकसँगै अरुण गाउँपालिका वडा नम्वर ५, याकुका कृषकहरु पनि धान खेतीमा रोग तथा किराको प्रकोपले बढन थाले पछि चिन्तित बनेका छन्।

याकुका ७५ प्रतिशत कृषकहरुको खेतमा अहिले प्रकोप देखा परेकोे छ । कृषिज्ञान केन्द्र भोजपुरले धानमा रोगको प्रकोप रहेको जनाउँदै यसको तत्काल नियन्त्रणका लागि आवश्यक औषधी उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?