शिक्षितआमाहरु नै पूर्ण स्तनपानलाई झमेला ठान्छन्

कामकाजी आमाका शिशुलाई दूध चुसाउनै गाह्रो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पछिल्ला वर्षहरूमा शिक्षित र सहरिया आमाहरू नै स्तनपान गराउने मामिलामा उदासीन देखिन थालेका छन् । सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् ।

विशेषतः शिक्षित तर कामकाजमा व्यस्त आमाहरुले पूर्ण स्तनपान गराउन सकिरहेका छैन् । उनीहरु घरमा सानो बच्चा छाडेर कार्यालयमा काम गर्न जानुुपर्ने भएकाले पनि आफ्नो बच्चालाई नियमित स्तनपान गराउन नसकेका हुन् । विश्वभर स्तनपान दिवस मनाइरहँदा नेपालमा भने ५६ प्रतिशत महिलाले मात्रै ६ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउने सुविधान पाउने गरेको तथ्यांक पाइएको छ ।

रुपन्देहीको भैरहवामा कोठा भाडामा लिएर बस्दै आउनुभएकी कमला कार्की सरकारी जागिरे हुनुहुन्छ । उहाँले एक वर्ष अघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको थियो । छोरी जन्मिएको दुई÷तीन महिना त आफ्नै साथमा राखेर उहाँले दूध खुवाउनुभयो तर तीन महिनापछि भने परिवारको साथमा छोडेर अफिस जाने गर्न थाल्नुभयो । त्यो समयमा परिवारले बजारबाट लिएको भैसीको दूध ति शिशुलाई खुवाउने गरे । कमलाले भैसीको दूध खुवाउन थालेपछि भने आफ्नो दूध खुवाउन छोड्नुभयो । तानसेनकी मनिषा कुंवरले पनि आफ्नो छोरालाई ५ महिना पनि पूरै दूध खुवाउनुभएनन् । विद्यालय पढाउन जानुपर्ने भएकाले उहाँले छोरा जन्मिएको ४ महिनापछि बहिनीको साथमा छोडेर हिड्नुप¥यो । ‘विद्यालयबाट घर आउने समयको टुंगो नहुँदा छोरालाई पुरा समय आफ्नो दूध खुवाउन पाइन्, लामो समयपछि आफै सुक्दै गयो । चाहेजति दूध खान नपाएपछि छोराले आफै खान छोड्यो । ल्याक्टोजिन, डेरीको दूध, सेरलेक्स खाएरै छोरो हुर्कियो,’ उहाँले भन्नुभयो । आमाको दूध पर्याप्त खान नपाएकाले होला छोरोलाई सानै बिमारले पनि समाइ हाल्ने कुंवरले बताउनुभयो । कार्की र कुंवर मात्रै हैन कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउदैनन् । दिउँसो कार्यालयको काममा जाने आमाहरुका लागि बच्चालाई स्तनपान गराउन कठिनाइ हुने गरेको छ । महिला कर्मचारीले दुई महिना सुत्केरी विदा पाउने गरेका छन् तर, बच्चालाई ६ महिनाभन्दा बढी आमाको दूध नियमित चुसाउनुपर्ने डाक्टरहरुको सल्लाह छ । यस्तो अवस्थामा कार्यालयहरुमा ‘डे केयर सेन्टर’ स्थापना गर्न, धाई आमाको व्यवस्था गर्न र बेलाबखत महिला कर्मचारीले त्यहाँ गएर दूध चुसाउँदै कार्यालयको काम गर्न पाउने सुविधा उपलब्ध गराइनुपर्ने आवाज समेत उठ्ने गरेको छ ।

स्तनपान गराउने उद्देश्यले हरेक वर्ष अगस्ट पहिलो हप्ता स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्ष पनि साउन १६ गतेदेखि २२ गतेसम्म स्तनपान सप्ताह चलिरहको छ, तर शिक्षित आमाहरु नै स्तनपान गराउने विषयमा त्यत्ति जागरुक छैन् । बच्चा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने विज्ञहरू बताउँछन् । जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बढ्दो भएता पनि ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । ६ महिना अवधिसम्म सुत्केरी आमामध्ये ५६ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउँछन् भने ४४ प्रतिशत कृत्रिम दूध वा गाईभैंसीको दूध खुवाउँछन् ।

त्यस्तै, शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । आमाहरूले कामकाज गर्न घरमा बच्चा छोडेर जानुपर्ने बाध्यता छ । कतिपय आमाहरु स्तनपान गराउँदा सुन्दरता घट्ने भ्रममा पर्ने गरेका छन् । केही आमालाई स्तनपानको महत्व नै थाहा छैन । बजारमा पाइने बट्टाको दूध सजिलोसँग पाइन्छ भने किन दुःख गर्ने भन्ने सोचाइका कारण पनि धेरै शिक्षित आमाहरुले नै आफ्नो दूध खुवाउदैनन् । बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधमात्र खुवाइएका नानीहरु स्वस्थ, स्फूर्त र चलाख हुने कुरा चिकित्सा विज्ञानले पनि प्रमाणित गरिसकेको छ । शिशुलाई नियमित दूध खुवाउँदा आमाको सौन्दर्यमा कुनै ह्रास नआउने चिकित्सकहरु बताउँछन् ।

बच्चा जन्मेको जति सक्दो छिटो वा एक घण्टाभित्र स्तनपान गराउनु, पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरी कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि खुवाइराख्नु राम्रो मानिन्छ । आमाको दूध बच्चाका लागि अमृत समान हो । सुरुमा आउने बिगौती दूधमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ । यसले बच्चालाई झाडापखाला, श्वासप्रश्वास र अन्य संक्रमणबाट बचाउँछ । सजिलै पचाउन सक्ने आमाको दूधले शिशुको वृद्धि विकासमा ठूलो मद्दत पु¥याउँछ । पूर्ण स्तनपान गराएको बच्चाको बौद्धिक विकास पनि राम्रो हुन्छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?