बडादशैँको सामाजिक पक्ष र यसका अन्तर्वस्तु

Read Time = 20 mins

✍️ गणेश सुवेदी

नेपालीहरूको घरआँगनमा महान् चाड बडादशैँको रौनक भित्रिइसकेको छ । शारदीय जूनको आगमनसँगै भित्रिएको बडादशैँ विशेषगरी शक्तिको पूजा, आराधना र आशीर्वादसँग जोडिएको छ । औंशी तिथिमा सोह्रश्राद्ध वा पितृपक्षको विसर्जन गरेलगत्तै भोलिपल्ट अर्थात् प्रतिपदा तिथिको दिन घटस्थापना गरेपछि बडादशैंको सुरुवात हुन्छ र कोजाग्रत पूर्णिमाको दिनसम्म हामी बडादशैं मनाउने गर्दछौं । विशेषगरी असत्यमाथि सत्यको विजय, नकारात्मकतामाथि सकारात्मकताको विजय अर्थात् आसुरी शक्तिमाथि दैवीशक्तिको विजय भएको उल्लासका रूपमा यस पर्वलाई लिने गरिन्छ ।

माता दुर्गाभवानीले शुम्भ, निशुम्भलगायतका असुरहरूको संहार गरी चराचर जगत्लाई संरक्षण गरेको उपलक्ष्यमा यो चाड मनाउने प्रचलन रहिआएको मान्यता छ भने अर्कोतर्फ भगवान् श्रीराम १४ वर्ष वनवासमा रहँदाको अवस्थामा राक्षसी पुत्र रावणले सीतामातालाई हरण गरी लंका पुर्‍याएको र वानर सेनाको सहयोगमा भगवान् रामले रावणलाई तेजोबध गरी मृत्युवरणमा पुर्‍याएको उपलक्ष्यमा पनि बडादशैं मनाउँदै आएको जनश्रुति छ । कथा वा जनश्रुति जेसुकै भएता पनि असत्यमाथि सत्यको विजय र आसुरीभावबाट मुक्ति हुने प्रसंग नै बडादशैंको मूलभाव हो ।

के हिन्दू, के मुस्लिम, के इशाई समस्त मानवजातिको संस्कार र सभ्यता नै हो यो । ठूलाबडाबाट आशीर्वाद लिनु, प्रसाद ग्रहण गर्नु, पूजा गर्नु, झुक्नु, ढोग्नु, मानव सभ्यता नै हो । त्यही प्रयोजनार्थ मनाइने चाड बडादशैंको यो स्वर्णिम अवसरमा सम्पूर्ण मानवजातिलाई नै आकर्षित गर्न नसक्नु हाम्रो कमजोरी हो ।

हाम्रो समाजमा बडादशैंलाई राम्रो लाउने तथा मिठो खाने चाडका रूपमा समेत लिइन्छ । पहिला-पहिला ग्रामीण जनजीवनमा नयाँ कपडा लगाउन पाउने भनेकै बडादशैंमा हो । वर्ष दिनमा एकपटक बडो उत्साहका साथ आँगनमा दर्जीदाइलाई राखेर उनैले घेरेर सिलाएको लुगा लगाएर दशैं मनाएको स्मृति अधिकांश हिन्दू धर्मावलम्बी नेपालीहरूलाई तरोताजा नै छ । शरीरमा नयाँ लुगा, निधारमा दही, अबिर वा रातो रङ मिश्रित टीका, शिरमा जमरा, थालमा मिष्ठान्न भोजन नै बडादशैंको रोचक पक्ष हो । धनाढ्यहरूको घरमा चौरासी व्यञ्जन जहिले पनि पाक्ला तर दशैंको अवसरमा सबैको घरमा गच्छेअनुसारको भोजनको व्यवस्था त हुन्छ नै ।

बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन देवीको प्रतीक स्वरूप खड्ग तथा घडा स्थापना गरी माता दुर्गाभवानीको पूजाआराधना गरिन्छ र घटस्थापनाको दिनमा जौ वा मकैलाई देवीको पूजा गरिएको स्थानमा उमार्नका लागि माटो राखेर छरिन्छ र त्यहीं उम्रिएको जमरालाई दशैंमा प्रसादस्वरूप लगाइन्छ । यसरी पहिलो दिनदेखि नवौं दिनसम्म वा महानवमीको दिनसम्म दुर्गाभवानीका नौवटा स्वरूपको स्मरण गरी बडो आस्थाका साथ पूजाआराधना गरिन्छ । यी नौ दिनहरूमध्ये पनि सातौं, आठौं तथा नवौं दिनलाई क्रमशः महासप्तमी वा फूलपाती, महाअष्टमी तथा महानवमी भनेर विशेषरूपमा पूजाआराधना गरेर मनाइन्छ । यी नौ दिनसम्म अर्थात् नवरात्रको समयभरि हिन्दू धर्मावलम्बी नेपालीहरू दुर्गाभवानी वा देवी मन्दिरमा गई दर्शन गर्ने तथा पूजाअर्चना गर्दछन् । त्यसैले यस समयमा अधिराज्यभरका अधिकांश देवी मन्दिर तथा शक्तिपीठहरूमा दर्शन गर्नेको ठूलो घुइँचो लाग्दछ । यसरी नौ दिनसम्म देवी स्थापना गरी गरिएको पूजाअर्चनालाई दशौं दिनमा समापन वा विसर्जन गरिन्छ र त्यही पूजाको प्रसादस्वरूप टीका तथा जमरा ठूलाबडाको हातबाट लगाइन्छ । टीका शुभ समयमा वा विशेष साइतको समयमा लगाइन्छ र यो साइत जुराउने वा निकाल्ने काम ब्राहृमण तथा ज्योतिषीहरूद्वारा गरिएको हुन्छ ।

नवरात्रको समयावधिभर धार्मिक आस्था राख्ने व्यक्तिहरूले विभिन्न देवकार्य गरी वर्षभरिका लागि शक्ति सञ्चय गर्ने गर्दछन् । त्यसैले यस चाडलाई शक्ति पूजाका रूपमा समेत लिइन्छ । हामीले विशेषगरी बडादशैं र चैते दशैं मनाउँदै आएका छौं । तर, वास्तवमा वर्ष दिनमा चारवटा नवरात्र पर्ने गर्दछ । चैत, असार, असोज तथा माघ महिनामा नौरथा वा नवरात्र पर्ने गर्दछ । तिथिमिति कहिलेकाहीं तलमाथि पर्न गएमा यो अर्को महिनामा पर्ने गर्दछ । धर्मवेत्ताहरू यी चारैवटा नवरात्रिमा गरिने व्रत, पूजा, आराधनाबाट समान शक्ति प्राप्त हुने विश्वास गर्दछन् । तर, हाम्रो प्रचलनमा चैते दशैं र बडादशैं भनेर दुईवटा दशैंलाई मान्ने प्रचलन रहिआएको छ । अझ चैते दशैंलाई सानो दशैं र बडादशैंलाई ठूलो दशैंका रूपमा लिइन्छ । धार्मिक अनुष्ठानका रूपमा पनि बडादशैंलाई विशेष महत्व दिइएको छ । चैते दशैंलाई प्रसाद तथा आशीर्वाद ग्रहणका रूपमा भन्दा पनि खाने-पिउने चाडका रूपमा लिइन्छ ।

जसरी अहिले आश्विन शुक्लपक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्मको पूरै पन्ध्र दिन बडादशैं मनाउने चलन छ । त्यस्तैगरी प्राचीन समयमा चैत्र शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिनलाई विशेषरूपमा बडादशैं मनाउने प्रचलन थियो । चैत महिना विशेषगरी चिसो मौसमबाट गर्मी मौसमको सुरुवातको समय, मौसममा आएको परिवर्तनले मानिसहरू अनेक प्रकारका रोगव्याधीबाट ग्रसित हुने, सोही समयमा खेतीपातीमा सरिक हुनुपर्ने, अत्यन्त व्यस्त समय भएकाले यस समयमा धार्मिक अनुष्ठानबाट प्राप्त हुने शक्ति सञ्चय गर्ने उचित अवसर नमिल्ने भएकाले धर्मवेत्ताहरूको प्रस्तावअनुसार शरद ऋतुको समयलाई उपयुक्त मानी आश्विन महिनामा बडादशैं मनाउने परम्पराको सुरुवात गरिएको र सोहीअनुरूप बडादशैं मान्दै आएको कथन छ । यो समय कृषकहरूले आफ्नो बाली थन्काएर आनन्दले चाड मनाउन सक्दछन् । त्यसैगरी यो समय ऋतु परिवर्तनको समय पनि हो अर्थात् वर्षा ऋतुबाट शरद ऋतु प्रवेशको समय पनि हो । चर्काे घाम र मुसलधारे वर्षाको समाप्तिसँगै शीतलता प्रविष्ट हुने समय भएकाले पनि असोज महिनामा मनाइने बडादशैं अझै विशेष बनेको हो । यही प्रसंगमा कविशिरोमणि लेखनाथ पौड्यालले कविता लेख्नुभएकै छ नि ‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्द र हर्ष ।’

बडादशैंलाई हामीले विशेषगरी हिन्दू धर्मावलम्बीहरूको अत्यन्त महत्वपूर्ण चाडका रूपमा लिने गर्दछौं । त्यो हाम्रो धार्मिक समुदायको मान्यता हुनसक्छ तर समग्र मानवजातिका लागि यो चाड उत्तिकै महत्वपूर्ण रहेको छ । किनकि शक्ति सञ्चय र ऊर्जा जागृत गर्ने अवसर सम्पूर्ण मानवजातिले प्राप्त गर्नुपर्दछ । अन्य धर्मावलम्बीहरूलाई पनि शक्ति र ऊर्जाकै आवश्यकता पर्दछ । ठूलाबडाको आशीर्वाद प्राप्त गर्ने भएकाले पनि यसलाई बडादशैं भनिएको हो । के हिन्दू, के मुस्लिम, के इशाई समस्त मानवजातिको संस्कार र सभ्यता नै हो यो ।

ठूलाबडाबाट आशीर्वाद लिनु, प्रसाद ग्रहण गर्नु, पूजा गर्नु, झुक्नु, ढोग्नु, मानव सभ्यता नै हो । त्यही प्रयोजनार्थ मनाइने चाड बडादशैंको यो स्वर्णिम अवसरमा सम्पूर्ण मानवजातिलाई नै आकर्षित गर्न नसक्नु हाम्रो कमजोरी पनि हुनसक्छ । यसतर्फ हामी सबैको ध्यान जान जरुरी छ । अझ अर्को कुरा बडादशैं धार्मिक आस्था र अनुष्ठानको चाडमात्र नभई मेलमिलापको चाड पनि हो । वर्षभरि या वर्षौंसम्म परदेशमा रहेका आफ्ना सन्तानहरू वा आफन्तजनहरू फर्कने दिन पनि हो । घर-घरमा आर्थिक समृद्धिसँगै खुशी फर्कने दिन पनि हो । वर्षौंदेखि बिछोडिएको परिवारको मिलन हुने दिन हो । यसका साथै घरधन्दा तथा जिम्मेवारीबाट एकआपसमा बढेको तिक्तता र बिग्रिएको सम्बन्धलाई पुनर्ताजगी बनाउने अवसर पनि हो । यसकारणले पनि यो चाड सबै जाति तथा धर्म मान्ने व्यक्तिहरूका लागि पनि महत्वपूर्ण चाड बन्न सक्नुपर्दछ । यस सम्बन्धमा हामी सबैको ध्यान आकृष्ट भई यसतर्फ सबैलाई आकर्षित गर्न सक्नुपर्दछ । यो चाडलाई सबैको साझा चाडका रूपमा मनाउनका लागि हामीले हाम्रो मन तथा मस्तिष्कलाई ठूलो पार्न सक्नुपर्दछ ।

चाडको रमझमसँगै अहिलेको व्यस्त समयले गर्दा दशैंको गरिमालाई अपव्याख्या गर्दै लाने हो कि भन्ने डर पनि पैदा भएको छ । अहिलेका मानिसहरूको मनमा धर्म, आस्था, सम्मान, समर्पणभन्दा पनि व्यक्तिगत लाभहानीले नै प्रश्रय पाइरहेको अवस्था छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा मानिस एकाग्र हुनु, एकलकाँटे हुनु स्वाभाविक हो तर सामाजिक मूल्य, मान्यता, संस्कार, परम्परा, सभ्यता, संस्कृति, चाडपर्व र आफ्नो जिम्मेवारीप्रति बोध नहुनु भनेको चाहिँ यसको प्रतिष्ठाप्रति विश्वास हराउँदै जानु हो । हामीले अहिलेको पुस्तालाई यसको महिमा तथा गरिमाका बारेमा बुझाउन नसक्नु भनेको हाम्रो कमजोरी हो । हाम्रो पुस्तासम्म चाडपर्व, रीतिरिवाज र चालचलनका सन्दर्भमा हामी सचेत छौं तर हामीले आगामी पुस्तालाई यसको महत्वबारे बुझाउन वा आगामी पुस्तामा सार्न सकेका छैनौं ।

त्यसैले यो विषय हाम्रो पुस्ताको प्रमुख चुनौती नै बनेको छ । त्यसैले हामीले यसको गरिमालाई बुझाउन ढिला गर्‍यौं भने आत्मीयता र जिम्मेवारी भन्ने शब्दहरू केवल शब्दकोशमा नै सीमित रहनेछन् । अहिले मानिसहरू कालापहाड होस् या खाडी मुलुक अथवा स्वदेशकै अनेकौं स्थानमा रोजगारीका लागि पुगेका भए तापनि उनीहरू दशैं र तिहारजस्ता हाम्रा ठूला चाडपर्वमा घर फर्कने चलन छ । यो भनेको चाडको महत्व र घरपरिवारप्रतिको जिम्मेवारी बोधले गर्दा भएको हो । तर, पछिल्लो पुस्ताले अध्ययनको चापमा, होमवर्क र ट्युसन तथा एक्स्ट्रा क्लासको चापमा चाडपर्व त के नातासम्बन्धको गहिराइसमेत बुझ्न सकेका छैनन् । झन् पछिल्लो समयमा भएको प्रविधिको विकास र सामाजिक सञ्जालको आगमनले मानिसलाई आत्मकेन्द्रित बनाउँदै लगेको छ । प्लस टु वा स्नातकपछि अध्ययनका लागि विदेश जाने लहरले उनीहरूलाई स्वार्थी बनाउँदै लगेको छ । बालबच्चासँगै अभिभावकहरू पनि आफ्ना सन्ततिहरूलाई विदेश पठाउन बाध्य भएका छन् ।

यस्तो अवस्था र दबाबमा विदेशिएका सन्ततिहरूले हाम्रा चाडपर्वहरूलाई कसरी बुझ्लान ? हाम्रो आत्मीयता र हामीले निर्वाह गरेको जिम्मेवारीलाई कसरी बुझ्छन् ? यो कुरा हामीले हाम्रा सन्ततिलाई बुझाउन सकेनौं भने उनीहरूले पठाएको डलर हेर्दै चित्त बुझाउनुपर्ने अवस्था रहन्छ । त्यो बेला हाम्रा चाडपर्वहरू, हामीभित्रको आत्मीयता, आशा र भरोसा सबै गर्लम्मै ढल्नेछन् । वास्तवमा संस्कृति, सभ्यता, रीतिरिवाज, चाडबाड, चालचलन, भाषाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने हो । नेपालले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा फड्को मारे पनि राजनेताहरू व्यापारीजस्तो बनिनुले न त हाम्रा मौलिक संस्कृतिहरूको जर्गेना हुन्छ, न त यिनको प्रवद्र्धन नै तर जनता र जिम्मेवार नागरिक हुनुको नाताले नागरिकस्तरमै यस्तो खालको चेतना युवापुस्तामा पुर्‍याउनु हाम्रो पनि दायित्व हो ।

चाडको रमझमसँगै अहिलेको व्यस्त समयले गर्दा दशैंको गरिमालाई अपव्याख्या गर्दै लाने हो कि भन्ने डर पनि पैदा भएको छ । अहिलेका मानिसहरूको मनमा धर्म, आस्था, सम्मान, समर्पणभन्दा पनि व्यक्तिगत लाभहानीले नै प्रश्रय पाइरहेको अवस्था छ ।

प्रसंग बडादशैंको नै छ, राजधानी काठमाडौं रंगिनुको साटो रन्थनिएको छ । सधैं व्यस्त काठमाडौं मानिसहरूको चहलपहलले अस्तव्यस्त छ, अन्योलग्रस्त छ, अव्यवस्थित छ । कालोबजारीहरू खुलेआम मूल्यवृद्धि गरेर जनता लुटिरहेका छन् । उपभोत्ताहरूका तर्फबाट बोलिदिने कोही छैन । सरकार आसन्न प्रदेश र संघीय निर्वाचनको दौडधुपमा र आफ्ना धुपौरेहरूको व्यवस्थापनमै व्यस्त छ । राजनीतिक दलहरू आफ्नो गठबन्धन कसरी बलियो बनाउने भन्ने ध्याउन्नमै छन् । जनताको सरोकार राख्ने फुर्सद तथा होस कसैलाई छैन । न त उनीहरू जिम्मेवारी निर्वाह गर्ने ल्याकत नै राख्छन् । तर, के गर्नु आगामी मंसिरमा यस्ता गैरजिम्मेवार दल र नेतृत्वलाई पुनः मतदान गर्नुपर्ने बाध्यता नेपाली मतदाताहरूलाई छ । कोरोना भाइरस (कोभिड-१९) को दुईवर्षे संक्रमणबाट उठेर पूर्णरूपमा खुट्टा टेक्न पाउँदा नपाउँदै पनि त्यस अवस्थालाई जसैतसै व्यवस्थापन गर्दै बडादशैं मनाउनुपर्ने बाध्यतामा जनताहरू रहेको परिस्थितिमा सहानुभूति कतैबाट मिलिरहेको छैन । झन् काठमाडौं भित्रिएको डेंगुको त्रासले मानिसहरू तराई जान वा भनौं घर जान समेत डराइरहेको अवस्था छ । वास्तवमा मुलुकमा सरकार रहे पनि जनताहरू सरकारविहीन जस्तो अवस्थामा संघर्ष गरिरहेका छन् ।

वास्तवमा यो जटिल समयमा संयमित भएर अनिवार्य वस्तु खरिद गर्नु बुद्धिमानी हुन्छ । हरेक ठाउँ जाँदा सचेतना अपनाउनुपर्ने अवस्था छ । हुने क्षति र दुर्घटनाको जिम्मेवारी स्वयंले लिनुपर्ने हुँदा पछि पछुताउनुभन्दा अगाडि नै सचेत रहनु नै बुद्धिमानी हुन्छ । अरूको देखासिकी गर्नु मान्छेको स्वभाव र आचरण पनि हो तर अवस्था हेरी व्यवस्था गर्नुपर्दछ भन्ने बुढापाकाको भनाइलाई मध्यनजर गरी आफ्नो गच्छेअनुसार चाडपर्व मनाउनु नै सचेत नागरिकको कर्तव्य पनि हो । वास्तवमा चाडपर्व उल्लासपूर्ण तवरमा मनाउनु नै पर्दछ । किनकि पर्वले आत्मीयतालाई दुई गुना र सम्बन्धलाई चार गुना बढी मजबुत बनाउँदछ । बडादशैं अग्रज र अनुजको सम्बन्धलाई मजबुत बनाउने मियो पनि हो । हजुरबुबा, हजुरआमा, बाबाआमा, काकाकाकी, ठूलोबुबा, ठूलीआमा तथा मामा घरपरिवार आदिको सान्निध्यतामा रहेर चाडपर्व मनाउने अवसर पाउनु पनि एउटा सौभाग्यको कुरा हो । त्यसैले यो बेला आफन्तको आगमन हुने तथा आफन्तकहाँ जाने प्रचलन छ, जसले सम्बन्धलाई पुनर्ताजगी बनाउँदछ । त्यसैले बडादशैंको आफ्नै विशेषता र विशिष्टता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?