एकपछि अर्को भ्रष्टाचार र अनियमितता काण्ड : नयाँ आउँदा पुराना ओझेलमा

कर्मकाण्डी अनुसन्धान, अन्तिममा सामसुम

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । नेपालमा पछिल्लो समय एकपछि अर्को गरी भ्रष्टाचारका प्रकरणहरू बाहिर आइरहेका छन् ।

पछिल्लो समय कुनै न कुनै भ्रष्टाचार वा तस्करी प्रकरणले बजार तताइरहेकै छ । कहिले कुन त अहिले अर्को काण्डले नेपाली राजनीतिक तरंगित बनाइरहेको छ । एउटा प्ररकण सेलाउन नपाउँदै अर्कोले बजार तताइहाल्छ । एकपछि अर्को गरी आउने काण्डले पुरानालाई आझेलमा समेत पार्ने गरेको छ ।

उसो त नेपालमा भ्रष्टाचारका काण्डहरू आउन थालेको अहिलेदेखि होइन । २०४६/०४७ सालको परिवर्तनपछि कुनै न कुनै समयमा केही न केही प्रकरण आइरहेकै हुन् । भ्रष्टाचार र अनियमितताका अनेकन काण्डमा उच्च पदस्थ राजनीतिज्ञ र कर्मचारीको संलग्नता नेपालका लागि सामान्य जस्तै भइरहेका छन् ।

‘प्रतिशोधका आधारमा’ केही राजनीतिज्ञ र कर्मचारी अनुसन्धानमा तानिए पनि अधिकांश ‘ठूला माछा’ भनिएकाहरू कारबाहीको दायरामा आउँदैनन् । जसले गर्दा एकपछि अर्को गरी आउने प्रकरणहरू सामसुम हुने गरेका छन् । सत्तादेखि प्रतिपक्षीसम्म जोडिन आइपुग्ने यस्ता प्रकरणको छानविन र अनुसन्धानसमेत कर्मकाण्डी हुने गरेको छ ।

अझै भ्रष्टाचार र अनियमितताका प्रकरणहरू बाहिर आउँदै नेताहरू बचाउ र चोख्याउन भाषणबाजीमा लागिहाल्छन् । पछिल्लो केही महिनायता आएका बाहिर आएका विभिन्न प्रकरणमा पनि यस्तै भएको छ । त्यो चाहे नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण होस् वा ललतिानिवासको सरकारी जग्गा हिनामिना प्रकरण ।

अझै एक महिनाअघि मात्रै बाहिर आएको करिब सय किलो सुन बरामद प्रकरणले पनि राजनीतिक रूप लिइसकेको छ । यसै प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि सदन अवरुद्ध गरिरहेको छ ।

नेताहरूका अभिव्यक्ति सुन्दा लाग्छ हरेक काण्डमा उनीहरू चोखा छैनन् । र त बचाउन र आरोप–प्रत्यारोपमा समय खर्चिरहेका छन् । आफ्नो र आफू निकटको बचाउ गर्न उनीहरू कुनै कसुर बाँकी राख्दैनन् । हरेक काण्डमा ‘म होइन त्यो मात्रै संलग्न छ’ भन्ने भाष्य निर्माण गर्न कनिकुथी गरिरहेका छन् ।

जसका कारण न वास्तविक दोषी पत्ता लाग्छ न कुनै काण्डको जरोसम्म पुगेर अनुसन्धान हुन्छ । यिनै कारण अहिलेसम्म आएका र आगामी दिनमा समेत आउन सक्ने हरेकजसो यस्ता प्रकरणमा निष्पक्ष अनुसन्धान भई दोषीलाई कारबाही हुने कुरामा आशंका उत्पन्न गराउँछ ।

सबै काण्डको छानविन गर्यो भने औँलामा गन्नसक्ने नेताबाहेक सबै जेलमा हुन्छन् : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारले मसिनो गरी छानविन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने संकेत गर्नुभएको छ । शनिबार पार्टीले पश्चिम नवलपरासीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ललितानिवास, सुन प्रकरण र भुटानी शरणार्थीलगायत काण्डमा सूक्ष्म छानविन हुने हो भने औँलामा गन्नसक्ने नेता मात्र बाँकी रहने बताउनुभयो । सरकारले सबै काण्डको छानविन गर्ने हिम्मत राख्नुपर्ने उहाँको भनाइ थियो । ‘सरकारले सबै काण्डको छानविन गर्यो भने औँलामा गन्नसक्ने नेताबाहेक सबै जेलमा हुन्छन् । त्यो रोक्न बहानाबाजी गरिनेछ,’ उहाँले भन्नुभयो, ‘हामी निरन्तर खबरदारी गरिरहने छौँ ।’ देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा इमानदारीको अभाव भएको उहाँले बताउनुभयो

सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन् : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको दाबी गर्नुभएको छ । शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले भ्रष्टाचारका सबै फाइल खोल्नुपर्ने बताउनुभयो । त्यसका लागि उच्चस्तरीय छुट्टै संयन्त्र बनाउनुपर्ने उहाँको माग छ । ‘गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको छ । सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन्,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारका घटनाहरू उच्चस्तरीय आयोगमार्फ छानविन गरिनुपर्ने छ । एक एक घटना नभएर सबै घटना र काण्डहरू बाहिर ल्याउनुपर्छ ।’

उहाँले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणको निष्पक्ष छानविन हुँदा आफू सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘यो प्रकरणमा मेरो नाम जोडिएको हुँदा छानविन गरियोस् । म तयार नै छु । मेरो पालाबाट नै ललिता निवासको विषयमा सानो निर्णय भएको हो । तीन/चार रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियतवश नभई मन्त्रिपरिषद्को निर्णय हो ।’

माधव नेपालमाथि अदालतको आदेश संशयपूर्ण : मन्त्री भुसाल

नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष डा। बेदुराम भुसालले ललितानिवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागि दिएको आदेश नै संशयपूर्ण भएको बताउनुभएको छ । अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै सरकारका मन्त्रीसमेत रहनुभएका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वाभाविक भएको टिप्पणी गर्नुभयो । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुग्नुभएका भुसालले अध्यक्ष नेपाल नभागेको समेत बताउनुभयो । अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रमअनुसार नै विदेश गएको उहाँको भनाइ थियो । ‘न्याय क्षेत्रमा काम गर्ने कानून व्यवसायीहरूले अदालतको आदेश अस्वाभाविक भएको बताइरहेको बेला हामीले त्यसलाई संशयको रूपमा लिएका छौँ,’ उहाँले भन्नुभयो । यद्यपि, छानविनलाई आफ्नो पार्टीले सदैव सहयोग गर्ने उहाँले बताउनुभयो ।

सुन काण्डले सबै काण्डहरूलाई बिर्साइदिएको छ : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय बाहिर आएको सुन काण्डले यसअघिका सबै काण्ड ओझेलमा परेको बताउनुभएको छ । शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा नेता कोइरालाले देश अराजकतातिर गइरहेको बताउनुभयो । सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको उहाँले आरोप लगाउनुभयो । ‘अहिले हाम्रो देश अराजकतातिर गइरहेको छ । काण्डै–काण्डले देशलाई विग्रहतिर धकेलिरहेको छ । त्यो काण्डहरूमा पछिल्लो काण्ड सुन काण्डले सबै काण्डहरूलाई बिर्साइदिएको जस्तो लागिरहेको छ,’ उहाँले भन्नुभयो, ‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानविन र कारबाही हुनुपर्छ । तर, प्रतिशोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्याउन खोजेको हो ? यो अहिले गम्भीर विषय हो । राजनीतिमा जब प्रतिशोधको भावना सुरु हुन्छ तब राजनीति राजनीति नै रहन्नँ, त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पु¥याउँछ ।’ नेता कोइरालाले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीले आफ्नो मातहतमा राखेर त्यसको लाभ उठाउने काम भइरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?