संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठकको मिति तोकियो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नयाँ प्रधानन्यायाधीशको चयन गर्ने उद्देश्यसहित बसेको मंगलबारको संवैधानिक परिषद्को बैठक अनिर्णीत बनेको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । अर्को बैठक साउन १८ गते ५ बजे बस्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने उहाँको भनाइ छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन चार दिन मात्रै बाँकी रहेको छ । उहाँको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

संविधानको धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ । हाल सर्वोच्च अदालतमा तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशका उम्मेदवार हुनुहुन्छ ।

तर, संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्दै आएको छ । हाल विश्वम्भर प्रसाद श्रेष्ठ वरिष्ठतम न्यायाधीश हुनुहुन्छ । श्रेष्ठ, खतिवडा, भट्टराई, सिन्हा, राउत र प्रधान २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु भइसक्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?