गौर हत्याकाण्ड छानबिनको सहमतिपछि जसपा भन्छ : सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रिनुको विकल्प छैन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । २८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको १७ वर्षपछि छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ ।

मंगलबार सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबीच पाँच बुँदे सहमति भएपछि जसपालाई सरकार छाड्न दबाब बढेको छ । उसलाई सरकारबाट बाहिरिन र समर्थन नै फिर्ता लिन दबाब बढेको हो ।

७ चैत २०६३ मा रौतहटको गौरस्थित सुगर मिल्स मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच झडप हुँदा घटनास्थलमा २७ माओवादीका निशस्त्र  कार्यकर्ता मारिएका थिए भने उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो ।

आमसभाको कार्यक्रम एकैदिन एकै स्थानमा तोकिएपछि दुई पार्टीबिच झडप हुँदा सो हताहती भएको थियो । तर, अहिले माओवादी नेतृत्वको सरकारले समितिसँग घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति गरेर आफूविरुद्ध षड्यन्त्र गरेको जसपाको बुझाइ छ । यसबारे जसपाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

तर, रौतहटबाट मधेश प्रदेशका पूर्वमन्त्री तथा जसपा नेता योगेन्द्रराय यादव नेतृत्वको टोली काठमाडौं आएर सरकारबाट बाहिरिन दबाब सृजना गरेको छ । यादवको टोलीले आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएर संघर्ष उत्रिन नेतृत्वलाई दबाब दिइरहेको छ । यसबारे अध्यक्ष उपेन्द्र यादवले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराइसक्नुभएको छ भने देउवाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराउनु भएको छ ।

सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिको विषयपछि उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न जसपाका केन्द्रीय कार्यसमितिका राजधानीमा उपलब्ध सदस्यहरुको अनौपचारिक बैठक ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको छ ।

गौर घटना माओवादीको ज्यादतीको विरोध सर्वसाधारण व्यक्तिले गरेको प्रतिकार रहेको पूर्वमन्त्री योगेन्द्रराय यादवले बताउनु भएको छ ।

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रिनुपर्ने भन्दै उहाँले भन्नुभएको छ, ‘‘जसपाले प्रचण्डलाई दिएका समर्थन फिर्ता लिई संघर्ष गर्नुबाहेक अर्को कुनै विकल्प छैन । गौर घटना माओवादीका  ज्यादतीका विरोधमा सर्वसाधारणले प्रतिकार गरेका थिए। उपेन्द्र यादव र मधेशी नेताहरुलाई घेर्ने र सिध्याउने षडयन्त्रको भण्डाफोर गर्न सक्नुपर्छ ।’

राजनीतिक आन्दोलनको क्रममा सो घटना भएको बताउँदै आएको जसपाले सरकारले व्यक्तिगत अपराधको जस्तो गरी व्यवहार गर्नु नहुने भन्दै आएको छ ।

२०६३ चैत ७ मा रौतहट गौरस्थित राइसमिल चौरमा आमसभाको विषयमा नेकपा माओवादी र तत्कालीन मधेशी जनताधिकार फोरमबीच झडप हुँदा माओवादी पक्षका २८ जनाको मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?