झापामा भयावह बन्दै सडक दुर्घटना, बुधबार मात्रै पाँच जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 4 mins

-राजेन्द्र गाैतम

झापा । शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा बोलेरोको ठक्करबाट बुधबार बिहानै तीनजनाको मृत्यु भएको झापामा साँझ अरु दुईजना व्यक्तिले सडक दुर्घटनामा परी ज्यान गुमाउनु परेको छ ।

प्रदेस १-०१-००१ ख ४२६८ नम्बरको बसले बुधबार साँझ कनकाई नगरपालिका-३ को सुरुङ्गा पुलमा ठक्कर दिँदा बिर्तामोड नगरपालिका-७ तेजमणि खरेलको ज्यान गएको छ । बिर्तामोडबाट रा. १ प ६३०० नम्बरको मोटरसाइकलमा झिलझिले गइरहेका ३८ वर्षीय खरेललाई समान दिशामा गुडिरहेको सो बसले पछाडिबाट ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

खरेललाई उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले जनाएका छन् । सो दुर्घटनामा मेचीनगर नगरपालिका-१० का २९ वर्षीय प्रशन्न दनुवार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल खरेलले चलाएको र दनुवार पछाडि बसेका व्यक्ति भएको प्रहरीले जनाएको छ । अनुहारलगायत शरीर विभिन्न भागमा गहिरो चोट लागेका द्नुवारको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

त्यस्तै बुधबार साँझ ८ बजे भद्रपुर भद्रपुर नगरपालिका-८ नमुनामा मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ८०/८१ वर्षीया एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

पहाडे समुदायको जस्तो देखिने ती ज्येष्ठ नागरिक बजारमा भिक्षा मागेर जीवन निर्वाह गर्दै आएको जानकारहरुले बताएका छन् । ती ज्येष्ठ नागरिकको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक भद्रपुर नगरपालिका-८ का ४९ को विशन मोतेलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

शनिबार राति साढे १० बजे चारपानेबाट काकडभिट्टातर्फ जादै गरेको प्र.- १-०१-००२ च १९० नम्बरको कारले ठक्कर दिएका पैदल यात्री मेचीनगर नगरपालिका-१३ का ११ वर्षीय सन्तोष रोकाको आइतबार बिहान ३ बजे उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

वैशाख-८ गते कचनकवल गाउँपालिका-६ को बनियानीमा भारतीय नम्बर प्लेटको बीआर ३६ एक्स ३९४४ को मोटरसाइकल दुर्घटना हुँदा कचनकवल-४ का ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको थियो।

वैशाख २ गते झापाको कमल गाउँपालिका ३ केर्खामा बा. ६४ प १४०० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अर्जुनधारा नगरपालिका-४ का २७ वर्षीय पिरती भनिने विष्णु लिम्बूको मृत्यु भएको थियो ।

वैशाखमा मात्रै झापा सडक दुर्घटनामा परी सात ज्यानको ज्यान गइसकेको छ । १२ जनाभन्दा बढी घाइते भएका छन् । यसले झापामा सडक दुर्घटनाको दर भयावह बन्दै गएको देखिन्छ ।

यसबाहेक झापामा नहर र खोलामा डुबेर दुई जनाको मृत्यु भइसकेको छ । यी घटनाले २०८१ साल सुरुवातदेखि सुखद नभएको र दुर्घटनाको बढोत्तरी भएको स्पष्ट हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?