‘कागजको मन्त्री’ : व्यङ्ग्यात्मक लघुकथा सङ्ग्रह

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ प्राडा. भूपप्रसाद धमला
नववर्ष २०८० को प्रारम्भमै भुँडीपुराण प्रकाशनले ‘कागजको मन्त्री’ शीर्षकको लघुकथा प्रकाशन गरी नेपाली आख्यान साहित्याकाशमा एक अमूल्य कृति थपेको छ । साहित्यिक कृतिको प्रकाशन कम हुँदै गएको परिस्थितिमा निरन्तर रूपमा साहित्यिक कृति लेखन तथा प्रकाशनमा लागिरहने लेखक र प्रकाशकको साहित्यिक योगदान निश्चय नै सराहनीय छ । बेलायतमा रहेर पनि आख्यानकार कृष्ण बजगाईंले नेपाली परिवेशलाई समेट्दै नेपालबाटै कृति प्रकाशन गरेर आख्यानकार नेपाली वाङमयलाई गुन लगाउनु भएको छ । लघुकथा लेखनमा चर्चित बजगाईं नियात्रा साहित्य पनि लेख्न रुचाउनु हुन्छ । काव्यमा समेत कलम चलाउने बजगाईंका कथाहरू नेपाली विद्यालयका पाठ्यपुस्तकमा समावेश गरिएका छन् । यसबाट उहाँको आख्यान साहित्यमा प्रसिद्धि झल्किन्छ ।

प्रस्तुत ‘कागजको मन्त्री’ शीर्षकको ग्रन्थ बजगाईंले लेखेका ५२ वटा लघुकथाहरूको सङ्ग्रह हो । समग्र रूपमा हेर्दा यस लघुकथा सङ्ग्रहमा उठाइएका विषयवस्तु र सवालहरू सर्वव्यापी र सर्वकालिक नै छन् । तर, विशेष गरी यी कथाले मूलतः समकालिक नेपाली राजनीति र समाजको चरित्र चित्रण गरेको प्रतित हुन्छ । पुस्तकको पहिलो कथा ‘कागजको मन्त्री’ले यो समीक्षा लेखकलाई प्रसिद्ध बेलायती साहित्यकार जर्ज बर्नार्ड शले लेखेको ‘पिग्मेलियन’ शीर्षकको नाटकको सम्झना गरायो । प्राचीन मिथकमा आधारित त्यस नाटकमा चित्रित गरिएको पात्र पिग्मेलियन एउटा यस्तो प्रस्तर कालिगढ थियो जसले नारी जातिप्रतिको अविश्वासमा जीवनभर ब्रहृमचारी रहने प्रण गरेको थियो ।

प्रस्तरकलामा निपुण पिग्मेलियनले एकपटक एउटी सुन्दरी नारीको तस्वीर ढुङ्गामा कुँधेर बनाएको मूर्तिलाई एक टकले हे¥यो । तस्बिर यति जीवन्त थियो कि त्यही तस्वीरसँग अचानक उसको माया बस्यो । उसको प्रेम समर्पण देखेर प्राचीन ग्रिसेली मिथकमा वर्णित प्रेमकी देवी अफोर्डाइटले खुसी भएर ढुङ्गामा कुँधिएको मूर्तिलाई जीवित नारीमा परिणत गरिदिइन् । पिग्मेलियन खुसीले दङ्ग पर्दै अफोर्डाइटप्रति कृतज्ञ भयो । केही समयमा पिग्मेलियनको मन बदलियो । त्यसपछि ती सुन्दरी नारीसँग विवाह गरेर खुसीसाथ जीवन बितायो । यो घटना प्राचीन कालको थियो । यो कुरा आदर्शोन्मुख पनि थियो ।

पुस्तकका सबैजसो कथाहरूमा राजनीति भनेको झुठको खेती भन्ने आशय झल्किन्छ । सङ्ग्रहमा आजको राजनीति ढाँट, छलछाम, ढोंग, आडम्बर, ठगी, धोखाधढी इत्यादिको सजीव चित्र हो जस्तो देखाइएको छ । यस कथासङ्ग्रहमा वर्णित कथाहरूको मूल आशय सामाजिक विकृतिउपर परोक्ष प्रहार हो ।

आधुनिक कालको ‘कागजको मन्त्री’ कथामा भने नितान्त फरक परिवेशको चित्रण छ । त्यस कथाको चित्रकार कुशल थियो । उसलाई मास्टरपिस चित्र बनाउन मन थियो । उसले एउटा हिँडिहाल्ला जस्तो पूर्णकदको जीवन्त चित्र बनायो । चित्रकै मागबमोजिम चित्र कोर्दाकोर्दै एउटा मन्त्रीको चित्र बन्यो तर त्यो चित्र अत्यन्त महत्वाकाङ्क्षी, ढोंगी र कृतघ्न भएर निस्कियो । त्यस चित्रलाई अझ पूर्ण बनाउँदै गर्दा त्यस चित्रले आफ्नै सुन्दर चित्र बनाउने चित्रकारलाई घर निकाला गर्ने धम्की दियो । चित्रकारले डराएर अनायास त्यस सुन्दर चित्रमा कालो पोतिदियो । शायद यो चित्रकारिता एउटा सपना थियो ।

सपनाबाट झल्याँस्स ब्युँझदा बन्द गर्न बिर्सिएको टिभीमा मन्त्रीको शपथ ग्रहण भइरहेको थियो । जसको हाउभाउ र अनुहार चित्रकारले कालो पोतेको चित्रको मन्त्रीको अनुहारसँग दुरुस्त मिल्थ्यो । पुस्तकको केन्द्रीय आकर्षणको रूपमा रहेको यो पहिलो कथा विशेषगरी समकालिक नेपाली राजनीतिका खलपात्रको विचार व्यवहारप्रतिको तीक्ष्ण प्रहार हो ।

यसबाहेक अन्य कथाहरू राजनीतिक प्रकृतिका छन् । सङ्ग्रहको पाँचौं कथा ‘घृणा’ले पाठकलाई विचित्रको राजनीतितर्फ लैजान्छ । यस्तो राजनीति जहाँ कोही स्वन्तन्त्र र निष्पक्ष भएर बाँच्न पाउँदैन । यस्तो राजनीति जसले सेवाभाव होइन घृणालाई जन्म दिन्छ । समकालिक राजनीतिको यो अर्को विकृति हो । अर्को कथा ‘वादी’ले पनि राजनीतिमाथि व्यङ्ग्य प्रहार गर्छ । अझ अरू कथा ‘दलाल’, ‘किचेन क्याबिनेट’, ‘चुनाव’ ‘मुर्दा शान्ति’, ‘भ्रष्ट’, ‘पुतला’, ‘उद्योग’, ‘प्रतिनिधि’, ‘सेवा’, ‘सङ्कट’, ‘यात्रा’, ‘संक्रमण’, ‘निन्दा’, ‘हरियाली’, ‘ई-क्रान्ति’, ‘नाङ्गेझार’, ‘आत्महत्या’ ‘बन्धन’, ‘शोकतन्त्र’, ‘तीतो सत्य’ जस्ता कथाहरू समकालिक राजनीतिप्रतिको व्यङ्ग्य नै हुन् भन्न सकिन्छ ।
यी सबैजसो कथाहरूमा राजनीति भनेको झुठको खेती भन्ने आशय झल्किन्छ । यस सङ्ग्रहमा आजको राजनीति ढाँट, छलछाम, ढोंग, आडम्बर, ठगी, धोखाधढी इत्यादिको सजीव चित्र हो जस्तो देखाइएको छ । यस कथासङ्ग्रहमा वर्णित अरू बाँकी कथाहरूको मूल आशय सामाजिक विकृतिउपर परोक्ष पाराको प्रहार हो जस्तो प्रतीत हुन्छ । सङ्ग्रहको दोस्रो कथा पनि कागजकै बारेमा छ तर यस कथाले राजनीतिको मात्र होइन विकृत हुँदै गएको समकालीन समाजको पनि चरित्र चित्रण गर्छ । अझ भौतिक सुखसुविधातर्फ उन्मुख आधुनिक युगको कुरा गर्छ ।

आजको संसार नीति, सिद्धान्त र आदर्शमा सञ्चालित छैन । मानवीय भावना पनि हराएजस्तो छ । स्वदेश छोडेर विदेशिएका मानिसको जीवन तथा हरेक काम कुरा कागजमा चलेका छन् । विचार र व्यवहारलाई कागजले निर्देशित गर्छ । अर्को कथा ‘आमा’ पनि विदेशमा बस्ने प्रवासी नेपालीले मातृभूमिको संस्कृति बिर्सिएको देखाइएको छ । जन्म दिने आमालाई पनि उचित सम्मान नगरेको कारुणिक चित्र छ । चौथो कथा ‘सम्बन्ध’मा पनि आफ्नो र परिवारको जीवन धान्न विदेशिनु परेको मान्छेको दशा चित्रित छ । लोग्ने-स्वास्नीको सम्बन्ध शायद यही कारणले विकृत भएको छ ।

पुस्तकका कुनै कुनै कथाले बीसौं शताब्दीमा युरोपमा चर्चित विसङ्गतिवादको झल्को दिन्छन् । विशेषतःयी कथाहरूले उत्तर आधुनिकताले गाँजेको समाज व्यवस्थाको चित्रण गर्छन् । यसैगरी अबको समाज व्यवस्था चल्ने हो भने मानव जीवनकै भविष्य के होला भन्ने चिन्ता कथाकारलाई परेको छ ।

यस समूहमा पर्न सक्ने अन्य कथाहरू ‘शंका’, ‘इष्र्या‘ ‘भ्रम’, ‘परिवर्तन’, ‘सदृश’, ‘शिक्षा‘, ‘महँगी देवी’, ‘हतियार’, ‘गोजी’, ‘नवअवतार’, ‘दान’, ‘पैंचो, ‘हल्ला’, ‘लाज’, ‘पासो’, ‘गालीको सङ्कटं( इत्यादि हुन् । यी कथाहरूमा कथाकारले समकालीन समाजको चरित्र चित्रण सफलतापूर्वक गर्न सकेको देखिन्छ । समकालीन समाज यस्तो बन्यो जुन सुन्दर संसारतिर होइन कुरूप संसारतिर उन्मुख छ । यी कथाहरूमा चित्रित समाज यस्तो समाज हो जहाँ मानव जीवन नै उपहास बन्छ । कुनै कुनै कथाले त बीसौं शताब्दीमा युरोपमा चर्चित विसङ्गतिवादको झल्को पनि दिन्छन् । विशेषतः यी कथाहरूले उत्तर आधुनिकताले गाँजेको समाज व्यवस्थाको चित्रण गर्छन् । यसैगरी अबको समाज व्यवस्था चल्ने हो भने मानव जीवनकै भविष्य के होला भन्ने चिन्ता कथाकारलाई परेको छ जस्तो देखिन्छ ।

त्यसबाहेक यस कृतिमा मानवीय मनको सजीव चित्रण छ । ‘विस्मृति’, ‘भ्रम’, ‘नयाँ प्रेम’, ‘मूर्ख’, ‘दान’, ‘आशंका’, ‘प्रत्यभिज्ञा’ ‘संयोग’, ‘पखेटा’ ‘एकान्त’, ‘प्रतिच्छाया’जस्ता केही कथाहरू विक्षिप्त मनोविज्ञानका सजीव चित्र हुन् भन्न सकिन्छ । लेखकले कृतिको रचना गर्दा तीन प्रकारले काल्पनिक संसारको सिर्जना गर्छ-पहिलो, यथार्थभन्दा सुन्दर संसार, दोस्रो, यथार्थभन्दा कुरूप संसार र तेस्रो, जस्ताको तस्तै यार्थार्थ संसार । ती सबै खाले साहित्यको उद्देश्य एउटा हुन्छ त्यो हो परिवर्तन । यस कथा सङ्ग्रहमा आख्यानकार बजगाईंले पहिलो होइन झण्डै झण्डै दोस्रो र तेस्रो प्रकारको दोसाँधमा रहेर कथा रचना गरेको प्रतित हुन्छ ।

त्यसो त साहित्यिक कृतिहरूलाई माथि भनिए जस्तो कुनै पनि समूहमा विभाजन गर्नु भ्रामक हुन सक्छ किनभने कुनै पनि लेखक समालोचकले खडा गरिदिएको पर्खालभित्र रहेर लेखिरहँदैन मुस्किल पर्छ । सामन्यतया लेखक स्वछन्द हुन्छ । त्यसैले उसको लेखन आफ्नै खालको हुन्छ । यस अर्थमा यस समीक्षकको राजनीतिक, सामाजिक, र मनोवैज्ञानिक कथा भनेर गरिएको समूह विभाजन पनि पातलो छ । तथापि प्रत्येक समीक्षकले आफ्नो विश्वदृष्टिकोणबाट कृतिलाई हेर्ने र बुझ्ने गर्दछ ।

यस अर्थमा यो समीक्षा ग्राहृय होला भन्ने आशा गर्न सकिन्छ । जे होस् यी सबै कुरालाई सन्तुलित र कलात्मक ढङ्गले प्रस्तुत गर्नु बजगाईको वैशिष्ट्य हो । साधारण कुरालाई पनि रोचक ढङ्गले प्रस्तुत गरी पाठकको ध्यान खिच्न कथाकार सफल हुनुहुन्छ । यो ग्रन्थ ११२ पृष्ठको छ । यसमा ५२ वटा लघुकथा छन् । यस पुस्तकको मूल्य १९० रुपैयाँ राखिएको छ । कृतिका लागि लेखकलाई बधाई छ र अन्यकृतिहरूका लागि अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?