म्याग्दीमा दुई सय ३८ मेगावाटका १३ आयोजना

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा दुई सय ३८.२३ मेगावाटका १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको चरणमा रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सबस्टेसन बनाउन थालेपछि जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेका हुन् ।

प्राधिकरणले मालिका गाउँपालिका-७ मा एक सय ३२ केभी क्षमताको सबस्टेसन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ । डाँडाखेत सबस्टेसन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन् । सन् २०२४ भित्र डाँडाखेत सबस्टेसन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्री खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्री खोलाको पहरामा अड्किएको सडक निर्माण कार्य धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो । शिवरात्री खोलामा मार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो । विभागका अनुसार हाइड्रो इम्पायर प्रालि काठमाडौंले धवलागिरि–४ मा ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।

आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युत्गृह निर्माणको काम थालिएको बताउनुभयो । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माणको अनुमति पाएका छन् । ५३ मेगावाटको अपर म्याग्दी पहिलो, १४.७० मेगावाटको मुदीखोला र ५७. ३० मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।

म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालि र ऊर्जा डेभलपर्सबीच गत वर्ष लगानी सम्झौता भएको थियो । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि-४ मा दोर्दीखोला जलविद्युत् कम्पनीले जिम्मा लिएको २३.७० मेगावाटको म्याग्दीखोला ‘ए’ र धवलागिरि-१ गुर्जामा १५ मेगावाट धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।

एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि-४ मा १४.७० मेगावाटको मुदीखोला निर्माणको अनुमति पाएको छ । सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाटको कुनवान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ । दरखोला हाइड्रोपावर लिमिटेडले ६.५ मेगावाट दरखोला साना जलविद्युत् आयोजना, सिम्कोस हाइड्रोपावर लिमिटेडले धवलागिरि-४ मा ३.४५ मेगावाट सिम्कोस जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले धवलागिरि-४ मुदीमा १२. ७३ मेगावाटको अपर मुदी, सुसमित इनर्जीले धवलागिरि-४ मुदीमा ९.५ मेगावाट म्याग्दीखोला ‘बी’ जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् ।

त्यस्तै, प्रकाश जोशीले धवलागिरि गाउँपालिकाको मुदीमा ४.६ मेगावाट तिरिजा खोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिनुभएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिने, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुग्ने, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्वुजाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?