बाढीका कारण कैलालीका ६ पालिकाका चार सय ६३ घरमा क्षति

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । कैलालीमा बाढीका कारण ६ पालिकाका चार सय ६३ घरमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांक अनुसार जिल्लाका विभिन्न क्षेत्रका चार सय ६३ घरमा बाढीले क्षति गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका स्थानीय प्रभावित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सबै भन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सिराधानी शिविरमा एक सय ५० घरमा क्षति भएको छ ।

सोमवार रातिको वर्षाले जिल्लाका घरहरुमा क्षति गरेको हो । जिल्ला प्रशासनको तथ्याँक अनुसार कैलारी गाउँपालिका वडा नम्बर ७ को कटैनी नदीले ८५ घरमा क्षति गरेको छ । यस्तै, धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा खुटीया नदीले १५ घरमा क्षति गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ को खैरना खोलाले चैतनपुरमा एक पसलमा क्षति गरेको छ । भजनी नगरपालिका वडा नम्बर २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नम्बर ३ को ढुसीमा ५ घरमा क्षति, जनकपुरमा एक घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति भएको छ ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घरमा क्षति भएको छ । कैलारी गाउँपालिकाको वडा नम्बर ७ का बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ ।

यस्तै, जिल्लाको चुरे गाँउपालिका स्थित बुढीतोलामा पहिरोले भीमदत्त राजमार्ग भाँसिएको छ । राजमार्ग भाँसिदा सुदूरपश्चिमका ७ पहाडी जिल्लासगँका यातायात सेवा बन्द भएको छ । सडक भाँसिएका क्षेत्रमा हजारौँ यात्रु अलपत्र परेका छन् । जिल्लामा अन्य सडक सञ्जाल सुचारु छ । मानविय क्षति भने भएको छैन ।

नेपाल-भारत सीमा स्तम्भ बगायो

बाढीले कैलालीको नेपाल-भारत सीमा स्तम्भ बगाएको छ । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल-भारत सीमा स्तम्भ बगाएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो । नेपाल तर्फका ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

कैलालीको गोदावरी धाम तहसनहस

कैलालीको गोदावरी नदीले धाम क्षेत्रमा क्षति गरेको छ । जिल्लाको गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाम बाढीले तहसनहस भएको हो ।

सोमवार रातिदेखि अविरल वर्षासँगै आएको बाढीले निर्माण गरिएका भौतिक संरचनामा क्षति पुगेको छ । स्थानीयका अनुसार शिव मन्दिर, विष्णु मन्दिर, संस्कृत पढाइ हुने विद्यालयमा क्षति पुगेको छ । साथै पर्यटनको गन्तव्य बनेको गोदावरी काठे पुलमा पनि क्षति पुगेको छ ।

यसैबीच बाढीमा फसेकाहरुलाई सोमवार राति १० बजे उद्धार गरेका थिए । गोदावरी नदीमा फसेका ६ जनाको राति नै उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीको कमान्डमा ११ जनाको प्रहरी टोली, सँगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरूको उद्धार गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?