साहित्यकार एवं पत्रकार शर्माको निधन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सूचना चौतारी सञ्चार सहकारीका अध्यक्ष तथा अनलाइन पत्रकार विपिन शर्माको निधन भएको छ । झापाबाट काठमाडौंको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्दै आउनु भएका शर्माको मंगलबार बिहान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पारिवारिक सूत्रका अनुसार बालुवाटारस्थित प्रेसमा सुतिरहेकै अवस्थामा आइतबार बेहोस हुनुभएपछि उहाँलाई उपचारार्थ अस्पताल लगिएको थियो ।

उहाँका एउटा कथासंग्रह र केही फुटकर कविताहरू प्रकाशित छन् । उपलब्धि बहुउद्देश्यीय सहकारीको अध्यक्षसमेत रहनुभएका शर्माले बालुवाटारमा उपलब्धि प्रेस तथा प्रकाशन संस्था सञ्चालन गरिरहनुभएको थियो । उहाँ बागमती प्रदेश सहकारी संघ लिमिटेडको सञ्चालक र विराज समाजको सल्लाहकारसमेत हुनुहुन्थ्यो ।

हरेक पल अनलाइनको व्यवस्थापकीय कार्य गर्नुहुने शर्मा नेफ्स्कुन काठमाडौं लेखा समितिको पूर्वसदस्य, नेपाल व्यापार संघको उपाध्यक्षसमेत हुनुहुन्थ्यो । शर्मा नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय रही नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो ।

४५ वर्षीय दिवंगत शर्माको पार्थिव शरीरलाई मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँका श्रीमती प्रतिभा र दुई सन्तान हुनुहुन्छ । साहित्य, सहकारी आन्दोलन, पत्रकारिता तथा व्यापार व्यवसायको चतुष्कोणीय प्रतिभा विपिन शर्माको असामयिक निधनले यी क्षेत्रमा अपूरणीय क्षति भएको छ ।

उहाँको निधनमा महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठान, अनलाइन पत्रकार संघ, विराज समाज काठमाडौं तथा हिमालय टाइम्स राष्ट्रिय दैनिक परिवारले समेत शोक प्रकट गर्दै शोक विहृवल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?