प्रधानमन्त्रीनिवास अगाडि डोजरसहित विरोध प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजनाको म्याद थप लगायतका नौ बुँदे मागसहित आन्दोलनरत निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजारसहित बालुवाटारमा प्रदर्शन गरेका छन् । मंगलबार चारवटा डोजरसहित प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री र केन्द्र सरकारको ध्यानाकर्षण गर्न बालुवाटारमा धर्ना दिइएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

व्यवसायीहरूले बिमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरेबापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास अगाडि डोजरसहितका निर्माण यन्त्र तेस्र्याउँदा केही समय बालुवाटार क्षेत्रमा सवारी आवागमन नै प्रभावित भएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्या चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । सरकारले बनाएका योजनामध्ये चार खर्बभन्दा बढीका योजनाको सुनिश्चितता गरेका भए पनि सरकारले स्रोत नभएका योजनाको म्याद थप गर्न लागेको उहाँको भनाइ थियो ।

भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने उहाँले बताउनुभएको छ । अध्यक्ष सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीलाई काममा फर्काउन ठोस कार्ययोजना बनाई माग सम्बोधन गर्नुपर्ने भन्दै माग कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने उहाँले चेतावनी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?