ग्राण्डीमा हात्तीपाइले रोगको सफल शल्यक्रिया

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको सफल शल्यक्रिया भएको छ । गत साउन २ गते अस्पतालमा कार्यरत प्लाष्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको नौ घण्टा लगाएर गरिएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । म्याग्दी बेनी घर हुनुभएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो ।

उहाँलाई २० वर्षअघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । प्राडा. श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिनुभयो । उहाँले अप्रेसनका लागि नौ घण्टा समय लागेको बताउनुभयो । डा.श्रेष्ठले भन्नुभयो, ‘जो बिरामी हुनुहुन्छ । उहाँ ३५ वर्षे युवक हुनुहुन्छ । उहाँको हात्तीपाइलेको रोग करिब २० वर्षअघि नै सुरुवात भएको रहेछ । २० वर्षको अवधिमा खुट्टाहरू धेरै नै सुन्निएको कारणले जटिल अवस्थामा पुगेको रहेछ । उहाँको दुवै खुट्टा धेरै गहु्रंगो र धेरै ठूलो भएका कारण उहाँलाई हिँड्नलाई पनि धेरै मुस्किल अवस्था थियो । बेलाबेलामा खुट्टामा इन्फेक्सन हुने, घाउ हुने, गन्हाउने भएको थियो । उहाँलाई परिवारका लागि र आफ्ना लागि निकै भार परेको थियो । उहाँले विभिन्न ठाउँमा गएर उपचार गर्ने पनि कोसिस गर्नुभयो । उहाँ उपचारका लागि भनेर भारत पनि जानुभएको थियो । त्यहाँ पनि उपचार सम्भव भएन । र, त्यसपछि ग्राण्डी हस्पिटलमा आइसकेपछि उहाँको उपचारलाई ठूलो भएको हात्तीपाइलेको भागलाई निकाल्न प्लाष्टिक सर्जरी विधिबाट उपचार गरेर निकाल्यौं ।’

डा.श्रेष्ठले अगाडि भन्नुभयो, ‘बिरामीको खुट्टा पनि निकाल्नुपर्ने अवस्था थियो । प्लाष्टिक सर्जरी गरेर खुट्टालाई जोगाउने हिसाबले अप्रेसन गरेको हो । खुट्टा ठूलो भएकाले उहाँलाई राख्न नसकेर दुईवटा टेबल जोडेर अप्रेसन गर्नुपर्ने अवस्था थियो । अप्रेसन गर्दाखेरी ठूला ठूला नसाहरू छुनेबित्तिकै रगत निस्किने भएकाले पनि यो एक प्रकारको जटिल अप्रेसन हो । लगभग नौ घण्टा लगाएर अप्रेसन ग¥यौँ । हामीले यसलाई सफल अप्रेसनका रूपमा लिएका छौँ । र, एउटा खुट्टाको हात्तीपाइलेको खुट्टा निकाल्यौँ । र, त्यसको वजन भनेकै ४८ केजीको भएको देखिएको छ ।’

डा.श्रेष्ठको नेतृत्वमा प्लाष्टिक सर्जन डा.समित शर्मा सहितको टोलीले ती युवकको शल्यक्रिया गर्नुभएको हो । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताउनुभयो । युवकलाई बुधबार डिस्चार्ज गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?