औषधीय गुणले भरिपूर्ण जामुन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । जामुन जति स्वादिलो हुन्छ, त्यति नै यसका औषधीय गुणहरूले पनि यो पूर्ण रहेको पाइन्छ । यसलाई विभिन्न स्थानहरूमा विभिन्न नामले पनि चिन्ने गरिन्छ । जस्तै-राजमन, कालाजामुन, जमाली, ब्ल्याकबेरी आदि । यसको प्रकृति अम्लीय भए पनि यसको स्वाद मिठो हुन्छ । अम्लीय भएका कारण जामुनलाई नुनसँग खाने पनि गरिन्छ । जामुनमा ग्लुकोज र फ्रक्टोज पाइन्छ । यसमा खनिजको मात्रा पनि अधिक हुन्छ । यसको बिउमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम अधिक मात्रामा पाइनुका साथै आइरन, भिटामिन र फाइबर पाइन्छ ।

जामुनले शरीरको पाचनशक्तिलाई मजबुत गराउनुका साथै यसले पेटसम्बन्धी विकारलाई कम गर्दछ । डायबेटिजको उपचारका लागि जामुन धेरै नै उत्तम मानिन्छ । मधुमेहका रोगीले जामुनका दानालाई सुकाएर, पिसेर नियमित सेवन गर्ने हो भने सुगरको लेभल घट्ने गर्दछ ।
जामुनमा एन्टी क्यान्सरका गुण पनि पाइने बताइन्छ । केमोथेरापी र रेडिएसनमा पनि जामुन फाइदाजनक हुने गर्दछ । जामुनको पाकेको फल खानाले पथरीमा फाइदा पुग्दछ । जामुनको दानाको चूर्ण दहीसँग मिलाएर खानाले पथरीमा फाइदा पुग्दछ । लिवरका लागि जामुनको प्रयोग धेरै नै फाइदाजनक हुने गर्दछ । कब्जियत र पेटका रोगीका लागि जामुन फाइदाजनक रहेको बताइन्छ ।

त्यस्तै मुखभित्र देखिने छालाका समस्यामा पनि जामुनको रसको प्रयोग लाभदायक मानिन्छ । आउँ या रगत मिसिएको आउँमा पनि जामुन लाभकारी हुन्छ । पातलो दिसा अथवा आउँ हुँदा जामुनको रस वीरेनुनसँग मिलाएर खाँदा फाइदा पुर्‍याउँछ ।

कतिपय डाक्टरको भनाइअनुसार गर्भावस्थाका बेला अत्यधिक जामुनको सेवनले घाँटी दुख्ने तथा कफ आदिको समस्या पनि हुन सक्छ । जो गर्भावस्थाका बेला हानिकारक हुन सक्ने बताइन्छ । जामुनलाई खाली पेट नखान पनि सल्लाह दिइन्छ । यसो गर्नाले पेटसँग जोडिएका समस्या हुन सक्छन् । दूध पिउनेबित्तिकै पनि जामुनको सेवन गर्नाले एसिडिटी बढ्ने समस्या हुन सक्छ ।

हाम्रो घरवरिपरि यस्ता धेरै औषधीय गुणहरूले भरिपूर्ण स्थानीय साम्रगी छन्, त्यसको समुचित प्रयोगले हाम्रो स्वास्थ्यको रक्षा गर्न सकिनुका साथै अनावश्यक झन्झटबाट मुक्ति मिल्दछ । आफ्ना स्थानीय जडिबुटीहरू चिनौं र तिनको समुचित प्रयोग गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?