रारामा राज्यको लगानी बालुवामा पानी

‘पर्यटक भूस्वर्ग पुग्छन्, पीडा भोगेर फर्कन्छन्’

हिमालय टाइम्स
Read Time = 10 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । प्रायजसो स्थानीयहरूको मुखबाट सुन्न पाइन्छ कि रारामा पर्यटकहरू थोरै मात्र आउने गरेका छन् । सोचेजस्तो पर्यटकहरू रारा घुम्नै आउँदैनन् । हुन त रारामा राम्रा होटेल नै छैनन् । रारा पुग्न गतिलो सडक छैन । आएका पर्यटकहरूको बसाई लम्ब्याउने कुनै विकास संरचना बनाइएको छैन, रारा सुन्दर भएर के गर्ने ? यस्तै प्रकारको चर्चा राराको बारे सुन्न सकिन्छ । यो कुरा चर्चा मात्र नभएर यथार्थ र वास्तविक राराको कुरा हो । हिउँदमा हिउँले गमक्क ढाकिने र वर्षामा रंंगीबिरंगी फूलले छपक्क छोपिने धर्तीको भूस्वर्गको रूपमा परिचित रारा क्षेत्रलाई २०३२ सालमा जैविक विविधताको संरक्षण गरी राराको प्राकृतिक वातावरणलाई संरक्षण गरी प्राकृतिक सुन्दरता जस्ताको तस्तै राख्ने उद्देश्यका साथ तत्कालीन श्री ५ को सरकारले रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । निकुञ्ज स्थापनापछि रारा ताल छेउमा रहेको छाप्रु गाउँका बासिन्दाहरूलाई २०३५ सालमा बाँके जिल्लाको चिसापानीमा सारियो ।

निकुञ्ज स्थापना भएपछि बाध्यात्मक स्थितिमा साना लालाबाला काखीमा च्यापेर पिठ्युँमा भारी बोकेर घर, सरसामान त्यतिकै छोडी रुँदै रुँदै आफ्नो वर्षौंदेखि भोग गर्दै आएको थातथलो छोड्न बाध्य पारियो । यसको पिडा कस्तो होला भोग्नेलाई थाहा हुन्छ । यसो गर्नको मूल उद्देश्य नै जैविक विविधताको संरक्षण गरी भविष्यमा पर्यटनको विकास गर्नु थियो । स्थानीयको उठिबास गरी स्थापना गरिएको राराक्षेत्रमा वर्षौंसम्म विकासले गति लिन सकेन । समयसापेक्ष नेपालमा शासन व्यवस्था फेरिए तर राराको विकासमा कुनै किसिमको ठोस नीति बनेन । लाग्छ राराको अस्मितासँग खेल्ने धेरै आए र अहिलेसम्म पनि खेलिरहेका छन् ।

विश्वका केही देशहरूमा कृत्रिम रूपमा तयार पारिएका पर्यटकीय पूर्वाधारबाट विश्वभरिका पर्यटकहरू आक्रोशित गरेर समृद्धितिर लम्केका मुलुकहरू पनि धेरै छन् । तर, कर्णाली प्रदेशअन्तर्गत पर्ने मुगु जिल्ला छायानाथ रारा नगरपालिका-९ मा अवस्थित प्राकृतिक रूपमा सजिसजाउ स्वर्गकी अप्सरा अनि भूस्वर्ग उपनामले चिनिने नेपालकै सबैभन्दा ठूलो र गहिरो अनि चारैतिर हरियाली जंगलले घेरिएको बीचमा स्वर्गको एक टुक्रा जस्तै देखिने हाम्रो देशको प्राकृतिक सम्पत्ति राराको पर्यटन विकास भरपर्दो रूपमा नहुँदा मुगु मात्र नभएर राज्यले बर्सेनि आर्थिक क्षति बेहोर्नु परेको छ । पर्यटन व्यवसायलाई आर्थिक विकासको मेरुदण्डको रूपमा लिन सकिन्छ तर राज्यको उदासीनताले पर्यटन विकासमा सही गति लिन सकेको छैन ।

पर्यापर्यटकीय सम्भावना हुँदाहुदै पनि रारामा पर्यटन प्रर्वद्धन नहुनु विडम्बना मान्न सकिन्छ । पर्यटन विकासको मुख्य आधारशिला भनेकै सडक सञ्जाल हो । तर, कर्णालीका बासिन्दाको लाइफ लाइनको रूपमा रहेको कर्णाली राजमार्गको अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । दिनै तथा महिनैपिच्छे हुने सडक दुर्घटनाले यस राजमार्गलाई मानिसहरू कालमार्गका रूपमा चिन्ने गर्दछन् । सुर्खेतदेखि कालीकोटको नाग्म बजारसम्म मात्र कालोपत्रे भए पनि त्यहाँदेखि मुगुको गमगढीसम्मको ९४ किलोमिटर अहिलेसम्म कालोपत्रे हुन सकिरहेको छैन । वर्षाको समयमा हिलाम्मे सडकमा मुस्किलले मालबाहकलगायत अन्य साना सवारीसाधन चल्ने गरेका छन् । हवाई यातायाातको रूपमा रहेको मुगुको रारा विमानस्थलमा नियमित हवाई उडानसमेत हुँदैन । आएका केही पर्यटकहरू समयमा नै हवाई टिकट नपाएर एयरपोर्टमै अलपत्र परेका थुप्रै उदारण छन् ।

रारामा अहिलेसम्म व्यवस्थित होटेल पनि बन्न सकेका छैनन् । पाहुनाहरूलाई सहजै खान र बस्नका लागि सुविधासम्पन्न होटेल नहुँदा फाट्टफुट्ट रूपमा आएका पर्यटक भन्छन्- बाटोमा जति दुःख पीडा भए पनि रारा पुग्दा यहाँको सुन्दरताले सबै पीडा भुलिन्छ । दिनभर रारातालको सुन्दरतासँग मोहित हुँदा दिन बितेको थाहा नपाउने पाहुनाहरू बेलुका घाम डुब्ने बेला होटेलको खोजीमा जाँदा कोठा नपाउने भएपछि बेवारिसे जस्तै बनी दुई घण्टा ओरालो बाटो हिँडेर भोग प्यास र थकित मुद्रामा सदरमुकाम गमगढी बजार राति अबेर कोठा खोज्दै गरेका थुप्रै घट्ना छन् । रारामा रहँदा खानपिन र बासस्थानको उचित ब्यबस्था नहुँदा भोगेको पीडाले अब पुनः रारा कहिल्यै नआउने भन्न पछि पर्दैनन् पर्यटक ।

यो हामीले सुनेको तीतो यथार्थ हो । रारा तालभन्दा अलि बाहिर पश्चिम खत्याडतिर जाने बाटोमा पर्ने माझ घट्टमा र दक्षिण दिशातिर पर्ने रारा तालको मिलिचौरबाट आधा घण्टा पर सल्लेरीमा केही होटेल भए पनि ती होटेलहरू पनि त्यति व्यवस्थित छैनन् । न्यूनतम पूर्वाधारको विकासबिना पर्यटन विकासको परिकल्पनासमेत गर्न सकिँदैन । राज्यले राराको पर्यटन विकासमा करोडौँ लगानी गरिसकेको छ । तर, त्यसको प्रतिफल भने न्यून छ गुणस्तरहीन पूर्वाधार बन्दा सरकारको लगानी बालुवामा पानी हालेजस्तै भएको छ ।

कञ्चन नीलो आकाश जस्तै देखिने रारा दिनमा आफ्नो रंग बदल्छ । बिहानीको समयमा ताल स्थिर रहन्छ भने दिउँसो चल्ने हावाको बेगसँगै तरंगित हुँदा तालको वरिपरिको तटीय क्षेत्रमा पानी छालको मल्टा आउँदा सागर समुद्रजस्तो आभास दिलाउँछ । रारालाई पर्यटनको विकासमा सरकारले एउटा ठोस नीति पारित गरी पर्यटन प्रवद्र्धनका लागि चाहिने न्यूनतम मापदण्डहरूको पहिचान गरी रारा विकास परियोजनामार्फत सडक, बिजुली, सञ्चारका साथै सुविधासम्पन्न होटेलहरू र स्थानीय भेषभूषा सहितको संस्कृतिको विकासमा जोड दिन सकेमा रारा क्षेत्रमा पर्यटन विकास भई स्थानीय बासिन्दाका साथै राज्यले पनि लाभ लिन सकिने कुरामा दुई मत छैन ।

विभिन्न तहका सरकार र मन्त्रालयहरूबाट आउने विकासहरू राराको आवश्यकताभन्दा पनि विकास खाने योजनाका साथ आउने गरेका छन् यस्ता विकासलाई पनि निरुत्साही पार्न एकीकृत विकास गर्न रारा विकास प्राधिकरण वा परियोजनामार्फत सरकारले रारा विकासको काम अघि बढाउनुपर्छ । एकीकृत विकासको संरचना नहुँदा रारामा अहिले पहुँचवालाहरूले नामका विकास योजना ल्याएर गुपचुपमै सम्पन्न गरी आर्थिक लाभ लिँदै आएका छन् । रारा पुग्दा जताततै मचान, काठका साँघु, प्रतीक्षालय बनाइएका देखिन्छन् यी विकासका संरचना केही आवश्यकतामा बनेछन् भने अधिकांश बजेट कुम्लाउन बिना आवश्यकता बनाइएका जो कसैले पनि रारा पुग्दा भन्ने गर्दछन् । पछिल्लो समय राराताल वरिपरि साइक्लिङ रोड बनाउन कर्णाली प्रदेश सरकारले ४५ करोड बढीको लगानीसहित ठेक्का लगाए पनि यो काम कछुवा गतिमा भइरहेको छ । पुरानो अर्को ठेक्काको काम केही काम गरेर अलपत्र पारिएको छ ।

राराका नाममा आउने विकासबारे न स्थानीय सरकारले थाहा पाउँछ न स्थानीय प्रशासनले । कसैले थाहा नपाउने र भित्रभित्रै काम हुने भएकाले राज्यको राराका नाममा के कति लगानी भएको छ कसैले थाहा पाउँदैन र विकास खानेहरूका लागि रारा कमाइखाने गतिलो भाँडो भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?