हिन्दु संस्कृतिमा श्रावण महिनाको महत्व

Read Time = 13 mins

✍️ डा. माधव अधिकारी

नेपाल विश्व मानचित्रमा अद्वितीय सांस्कृतिक, रीतिरिवाज एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । नेपालमा विभिन्न चाडबाड मनाइन्छ । सबै चाडबाडको आफ्नै महत्व छ । यसै सिलसिलामा श्रावण महिनाको हिन्दु संस्कृतिमा महत्व भएकाले सोबारे यस लेखमा संक्षेपमा चर्चा गर्ने जमर्काे गरिएको छ । पौराणिक व्याख्या अनुसार श्रावण महिनामा समुद्र मन्थन भएको थियो । सो मन्थनबाट हलाहल विष निस्केको कथन छ । सबैलाई रक्षा गर्न देवका पनि देव महादेवले सो विष आफैं सेवन गरी नीलकण्ठ भएका महादेवले नेपालमा अवस्थित गोसाइँकुण्डमा गएर सुत्नु भयो र विषको असर कम भएको पौराणिक व्याख्या गरेको पाइन्छ । अतः गोसाइँकुण्डको बारेमा पनि यहाँ संक्षेपमा चर्चा गरिन्छ ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्दछ । माथि उल्लेख गरेजस्तै समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा सयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेको हुंदा गोसाइँकुण्डमा त्रिशूलधाराको पानी गोसाइँ महादेवलाई सिञ्चन गर्ने गरेको विभिन्न पौराणिक भनाई छ ।

त्रिशूली नदीको उद्गमस्थान त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतिकुण्ड, आमाकुण्डलगायत १०८ कुण्डहरू, अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्वले यस क्षेत्र धनी छ । जैविक विविधतताले धनी यस क्षेत्रको वन, वनस्पति, वन्यजन्तु, चराचुरुंगी, पुतली, जडिबुटी, गुम्बा, धार्मिकस्थान, तमाङ तथा हेल्मो संस्कृति, भेषभूषा र ज्ञान गुनको कुराहरू जानकारी पाउन सकने भएकाले साथै यी कुण्डहरूमा स्नान गरी महादेवको दर्शन गर्नाले पितृ मोक्ष हुनु साथै स्वयं पवित्र हुने भनाइछ । यी क्षेत्रहरूले राष्ट्रिय संस्कृतिहरूको स्वरूप लिन यहाँको धार्मिक, लोकसंस्कृतिको एकतामा समाहित भएर नेपाली माटोलाई सुगन्ध बोकेर परम्परा बचाएको छ ।

बहु रीतिरिवाज, चालचलन, रहनसहन, भेषभूषा, बोलिबचन, साइनो, अभिवादन, धर्मकर्म, लोकपरम्परा, कलाकौशल, लोक साहित्य धार्मिक संस्कृति र तिनको दैनिक उपयोग्य सामानको प्रयोगमा माझिएको हिमाली जीवनशैली यहाँको र राष्ट्रकै सम्पति हुन् । यहाँका कुण्डहरू राष्ट्रिय धरोहरको रूपमा छन् जुन सधैं जीवन्त रहनेछन् ।

आफ्नो मैलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृति नाचगानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिको मुख्य स्थान लिएको पाइन्छ । यसै बहुरीतिरिवाज, चालचलन, रहनसहन, भेषभूषा, बोलिवचन, साइनो, अभिवादन, धर्मकर्म, लोकपरम्परा, कलाकौशल, लोक साहित्य धार्मिक संस्कृति र तिनको दैनिक उपयोग्य सामानको प्रयोगमा माझिएको हिमाली जीवनशैली यहाँको र राष्ट्रकै सम्पति हुन् । यहाँका कुण्डहरू राष्ट्रिय धरोहरको रूपमा छन् जुन सधैं जीवन्त रहनेछन् ।

गोसाइकुण्डमा पानीको आयतन १४ लाख ७२ हजार क्युबिक मिटर रहेको छ भने भैरव कुण्डमा ४६ लाख ६० हजार क्युभिक मिटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेण्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेण्ड ३५ लिटर पानी त्रिशूल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेण्ड ७५ लिटर पानी तल झर्छ । अपार धार्मिक जल भण्डारको प्रतिबिम्ब हो गोसाइँकुण्ड । किनकि वेदमा पानीको प्रयोग सम्बन्धमा थुप्रै स्थानमा उल्लेख गरिएको छ । नेपालमा जम्मा २२५ अर्ब घनमिटर अर्थात् २२५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल १५० अर्ब लिटर पानीमात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । गोसाइँकुण्ड प्राणी÷वनस्पति सबैका लागि अचुक धार्मिक जल धाराकोे भण्डार हो भन्नुमा कुनै अयुक्ति नहोला ।

गोसाइँकुण्ड क्षेत्रमा १०० भन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेका वनस्पतिमा कुट्की, जट्टामसी, क्षेतरे, सर्मागुरु, विष, अमुत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । भने रैथाने प्रजातिका वनस्पतिमा मेकोनोपासिस धोजी, मेकोनोपासिस टेलारी, हेरा, किल्यम, प्रिमुला, औरेटा, पेडीकोलासिस, सिउडोरेजिलिएना, रोडोडेन्डोन, कायनियन पाइन्छ । त्यस्तै प्रमुख जंगली जनावरमा डाँफे, कस्तुरी, मृग, काँडे भ्याकुर आदि यहाँ पाइन्छन् । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय, हिमाली क्षेत्रकै उत्तम क्षेत्र हो । देवका पनि देव महादेवले हलहल विष सेवन गरी असर कम गर्न सयन गर्नुभएको गोसाइँकुण्ड क्षेत्रमा धार्मिक, संस्कृति, पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण छ ।

विशेषगरी श्रावण १ गतेबाट महत्वपूर्ण चाडवाडहरू सुरु हुने मानिन्छ । साउने सक्रान्तिलाई कर्कट सक्रान्ति पनि भनिन्छ । श्रावण सक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा गर्ने भएकोले यस दिनलाई दक्षिणायन भनिन्छ । यो दक्षिणायनको धार्मिक महत्व छ ।

यसै सिलसिलामा श्रावण महिना शिवलिंगमा जल तथा बेलपुष्प चढाए महादेव प्रशन्न हुने मान्यता छ । श्रावण महिना बोलबमको पनि ठूलो महत्व छ । शिवलिंगमा जल चढाउन पहेंलो कपडाधारी खालीखुट्टा जल लिएर बोलबम भनी धरानको पिण्डेश्वर, काठमाडौंको पशुपतिनाथ, बागद्वार, महोत्तरीको सोनामाइँथान, सिद्धानाथ, सिरहाको कमलामाई दोभान, चितवनको देवघाट, मुक्तिनाथ, स्वर्गद्वारी क्षेत्रलगायत देशभरि नै शिवभक्तको भीड लाग्ने गर्दछ ।

विशेषगरी श्रावण १ गतेबाट महत्वपूर्ण चाडवाड सुरु हुने मानिन्छ । साउने सक्रान्तिलाई कर्कट सक्रान्ति पनि भनिन्छ । श्रावण सक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिन्छ । यो दक्षिणायनको धार्मिक महत्व छ । यो महिना वैदिक सनातन हिन्दु धर्मावलम्बीको पवित्र महिना मानिन्छ । त्यसमा पनि हरेक सोमबारको विशेष महत्व छ । विशेषगरी श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हातगोडामा मेहेन्दीको बुट्टा लगाएर देवको पनि महादेवको मन्दिरमा जल, भाङ, धतुरो तथा वेलीपुष्प चडाउने विशेष संस्कृति छ । यस्तो गरेपछि सुस्वास्थ तथा विवाह नभएका महिलाले पार्वतीले महादेव पति पाउनुभएको थियो, त्यस्तै पति पाउने धार्मिक विश्वास छ ।

जीवन र जगतका संहारकर्ता अधिपति देवका पनि देव महादेवको पूरा आराधना गरी उल्लिखित पर्व मनाउनमा सत्यम, शिवम् र सुन्दरमको भाव अन्तरनिहित भएको पाइन्छ । बाहिरी आवरणमात्र होइन भित्री मन र विचार पनि शुद्ध वा सुन्दर हुनुपर्दछ । मानव शव होइनन् शिवम् हुनुपर्दछ । त्यसैले सत्यम, शिवम् र सुन्दरमको भाव जागृत हुनु उत्तम हो । घरभित्र मात्र नभएर घरबाहिर सुन्दर व्यवहार प्रदर्शन गरी हामी सबैले अगाडि बढ्नुपर्दछ । नारी शक्तिलाई कम र तुच्छ ठान्न नहुने संकेत गर्दै उनीहरूको हरेक व्यवहारमा सत्यता र सुन्दरताले भरिएको हुन्छ । हामी सबैलाई मूल्य मान्यता र संस्कारभित्र रहन यस पर्वले निर्देशन गर्दछ । धार्मिक एवं वैज्ञानिक दृष्टिमा व्रत बस्दा फाइदा हुन्छ ।
साउने सक्रान्तिको दिन हिन्दु परम्परानुसार लुतो फ्याक्ने विशेष संस्कृति छ । सो समय गर्मी र वर्षाको महिना र खेतीमा व्यस्त हुने समय भएकाले सोको प्रभावबाट चर्म तथा छालासम्बन्धी रोग जस्तै लुतो, दाग, घमौरा, खटिरा आउन सक्ने भएकाले साउने सक्रान्तिको दिन राम्रोसँग स्नान गरी बेलुकापख सबै परिवार जम्मा भई विशेष पूजासामग्री कुकुरडाइनो, कुरिलो, मकरकाँची, गुहृयसरो, पानीसरो आदि आयुर्वेदिक औषधि वनस्पति तयार पारी हरियो मकै अग्नि खडा गरी चढाई सबैले खाई लुतो फ्याक्ने प्रचलन छ । त्यस्तै श्रावण महिनाको शुक्लपक्षको पञ्चमी तिथिको दिन थारु समुदायले गुरिया पर्व मनाउने गरको पाइन्छ । त्यस्तै अन्य जातजातिले श्रावण महिनामा आफ्नो संस्कृति अनुसार विभिन्न पर्व मनाउने गरेको पाइन्छ । (अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुनुहुन्छ ।) adhikariphd@yahoo.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?